नेप्सेमा प्रताप सुवेदीको नियुक्ति, त्यस यताको शेयर कारोबार र लगानीकर्ताको प्रतिक्रिया कस्तो देखियो ? [चार्ट विश्लेषण]

Nov 18, 2026 05:58 AM Merolagani



सुवास निरौला
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रताप सुवेदीको नियुक्ति प्रक्रिया जति  गोप्य रह्यो, दोस्रो बजारले त्यसप्रति देखाएको प्रतिक्रिया पनि उत्तिकै रोचक देखिएको छ।

सामान्यतया नियामक वा सञ्चालक निकायमा नयाँ नेतृत्व आउँदा बजारले त्यसलाई उत्सवका रूपमा स्वागत गर्ने आम अपेक्षा हुन्छ। तर, नेप्सेको दैनिक मैनबत्ती रेखाचित्र (Daily Candlestick Chart) र वास्तविक घटनाक्रमलाई दाँजेर हेर्दा सुवेदीको नियुक्तिमा शेयर बजार खासै उत्साहित हुन सकेन।

सुवेदी नियुक्त भएको दिन सूचना गुपचुप राखिनु, भोलिपल्ट साँझ मात्र मिडियामा समाचार आउनु, नियुक्ति पत्र बुझ्नु, पदभार ग्रहणकै दिन तिहार बिदा सुरु हुनु र बिदापछि खुलेको बजारमा लगातार गिरावट आउनु— यी ५–६ वटा कारोबार दिनले लगानीकर्ताको मनोविज्ञानलाई छर्लङ्ग पारेका छन्।

मन्त्रिपरिषद्को बैठकले कात्तिक १७ गते (नोभेम्बर ३) सुवेदीलाई नेप्सेको सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो। तर, अचम्मको कुरा—सरकार वा अर्थ मन्त्रालयले त्यस दिन यो निर्णय सार्वजनिक गरेन। चार्टमा हेर्दा नोभेम्बर ३ को दिन बजार २,६४८ को तल्लो विन्दुबाट बढेर हरियो मैनबत्तीसहित २,६६५ माथि बन्द भएको देखिन्छ। आधिकारिक सूचना नआए पनि भित्री सूचनाका आधारमा बजारमा केही खरिद चाप सुरु भइसकेको संकेत चार्टको भोल्युमले देखाउँछ।

नोभेम्बर ४ का दिन कारोबार समयभर सुवेदी नियुक्त भएको औपचारिक पुष्टि भइसकेको थिएन। तर, नयाँ सिइओ आउने निश्चित भएको हल्ला बजारमा तीव्र फैलियो। सोही हल्लाका भरमा नेप्से इन्ट्रा–डे कारोबारमा २,६८५ विन्दुसम्म उक्लियो। तर, उपल्लो विन्दुमा पुगेपछि ठुला लगानीकर्ताहरूले शेयर खरिद गर्नुको सट्टा बिक्री गर्न थाले, जसले गर्दा बजार माथिल्लो विन्दुमा टिक्न नसकी तल झर्‍यो र चार्टमा लामो माथिल्लो धागो (Upper Wick) भएको रातो मैनबत्ती बन्यो। यही दिन कारोबार समय सकिएर साँझ परेपछि मात्र मिडियाहरूमा ‘प्रताप सुवेदी नेप्सेको नयाँ सिइओ नियुक्त’ भएको समाचार औपचारिक रूपमा सार्वजनिक भयो।

नोभेम्बर ५ का दिन अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरे। साँझ समाचार सुनेका आम लगानीकर्ताहरूले बजार बढ्ने अपेक्षा गरेका थिए। तर, चार्टमा ठ्याक्कै उल्टो दृश्य देखियो। बजार २,६७५ सम्म पुगे पनि त्यहाँबाट तीव्र बिक्री चाप आयो र सूचक सिधै २,६३८ को तल्लो विन्दु परीक्षण गर्दै २,६५६ मा रातो मैनबत्तीसहित बन्द भयो। हल्लाको भरमा अघिल्ला दिनहरूमा सस्तोमा शेयर उठाएका चतुर कारोबारीहरूले ‘समाचार बाहिर आएकै दिन’ नाफा सुरक्षित (Profit Booking) गरेर बाहिरिँदा बजारमा गिरावट आयो।

सुवेदीले नियुक्ति पत्र पाएको पर्सिपल्ट अर्थात् कात्तिक २० (नोभेम्बर ६) शुक्रवार नेप्से सञ्चालक समिति समक्ष पद तथा गोपनीयताको शपथ लिँदै औपचारिक रूपमा पदभार ग्रहण गरे। पदभार ग्रहणकै दिन तिहारको लामो बिदा सुरु हुने भएकाले बजारमा खासै ठुलो उत्साह वा निराशा देखिएन। सूचक २,६५० देखि २,६६५ को साँघुरो दायरामा घुम्दै सानो हरियो मैनबत्ती बनाएर बन्द भयो। यो दिन लगानीकर्ताहरू नयाँ नेतृत्वको नीति भन्दा पनि चाडपर्वको बिदामा ध्यान केन्द्रित गर्न पुगे।

कात्तिक २१ देखि २७ सम्म तिहारका कारण बजार पूर्ण रूपमा बन्द रह्यो। लामो बिदापछि बजार खुल्दा कारोबार निकै सुस्त रह्यो र २,६५० विन्दु वरपर सानो रातो डोजी मैनबत्ती बन्यो। त्यस लगत्तै दुई दिनको सातान्त (सप्ताहान्त) बिदापछि आज मंगलबार (नोभेम्बर १७) बजार पुनः खुल्दा बिक्री चाप कायमै देखियो। आज नेप्से १२.७९ अंकले घटेर २,६३६.१० विन्दुमा झरेको छ। दिनभरमा बजार २,६२०.६९ को तल्लो विन्दुसम्म ओर्लिएको थियो।

सुवेदीको नियुक्तिपछि बजार किन उकालो लागेन ?

१. ‘अपेक्षा’ पहिले नै मूल्यमा समाहित (Priced-in) :
सुवेदीको नाम सिफारिस हुनुअघि नै कात्तिक तेस्रो साताको सुरुमा नेप्से २,५८० बाट बढेर २,७१२.९९ विन्दुसम्म पुगिसकेको थियो। बजारले नयाँ नेतृत्व आउने सम्भावनालाई २,७१२ सम्मको र्‍यालीमै ‘डिस्काउन्ट’ गरिसकेको थियो। त्यसैले जब निर्णय सार्वजनिक भयो, त्यहाँ नयाँ खरिदकर्ता आकर्षित गर्ने कुनै नयाँ नीतिगत सरप्राइज थिएन।

२. तिहारको तरलता र मनोवैज्ञानिक दबाब :
निर्णय सार्वजनिक हुनु र पदभार ग्रहण गर्नु ठ्याक्कै तिहार बिदाको मुखमा पर्न गयो। लामो बिदामा शेयर होल्ड गर्दा ब्याज खर्च बढ्ने र चाडपर्वमा नगद चाहिने भएकाले लगानीकर्ताहरूले शेयर किन्नुको सट्टा बेचेर नगद जोहो गर्न प्राथमिकता दिए।

३. व्यक्ति होइन, ठोस डेलिभरी खोज्दै बजार :
लगानीकर्ताहरू अब कुनै व्यक्तिको अनुहार हेरेर मात्र शेयर बजारमा हाम फाल्ने मुडमा छैनन्। बजारले लामो समयदेखि भोग्दै आएका समस्याहरू— जस्तै: टीएमएसको प्राविधिक समस्या र नयाँ उपकरणहरूको अभाव—समाधान नभएसम्म बजार २,७०० माथि टिक्न सक्दैन भन्ने सन्देश लगानीकर्ताले दिएका छन्।

४. प्राविधिक टेवामा अडिएको बजार :
यति हुँदाहुँदै पनि आज बजारले २,६२० को बलियो सपोर्ट लेभल (Support Level) परीक्षण गरेर २,६३६ मा बन्द हुनु र कारोबार रकम ४ अर्ब ७३ करोडमा स्थिर रहनुले बजारमा आत्तिएर बिक्री गर्ने (Panic Sale) अवस्था नरहेको देखाउँछ। भोल्युम बारहरू घट्दो क्रममा रहनुले बजार मन्दीमा गएको नभई ‘कन्सोलिडेसन’ मा रहेको पुष्टि गर्छ।

तथ्याङ्क र चार्टले के देखाउँछ भने— प्रताप सुवेदीको नियुक्तिले बजारमा कुनै उत्साह ल्याएको छैन, न त बजार क्र्यास नै भएको छ। गोप्य निर्णय र सूचना चुहावटको बिचमा केही अल्पकालीन कारोबारीहरूले नाफा कमाए पनि आम लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’ कै रणनीतिमा छन्। अब तिहार बिदा सकिएर नियमित कारोबार सुरु भइसकेकाले बजारको वास्तविक गति नयाँ सिइओ सुवेदीले नीतिगत र प्राविधिक सुधारमा कत्तिको छिटो र प्रभावकारी कदम चाल्छन् भन्ने कुराले तय गर्नेछ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।