एआई तालिममा युवाको ओइरो : गुगलले फाराम धान्न नसकेपछि सरकारले खुलायो ‘श्रमसंसार’ पोर्टल, भोलि ३ बजेसम्म आवेदन दिन सकिने

Nov 02, 2026 05:33 PM Merolagani



आधुनिक प्रविधिको युगमा रोजगारीका नयाँ अवसर खोजिरहेका नेपाली युवाहरूमाझ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप सिक्ने तीव्र भोक देखिएको छ। 

सरकारले सञ्चालन गर्न लागेको ‘प्रम्प्ट इन्जिनियरिङ’ सम्बन्धी तालिमका लागि २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाको ओइरो लागेपछि विश्वप्रख्यात प्रविधि कम्पनी गुगलले समेत फाराम धान्न नसकेर बन्द गरिदिएको थियो।

गुगलले अत्यधिक चाप र नीतिगत सर्तको कारण देखाउँदै गुगल फाराम (Google Form) निष्क्रिय पारेपछि सरकारले सोमबारदेखि आफ्नै आधिकारिक ‘श्रमसंसार’ पोर्टलबाट नयाँ आवेदन प्रक्रिया सुरु गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सूचना जारी गर्दै अब इच्छुक आवेदकहरूले प्रतिष्ठानको आधिकारिक प्रणाली ‘श्रमसंसार’ (shramsansar.gov.np) मार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।

४२ हजारभन्दा बढी आकांक्षी, कोटा जम्मा दुई हजार

‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयक यस निःशुल्क अनलाइन तालिममा सिटभन्दा कयौँ गुणा बढी आवेदन परेपछि तीव्र प्रतिस्पर्धा देखिएको छ। प्रतिष्ठानले आगामी बुधबार र बिहीबार चार ‘सिफ्ट’मा गरी कुल दुई हजार जनालाई मात्र तालिम दिने कोटा निर्धारण गरेको छ।

अत्यधिक आवेदनका कारण कोटा सीमित भए पनि एआई प्रविधिमा नेपाली युवाको अभूतपूर्व रुचि र सम्भावनालाई यस आवेदनको बाढीले प्रस्ट पारेको छ।

भोलि दिउँसो ३ बजेसम्म मात्र समय

प्रतिष्ठानले जारी गरेको पछिल्लो सूचनाअनुसार नयाँ आवेदन भर्न चाहने युवाहरूका लागि निकै छोटो समय उपलब्ध गराइएको छ। इच्छुक व्यक्तिले भोलि (मङ्गलबार, १७ कात्तिक) दिउँसो ३:०० बजेसम्म मात्र ‘श्रमसंसार’ पोर्टलमा गएर आवेदन दर्ता गर्न सक्नेछन्।

यसअघि नै सफलतापूर्वक गुगल फाराम भरेका आवेदकहरूको तथ्याङ्क मन्त्रालयको प्रणालीमा सुरक्षित रहेकाले उनीहरूले पुनः आवेदन दिनु नपर्ने प्रस्ट पारिएको छ। दोहोरोपन रोक्नका लागि एक व्यक्तिले एक पटक मात्र फाराम भर्न पाउने व्यवस्था गरिएको छ।

प्राप्त आवेदनहरूमध्येबाट छानिएका सहभागीहरूलाई एसएमएसमार्फत तालिमको समय र तालिकाबारे जानकारी गराइनेछ।

सीमित स्रोतका कारण पहिलो चरणमा दुई हजारलाई मात्र समेट्न सकिने भए तापनि लाखौँ युवाको चासोलाई सम्बोधन गर्न मन्त्रालयले आगामी दिनमा आफ्नै आधिकारिक प्रणालीमार्फत यस्ता आधुनिक सीप र पूँजी निर्माणमा टेवा पुर्‍याउने प्रविधिमूलक तालिमहरूलाई निरन्तरता दिने योजना बनाएको छ।

फाराम भर्न यहाँ क्लिक गर्नुहोस् ।