आज दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन्। उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनी र आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले पाखा लगाएको चितवन दुवै टोली आज दोस्रो जित दर्ता गर्दै अङ्क तालिकामा आफ्नो स्थिति थप बलियो बनाउने दाउमा छन्।
यसैगरी, आजै अपरान्ह ५:०० बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुनेछ।
अघिल्लो खेलमा जित निकालेको सुदूरपश्चिम रोयल्स उच्च मनोबलका साथ मैदानमा उत्रनेछ भने दुइ खेलमा पराजित भएको विराटनगर किङ्स पुनरागमन गर्दै प्रतियोगितामा जितको खाता खोल्ने लक्ष्यमा रहनेछ।
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र पश्चिमी वायुको दोहोरो प्रभावका कारण काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा वर्षाको सम्भावना रहेकाले आजका दुवै खेलहरू प्रभावित हुनसक्ने उच्च जोखिम छ। यदि वर्षाका कारण खेल रद्द भएमा टोलीहरूले अङ्क बाँड्नुपर्ने अवस्था आउनेछ, जसले गर्दा मैदानमा टोलीहरूको रणनीतिक योजनाका साथै मौसमको अवस्थासमेत निर्णायक बन्ने देखिएको छ।