सरकारको आयु लामो छैन, नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत

Nov 14, 2026 03:51 PM Merolagani



नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने बताएका छन् । शनिबार (कात्तिक २८) एमाले वाग्मती प्रदेश कमिटीको बैठकमा उनले सरकारलाई आउँदो नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए ।

“वर्तमान सरकारको आयु धेरै लामो रहने छैन,” उनले भने, “यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन ।”

उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । त्यसनिम्ति एमालेले आवश्यकताअनुसार अरू राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाइ छ ।

 

उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचनालाई थप सुदृढ गर्नुपर्ने बताए । सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिका माध्यमबाट आमजनतामाझ पुर्‍याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

वर्तमान सरकार र सत्तारूढ दलको नेतृत्व सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको उनको आरोप छ । “भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको, सहकारी ठगीलगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको,” उनले भने ।

उनले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै आउँदो स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा पनि ध्यान दिनुपर्ने बताए । आउँदो निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी अगाडि बढाउन आवश्यक रहेको उनले उल्लेख गरे ।