पिपुल्स हाइड्रोपावरको नाफा २४ करोड १३ लाख, विद्युत् बिक्री आम्दानी ६२ प्रतिशतले बढ्यो

Nov 16, 2026 03:00 PM Merolagani



पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्मको अवधिमा २४ करोड १३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको हो।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ६५ लाख ६३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यससँगै कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५१ करोड ५८ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३१ करोड ८१ लाख ८५ हजार रुपैयाँ थियो। यसअनुसार विद्युत् बिक्री आम्दानी करिब ६२ प्रतिशतले बढेको हो।

कम्पनीको कुल आम्दानी ५१ करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३१ करोड ८२ लाख रुपैयाँ थियो। त्यस्तै, कम्पनीको कुल नाफा ३८ करोड ९० लाख रुपैयाँ रहेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो नाफा २० करोड २२ लाख रुपैयाँ थियो।

कम्पनीको सञ्चालन नाफा ३६ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा सञ्चालन नाफा १८ करोड ३५ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने १२ करोड ३६ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ १७ पैसा पुगेको छ। गत वर्षको सोही अवधिमा ईपीएस ८० पैसा थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८७ पैसा रहेको छ। त्यस्तै, तरलता अनुपात २०.१६ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ। असोज मसान्तसम्म कम्पनीको सञ्चित नाफा ३१ करोड २३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल सम्पत्ति ११ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, दीर्घकालीन वित्तीय दायित्व ८ अर्ब १६ करोड ८६ लाख रुपैयाँ रहेको छ।

कम्पनीले निर्माण सम्पन्न गरेको सुपरदोर्दी खोला ‘ख’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ। तर, नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नुपर्ने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन समयमै सम्पन्न नभएका कारण आयोजनाले कन्टिन्जेन्सी प्लानअन्तर्गत विद्युत् बिक्री गर्नुपरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार भरतपुर–मार्किचोक प्रसारण लाइन सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि नेपाल विद्युत् प्राधिकरणले कन्टिन्जेन्सी प्लान हटाउने प्रक्रिया अघि बढाएको छ। उक्त व्यवस्था हटेपछि कम्पनीको आम्दानीमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।

कम्पनीले आफ्नो लगानी विस्तार गर्ने क्रममा सोलुखुम्बु जिल्लामा प्रस्तावित २१.४ मेगावाट क्षमताको इङ्खु खोला जलविद्युत् आयोजना र २७.९ मेगावाट क्षमताको मिडल इङ्खु खोला जलविद्युत् आयोजनामा क्रमशः ५० र २५ प्रतिशत स्वामित्व रहने गरी विस्तृत अध्ययन अघि बढाएको जनाएको छ।

त्यस्तै, कम्पनीको पूर्ण स्वामित्वमा रहेको ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणबाट पीपीए हुन नसक्दा निर्माण कार्य अगाडि बढाउन कठिनाइ भएको कम्पनीको भनाइ छ।

कम्पनीले आयोजनाको ऋण घटाउने उद्देश्यले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रक्रिया पनि अघि बढाएको छ। यसका लागि नेपाल धितोपत्र बोर्डमा विवरण दर्ता भई स्वीकृतिको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।

कम्पनीले समीक्षा अवधिमा नर्थ समिट हाइड्रो लिमिटेडले प्रवर्द्धन गरेको न्यादी पिके जलविद्युत् आयोजना र जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडको संस्थापक सेयरमा समेत लगानी गरेको छ।

कम्पनीले जलविद्युत् आयोजना निर्माणमा दक्ष जनशक्तिको अभाव, जलवायु परिवर्तनका कारण सुक्खायाममा पानीको कमी तथा विदेशी मुद्राको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा मर्मतसम्भार र पार्टपुर्जामा लाग्ने खर्च बढ्नु प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।