महालेखा नियन्त्रक कार्यालयले २०८३ कात्तिक १३ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब २४ करोड ३१ हजार ६०३ रुपैयाँ ३८ पैसा बेरुजु कायम भएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बेरुजु रकम १ अर्ब ४४ करोड १५ लाख ४९ हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा असुलउपर गर्नुपर्ने बेरुजु ३ अर्ब ४२ करोड ६६ लाख ३१ हजार ३३१ रुपैयाँ रहेको छ । त्यस्तै, नियमित गर्नुपर्ने बेरुजु १ अर्ब ९८ करोड ३३ लाख २० हजार ६३ रुपैयाँ र म्याद नाघेको पेस्की ५ अर्ब २७ करोड १६ लाख २९ हजार ५०५ रुपैयाँ रहेको छ ।
कुल बेरुजुमध्ये सबैभन्दा ठूलो हिस्सा म्याद नाघेको पेस्कीको छ । यसले सरकारी निकायमा पेस्की फर्छ्यौट तथा वित्तीय अनुशासन कायम गर्ने विषय अझै चुनौतीपूर्ण देखिएको छ ।
रकमका आधारमा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चार अर्ब १९ करोड १७ लाख रहेको छ । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तीन अर्ब २३ करोड ९२ लाख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलको एब अर्ब ३२ करोड २५ लाख, सहरी विकास मन्त्रालयलको ७८ करोड तीन लाख र रक्षा मन्त्रालयको ३१ करोड ९६ लाख रुपैयाँ बेरुजु रहेको छ । प्रणालीमा प्रविष्ट गरिएको विवरणका आधारमा आ.व ०८२/८३ मा तीन हजार नौ सय ८५ कार्यालयको लेखापरीक्षण गरिएको उल्लेख छ । यो संख्यामा संघीय कार्यालय, अन्तरसरकारी अख्तियारीअन्तर्गत सातै प्रदेशका कार्यालय र ७ सय ५३ स्थानीय तह समावेश भएका छन् ।
तत्कालीन समयमा भएको जेनजी आन्दोलनका कारण सार्वजनिक सवारीसाधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा क्षति पुगेकाले त्यसको प्रतिकूल प्रभावस्वरूप बेरुजु रकम बढेको प्रतिवेदनमा उल्लेख छ । कर्मचारीबाट हुने नियमित कार्यगत त्रुटि, प्रक्रियागत भूल तथा असावधानीमा वृद्धि हुँदा पनि समग्र बेरुजुको आयतन बढेको कार्यालयको
निष्कर्श छ । यसले वित्तीय अनुशासनमा थप चुनौती खडा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आन्तरिक लेखापरीक्षणले सरकारी आर्थिक कारोबारको नियमितता, मितव्ययिता, कार्यदक्षता तथा प्रभावकारिताको जाँच गरी वित्तीय व्यवस्थापनलाई नतिजामुखी बनाउन व्यवस्थापकीय सहयोग पु¥याउनेछ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार सरकारी निकायहरूको प्रत्येक तीन–तीन महिनामा आन्तरिक लेखापरीक्षण गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालय र यसअन्तर्गतका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई दिइएको छ ।
उक्त कानुनी व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयसहित मुलुकभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालय सक्रिय रूपमा परिचालित छन् । ऐनको दफा ३३ (११) अनुसार महालेखा नियन्त्रक कार्यालयले हरेक वर्ष कात्तिक महिनाभित्र आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन तयार गरिएको हो । ऐनले तोकेको व्यवस्था कार्यान्वयनमा आएपछिको यो सातौं तथा लेखापालन र लेखापरीक्षण कार्यलाई अलग गरिएपछिको पाँचौं प्रतिवेदन हो । प्रतिवेदन तयार गर्दा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट लेखापरीक्षण भई २०८३ कात्तिक १२ गतेसम्म एकल खाता कोष प्रणालीमा प्रविष्ट विवरण र वित्तीय व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त तथ्यांकलाई आधार बनाइएको छ ।
प्रदेश तथा स्थानीय तहको आन्तरिक लेखापरीक्षण सम्बन्धित तह आफैंले गर्ने कानुनी व्यवस्था रहेकाले प्रतिवेदनमा संघीय सरकारी निकायहरू तथा संघीय सरकारबाट तल्ला तहमा हस्तान्तरित अन्तरसरकारी अख्तियारीअन्तर्गत सम्पन्न लेखापरीक्षणको विवरण मात्रै समेटिएको छ ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयलगायत जिल्लास्थित विभिन्न सरकारी निकायका भौतिक संरचना तथा लेखासम्बन्धी कागजात आगजनीबाट नष्ट भएको विषम परिस्थितिमा समेत प्रतिवेदन तयार गरिएको कार्यालयले जनाएको छ ।
यस्तो चुनौतीका बाबजुद सम्बन्धित निकायका लेखा उत्तरदायी अधिकृत, जिम्मेवार अधिकारी तथा आर्थिक प्रशासन शाखाका कर्मचारीले उपलब्ध कागजात समयमै उपलब्ध गराएको र आन्तरिक लेखापरीक्षकहरूले दत्तचित्त भएर लेखापरीक्षण सम्पन्न गरेकाले कानूनी म्यादभन्दा अगावै एकीकृत वार्षिक प्रतिवेदन तयार गर्न सम्भव भएको महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्यालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।