‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को नतिजा आज सार्वजनिक हुँदै

Nov 02, 2026 11:04 AM Merolagani



सामान तथा सेवा खरिद–बिक्री गर्दा प्राप्त हुने बिलका आधारमा सञ्चालन गरिएको सरकारी चिठ्ठाको नतिजा आज सार्वजनिक हुने भएको छ।

आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कात्तिक १ गतेदेखि १५ गतेसम्म दर्ता भएका बिलका आधारमा विजेता छनोट गरी आज सोमबार कात्तिक १६ गते नतिजा सार्वजनिक गर्न लागेको हो।

यस कार्यक्रममार्फत सामान तथा सेवा खरिद गर्ने उपभोक्तासँगै बिक्री गर्ने व्यवसायीले समेत नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। बिलमार्फत हुने कारोबारलाई प्रोत्साहन गर्ने र कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले विभागले यो कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रमले उपभोक्तालाई प्रत्येक खरिदमा आधिकारिक बिल लिन र व्यवसायीलाई कारोबारअनुसार बिल जारी गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

सामान्य किनमेलका क्रममा प्राप्त हुने बिलसमेत १० लाख रुपैयाँ सम्मको पुरस्कार जित्ने माध्यम बन्न सक्ने भएकाले यस कार्यक्रमलाई उपभोक्ता र व्यवसायी दुवैका लागि चासोको विषयका रूपमा हेरिएको छ।