छठ पर्वको भोलिपल्ट सार्वजनिक बिदा

Nov 13, 2026 02:51 PM merolagani



छठ पर्वको अवसरमा आगामी आइतबार सार्वजनिक बिदा हुने भएको छ।

यस वर्ष कात्तिक २९ गते परेको छठ पर्वका दिन सरकारी तथा निजी क्षेत्रका कार्यालय बन्द रहनेछन्।

तिहार सकिएसँगै शुक्रबारदेखि छठ पर्व सुरु भएको छ। पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माईको पूजा आराधना गरिनेछ।

छठ पर्वका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न नदी तथा पोखरी किनारमा विशेष पूजा आयोजना हुने गरेको छ। कमलपोखरी, नागपोखरी, बागमती तथा विष्णुमती नदी किनारमा छठ मनाउनेको भीड लाग्ने गर्दछ।

विशेषगरी तराई–मधेसमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पनि व्यापक रूपमा मनाउन थालिएको छ।

छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा

त्यस्तै, सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आइतबार परेको छठ पर्वको अवसरमा दिइएको सार्वजनिक बिदासँगै सोमबार (कात्तिक ३० गते) पनि सार्वजनिक बिदा हुने जानकारी दिएको हो।

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिइएको र पर्वको भोलिपल्टसमेत बिदा कायम गरिएको जनाएको छ।

छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा छ। सोही परम्परालाई ध्यानमा राख्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ।