सिद्धार्थ बैंकको खुद नाफा उल्लेख्य बढ्याे

Nov 01, 2026 03:19 PM Merolagani



सिद्धार्थ बैंक लिमिटेड (SBL) ले चालु आर्थिक वर्ष २०८३/४४ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा बैंकले ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले ३२ करोड ४० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो, जसको तुलनामा यस वर्ष बैंकको खुद नाफामा १६२.७५ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ।

मुख्य व्यावसायिक आम्दानीमा सुधार र प्रभावकारी लागत तथा जोखिम व्यवस्थापनले बैंकको नाफामा यो ऐतिहासिक छलाङ ल्याउन प्रमुख भूमिका खेलेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड रुपैयाँबाट बढेर २ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी पनि ५१ करोड ४४ लाख रुपैयाँबाट वृद्धि भई ५७ करोड ७ लाख रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफा १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको कोर बिजनेस अत्यन्तै सुदृढ रहेको देखाउँछ।

लगानीकर्ताका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिने वितरणयोग्य नाफामा बैंकले अभूतपूर्व सुधार गरेको छ। गत वर्ष १ अर्ब ६१ कराेड रूपैयाँ रहेको वितरणयोग्य मुनाफा यस वर्ष बढेर ३ अर्ब ५७ करोड रुपैयाँ भन्दा माथि पुगेको छ, जसले शेयरधनीहरूलाई आगामी दिनमा आकर्षक लाभांश वितरण गर्न सक्ने उच्च र सुरक्षित क्षमता रहेको बलियो संकेत गर्छ।

बैंकको चुक्ता पूँजी १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष र सञ्चित नाफा मजबुत अवस्थामा रहेका छन्।

बैंकका प्रमुख वित्तीय परिसूचकहरूमा पनि सुदृढ सुधार आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी बढेर १८ रुपैयाँ ७६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ६१ पैसा कायम भएको छ।

जोखिम व्यवस्थापनको सन्दर्भमा बैंकले आफ्नो पूँजी कोष अनुपात १२.२९ प्रतिशतमा कायम राखेको छ। सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको सुरुआतमै खुद नाफा र वितरणयोग्य मुनाफामा उच्च वृद्धि हासिल गर्दै आफ्नो व्यावसायिक क्षमता र लगानीमैत्री छवि लाई थप मजबुत बनाएको छ।