स्थायी लेखा नम्बर लिने ८१ लाख नाघे

Nov 15, 2026 11:56 AM Merolagani



स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो । व्यावसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका हुन् ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै दुई लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर थपिएको हो ।

तथ्यांकअनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बी–प्यान) लिने करदाताको संख्या असोज मसान्तसम्म २२ लाख २७ हजार ८३७ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो संख्या २१ लाख ७४ हजार ९१२ थियो । असोज महिनामा मात्रै ५२ हजार ९२५ व्यावसायिक प्यान थपिएका छन् ।

त्यस्तै, व्यक्तिगत स्थायी लेखा नम्बर (पी–प्यान) लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ । गत असार मसान्तसम्म ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका थिए । असोजमा मात्रै दुई लाख ३१ हजार २२७ व्यक्तिगत प्यान थपिएका हुन् ।

भुक्तानीमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्लूपीएएन)को संख्या भने असोज मसान्तसम्म ३९ हजार ५६२ पुगेको छ । गत असार मसान्तसम्म यस्तो संख्या ३९ हजार १६४ थियो । असोजमा ३९८ वटा थपिएका छन् ।

यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताको संख्या तीन लाख ९० हजार ४७ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म भ्याटमा दर्ता हुनेको संख्या तीन लाख ७८ हजार २६८ थियो । असोज महिनामा मात्रै ११ हजार ७७९ करदाता भ्याटमा थपिएका छन् ।

अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या पनि बढेको छ । गत असार मसान्तसम्म एक लाख ३२ हजार ६७२ रहेको अन्तःशुल्क दर्ता संख्या असोज मसान्तसम्म एक लाख ३८ हजार ९२६ पुगेको छ । असोज महिनामा मात्रै ६ हजार २५४ करदाता थपिएका हुन् ।