श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। यद्यपि, उनले कुन राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्नेबारे भने स्पष्ट पारेकी छैनन्।
आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने श्रेष्ठले बताएकी छन्।
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा रहँदा उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि उनी पार्टीको सक्रिय राजनीतिबाट समेत टाढिएकी थिइन्।
उनको उम्मेदवारी घोषणासँगै काठमाडौं महानगरपालिकाको आगामी निर्वाचनलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्ने देखिएको छ।