पूँजी बजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न नेप्से तयार : सीईओ सुवेदी

Nov 18, 2026 11:21 AM Merolagani



 

  • ब्रोकर एसोसिएसनको प्रतिनिधिमण्डलसँगको भेटमा सुवेदीको प्रतिबद्धता

  • कार्ययोजनाले लगानीकर्ताको विश्वास बढाउने ब्रोकरहरूको दाबी

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले अर्थ मन्त्रालयद्वारा अघि सारिएको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेप्से कार्यालयमा पुगेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा सीईओ सुवेदीले पुँजीबजारको विकास र स्थायित्वका लागि नेप्से सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।

भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले कार्ययोजनाको प्रभावकारी र द्रुत कार्यान्वयनमा जोड दिएका थिए। कार्ययोजनालाई समयमै लागू गर्न सके हाल पुँजीबजारमा देखिएका संरचनागत समस्याहरू समाधान हुनुका साथै बजार थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बन्ने ढकालको भनाइ थियो। उनले यसबाट लगानीकर्ताको आत्मविश्वास अभिवृद्धि गर्न ठूलो टेवा पुग्ने उल्लेख गरे।

 

पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको विषयमा दुवै पक्ष सहमत देखिएका छन्। नीतिगत सुधारसँगै संस्थागत समन्वय र कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा छलफल केन्द्रित थियो। 

एसोसिएसनका अध्यक्ष ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै बजार सुधारका हरेक कदममा रचनात्मक सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।