नीति निर्माताहरूको सोच थियो— यो लचिलो व्यवस्थाले विश्वका ठूला प्रविधि कम्पनी, सफ्टवेयर जायन्ट र बहुराष्ट्रिय आईटी कर्पोरेसनहरूलाई नेपाल भित्र्याउनेछ। युवाहरूले स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको रोजगारी पाउनेछन् र देशमा विदेशी मुद्राको बाढी आउनेछ।
तर, नीतिगत सुधारको यो पवित्र दाबी कार्यान्वयनको धरातलमा पुग्दा कस्तो बन्यो ?
उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउनदेखि कात्तिक मसान्तसम्म) को प्रतिवेदन पल्टाउने जो कोही अर्थशास्त्री वा अनुसन्धानकर्ताको आँखा चकित हुन्छ। कागजमा विदेशी लगानीको अभूतपूर्व बाढी आएको देखिन्छ। तर त्यो बाढी वास्तविक औद्योगिक लगानीको होइन; नेपालको कानूनी र अध्यागमन छिद्रको फाइदा उठाएर रचिएको एउटा भयानक ‘नीतिगत छली’ को हो।
नेपालमा विदेशी प्रविधिको हस्तान्तरण हुन आएको छैन, न त विदेशी पूँजीको वास्तविक परिचालन नै भएको छ। यहाँ त विदेशी नागरिकहरूले वर्षौंसम्म नेपालमा बिना रोकटोक सस्तोमा बस्न, स्थानीय युवाहरूको सस्तो श्रम दोहन गरेर डलर विदेशमै लुकाउन र कतिपय अवस्थामा अवैध साइबर अपराधलाई कानूनी सुरक्षा दिनका लागि नेपालको विदेशी लगानी ऐनलाई एउटा सस्तो ‘भिसा सेल्टर’मा रूपान्तरण गरिदिएका छन्।

मासिक १ बाट ६८ पुग्यो आईसीटी परियोजना : अटोमेटिक रुटको ५१ गुणा छलाङ कि ‘कागजी लगानी’ को बाढी?
नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा विदेशी लगानीको स्वीकृति कसरी र कुन गतिमा अस्वाभाविक रूपमा बढ्यो भन्ने बुझ्न उद्योग विभागको पछिल्ला पाँच आर्थिक वर्षको ऐतिहासिक तथ्याङ्कलाई तीन चरणमा विभाजन गरेर हेर्नुपर्छ। अटोमेटिक रुट २०८१ वैशाख १६ देखि कार्यान्वयनमा आएकाले आर्थिक वर्ष २०७९/८० लाई रुटअघिको पूर्ण वर्ष, २०८०/८१ लाई रुट सुरु भएको संक्रमणकालीन वर्ष र त्यसपछिका वर्षहरूलाई पूर्ण कार्यान्वयनको अवधि मान्नुपर्छ।
उद्योग विभागको ‘एफडीआई ट्रेन्ड्स एण्ड इन्भेस्टर गाइडलाइन’ तथा मासिक विदेशी लगानी स्वीकृति प्रतिवेदनहरूको तुलनात्मक विश्लेषण गर्दा देखिएको यो प्रवृत्तिले नीतिगत छिद्रबाट उर्लिएको बाढीलाई स्पष्ट रूपमा पुष्टि गर्छ:

अटोमेटिक रुटको प्रत्यक्ष तथ्याङ्कले सुरुवाती चरणमै यसको अस्वाभाविक प्रभाव देखाएको थियो। आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म अटोमेटिक रुटबाट स्वीकृत भएका १३९ परियोजनामध्ये २८ वटा आईसीटी क्षेत्रका थिए। यो रुट सुरु भएको वैशाख १६ देखि असार मसान्तसम्मको साढे दुई महिनाको मात्रै तथ्याङ्क हो।
यसरी हेर्दा अटोमेटिक रुटअघि आईसीटी क्षेत्रमा वर्षभरिमा १६ परियोजना स्वीकृत हुने गरेकोमा चालु आर्थिक वर्षको पछिल्लो चार महिनामै २७२ परियोजना स्वीकृत भइसकेका छन्। मासिक औसत तुलना गर्दा अघिल्लो पूर्ण वर्षको १.३३ बाट पछिल्लो चार महिनाको अवधिमा ६८ पुगेको छ। अर्थात् यो करिब ५१ गुणा (५,१०० प्रतिशतभन्दा बढी) को विष्फोटक वृद्धि हो।
यद्यपि, यो तथ्याङ्क विश्लेषण गर्दा एउटा महत्त्वपूर्ण सीमालाई भुल्न मिल्दैन—पछिल्ला वर्षका ३१३, ३०७ र २७२ परियोजनामा कति अटोमेटिक रुटबाट र कति नियमित स्वीकृति प्रक्रियाबाट आएका हुन् भन्ने क्षेत्रगत छुट्टाछुट्टै विवरण विभागको प्रतिवेदनमा छैन। त्यसैले यो वृद्धि अटोमेटिक रुटपछि देखिएको हो भन्न सकिन्छ; सबै वृद्धि अटोमेटिक रुटकै कारण भएको प्राविधिक निष्कर्ष निकाल्न नसकिए पनि ९६ प्रतिशतभन्दा बढी परियोजना अटोमेटिक रुटबाटै आउनुले यसको मुख्य भूमिका भने पुष्टि हुन्छ।
अर्को मुख्य कुरा, यी संख्या केवल सरकारी प्रणालीमा ‘स्वीकृत’ भएका परियोजनाका हुन्, सञ्चालनमा आइसकेका कम्पनी वा नेपाल भित्रिइसकेको वास्तविक विदेशी पूँजी भने होइनन्। महिनामा ६८ वटाका दरले कागजी कम्पनी दर्ता हुनु, तर चार महिनाका २७२ कम्पनीको कुल पूँजी प्रतिवद्धता जम्मा ९७ करोड (औसत ३६ लाख) मात्रै देखिनुले नै यो ५१ गुणाको वृद्धि कुनै वास्तविक औद्योगिक क्रान्ति नभई ‘कागजी लगानी’ को बाढी भएको छर्लङ्ग हुन्छ।
तथ्याङ्कको पहिलो भ्रम : ५५ प्रतिशत उद्योग, तर पूँजी जम्मा ५ प्रतिशत!
यो शंकास्पद प्रवृत्तिको पहिलो र अकाट्य प्रमाण उद्योग विभागकै आधिकारिक तथ्याङ्कले दिन्छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल ४९७ वटा विदेशी लगानीका परियोजनाहरू स्वीकृत भएका छन्। तीमध्ये ९६.५८ प्रतिशत अर्थात् ४८० वटा उद्योग त सिधै अटोमेटिक रुटमार्फत स्वीकृत भएका हुन्। आश्चर्यलाग्दो कुरा के छ भने, यी कुल ४९७ उद्योगमध्ये आधाभन्दा बढी अर्थात् २७२ वटा उद्योग (५४.७२ प्रतिशत) सूचना प्रविधि क्षेत्रका मात्रै छन्। संख्याको यो ग्राफ हेर्दा लाग्छ— नेपाल विश्वकै आकर्षक आईटी गन्तव्य बनिसक्यो। तर, जब यी २७२ वटा आईटी कम्पनीले ल्याउने भनिएको पूँजीको आँकडा हेरिन्छ, तब विदेशी लगानीको यो बेलुन तुरुन्तै फुट्छ।
चार महिनामा स्वीकृत कुल विदेशी लगानी प्रतिवद्धता १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ रहेको छ। तर, संख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने ती २७२ वटा सूचना प्रविधि उद्योगहरूको कुल लगानी प्रतिवद्धता भने जम्मा ९७ करोड ९६ लाख रुपैयाँ (कुल पूँजीको ४.९९ प्रतिशत अर्थात् करिब ५ प्रतिशत मात्रै) छ। यसको सोझो अर्थ हो— नेपालमा विदेशी लगानीमा दर्ता भएको एउटा सूचना प्रविधि कम्पनीको औसत पूँजी प्रतिवद्धता जम्मा ३६ लाख रुपैयाँ (करिब २६ हजार अमेरिकी डलर) मात्रै हुन आउँछ।
तुलनात्मक रूपमा हेर्ने हो भने, समीक्षा अवधिमा पर्यटन क्षेत्रमा १४६ वटा उद्योगले ८ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ (कुल पूँजीको ४४.३२ प्रतिशत) लगानी प्रतिवद्धता जनाएका छन्। ऊर्जा क्षेत्रमा जम्मा ३ वटा परियोजनाले ४ अर्ब ५ करोड रुपैयाँ (२०.७१ प्रतिशत) पूँजी ल्याउने सम्झौता गरेका छन्। तर, २७२ वटा आईटी कम्पनीको कुल पूँजी १ अर्ब रुपैयाँ पनि पुग्न सकेको छैन।
अझ थप गम्भीर तथ्य के छ भने, दर्ता भएका कुल ४९७ उद्योगमध्ये ४९१ वटा (९८.८ प्रतिशत) उद्योग ‘साना’ (Small Scale) वर्गमा दर्ता भएका छन्। मझौला उद्योग जम्मा २ वटा र ठूला उद्योग जम्मा ४ वटा मात्रै छन्।
आखिर किन विदेशी नागरिकहरू ३० देखि ३६ लाख रुपैयाँको नाम मात्रको पूँजी देखाएर नेपालमा आईटी कम्पनी खोल्न यति ठूलो संख्यामा ओइरिएका छन्? किन उनीहरू उत्पादन, कृषि वा पूर्वाधार छाडेर सूचना प्रविधिमै केन्द्रित भइरहेका छन्? अनुसन्धानको सुइ यहीँबाट अध्यागमन, श्रम बजार र साइबर अपराधको त्रिकोणात्मक जालोतर्फ सोझिन्छ।
यस प्रवृत्तिको गहिरो विश्लेषण गर्दा तीन वटा स्पष्ट, संगठित र डरलाग्दा पाटा देखा पर्दछन्:
पहिलो पाटो : सस्तो नेपाल बसाई र दैनिक भिसा शुल्क छल्ने प्रपञ्च
यो खेलको पहिलो र सबैभन्दा सामान्य पाटो हो— कुनै वास्तविक व्यवसाय सञ्चालन गर्नुको सट्टा नेपालमा वर्षौंसम्म वैधानिक रूपमा बस्नका लागि अध्यागमन कानूनको छिद्र प्रयोग गर्नु। कुनै पनि विदेशी नागरिक सामान्यतया नेपाल घुम्न आउँदा पर्यटक भिसा लिएर आउँछ। अध्यागमन नियमावली, २०५१ अनुसार कुनै पनि विदेशी पर्यटक एउटा क्यालेन्डर वर्षमा बढीमा १५० दिन (५ महिना) भन्दा बढी नेपालमा बस्न पाउँदैन। १५० दिन पूरा हुनासाथ उसले अनिवार्य रूपमा नेपाल छाड्नै पर्छ। यदि त्यो अवधिभन्दा बढी बसेमा दैनिक ५ अमेरिकी डलर जरिवाना र निष्कासन (Deportation) को भागीदार हुनुपर्छ। यसका अतिरिक्त, पर्यटक भिसामा बस्ने विदेशीले नेपालमा कुनै पनि बैंक खाता खोल्न, व्यवसाय गर्न वा काम गर्न कानूनी रूपमा पाउँदैन।
तर, नेपालमा सस्तो जीवनशैली बिताउन चाहने विदेशीहरू, हिप्पी प्रवृत्तिका पर्यटकहरू र विश्वभर घुम्दै ल्यापटपबाट काम गर्ने ‘डिजिटल नोम्याड्स’ (Digital Nomads) का लागि १५० दिनको यो कानूनी सीमा ठूलो तगारो थियो। उनीहरूलाई वर्षभरि नेपालमै बस्नु थियो, पोखरा वा काठमाडौँमा कोठा भाडामा लिनु थियो र पटक-पटक देश बाहिरिनुपर्ने हवाई टिकटको झन्झटबाट मुक्ति पाउनु थियो।
यहीँनेर उनीहरूका लागि वरदान साबित भइदियो— आईटी क्षेत्रको शून्य थ्रेसहोल्ड र अध्यागमन नियमावलीको बिजनेश भिसा सम्बन्धी व्यवस्था।
अध्यागमन नियमावलीको नियम १० र अनुसूची अनुसार, रु १ करोडभन्दा कम विदेशी लगानी भएको उद्योग दर्ता गर्ने विदेशीले मासिक ३५ डलर वा वर्षको जम्मा ४०० अमेरिकी डलर (करिब ५४ हजार नेपाली रुपैयाँ) मा ‘बिजनेश भिसा’ प्राप्त गर्छ।
अब विदेशीका लागि यसको नाफा-घाटाको गणित हेरौं:
यदि कुनै विदेशी पर्यटक भिसा लम्ब्याउँदै १५० दिन बस्यो भने पनि उसले भिसा शुल्कबापत राम्रो रकम तिर्नुपर्छ र त्यसपछि अनिवार्य देश छाड्नुपर्छ। तर, अटोमेटिक रुटबाट ३० देखि ३५ लाख रुपैयाँको कागजी पूँजी कबोल गरेर एउटा सफ्टवेयर कम्पनी दर्ता गरिदिएपछि:
१. उसले वर्षको जम्मा ५४ हजार रुपैयाँ ($४००) सरकारी दस्तुर बुझाएर ३६५ दिन नै नेपालमा निर्वाध र वैधानिक बसोबासको अधिकार पाउँछ।
२. उसले जति पटक पनि विदेश आउजाउ गर्न पाउने ‘मल्टिपल रि-एन्ट्री’ (Multiple Re-entry) सुविधा पाउँछ।
३. उसले आफ्नी श्रीमती र बालबच्चालाई समेत सोही कम्पनीको आधारमा नाम मात्रको शुल्कमा ‘नाता/डिपेन्डेन्ट भिसा’ (Dependent Visa) दिलाउन सक्छ।
४. नेपालका वाणिज्य बैंकहरूमा वैधानिक बैंक खाता खोल्न, घरजग्गा वा गाडी भाडामा लिन पाउने कानूनी हैसियत प्राप्त गर्छ।
सबैभन्दा रोचक कुरा त के छ भने, कबोल गरिएको ३०-३६ लाख रुपैयाँ पनि एकमुष्ट नेपाल ल्याउनु पर्दैन। कम्पनी दर्ताका सामान्य कागजात, वकिललाई दिइने १-२ लाख रुपैयाँ कन्सल्टेन्सी शुल्क र बैंक खाता खोल्ने प्रारम्भिक प्रक्रिया पूरा गरेपछि उद्योग विभागले अध्यागमनका लागि बिजनेश भिसा सिफारिस पत्र जारी गरिदिन्छ।
अर्थात्, आफ्नै देशमा १ महिना बस्ने खर्चले नेपालमा एउटा विदेशीले वर्षभरिको कानूनी आवासीय हैसियत खरिद गरिरहेको छ। यसबाट नेपाल सरकारले विदेशी पर्यटकबाट प्राप्त गर्न सक्ने भिसा शुल्क, हवाई टिकटको राजस्व र ओभरस्टे जरिवानाको ठूलो स्रोत गुमाइरहेको छ। यो राज्यको अध्यागमन सम्प्रभुतामाथि ५० हजार रुपैयाँमा गरिएको खुला सौदाबाजी हो।
दोस्रो पाटो : सस्तो नेपाली प्रतिभाको दोहन र विदेशी मुद्राको विचलन
यो खेलको दोस्रो पाटो अझ बढी आर्थिक शोषण र वित्तीय अपचलनसँग जोडिएको छ। काठमाडौँको झम्सिखेल, ठमेल, लाजिम्पाट वा पोखराको लेकसाइडका कफी सपहरूमा दिनभर ल्यापटप खोलेर बस्ने विदेशीहरूको वास्तविक कामको गहिराइमा पुग्ने हो भने त्यहाँ नेपाली युवाहरूको बौद्धिक श्रमको निर्मम दोहन भइरहेको भेटिन्छ।
अमेरिका वा पश्चिमी युरोपमा एउटा स्तरीय सफ्टवेयर इन्जिनियर, फुल-स्ट्याक डेभलपर वा मोबाइल एप निर्मातालाई प्रति महिना न्यूनतम ५ हजारदेखि १० हजार अमेरिकी डलर (नेपाली रुपैयाँमा करिब ६ लाख ७० हजारदेखि १३ लाख ५० हजार रुपैयाँ) पारिश्रमिक भुक्तानी गर्नुपर्छ।
तर, नेपालमा माइक्रो-आईटी कम्पनी खोलेर बसेका यी विदेशीहरूले के गर्छन्?
उनीहरूले पुल्चोक क्याम्पस, थापाथली वा काठमाडौँका विभिन्न निजी आईटी कलेजहरूबाट भर्खरै उत्तीर्ण भएका वा अध्ययनरत प्रतिभाशाली नेपाली विद्यार्थी तथा युवा फ्रिलान्सरहरूलाई खोजी-खोजी सम्पर्क गर्छन्। ती युवाहरूलाई मासिक २० हजारदेखि ३५ हजार रुपैयाँ (करिब १५० देखि २५० डलर) नगद वा व्यक्तिगत इसेवा/खल्तीमा थमाइदिन्छन्। र, उनीहरूबाट अन्तर्राष्ट्रिय बजारका जटिल सफ्टवेयर कोडिङ, सिस्टम डिजाइन, डेटाबेस व्यवस्थापन र एआई मोडेलिङका कामहरू गराउँछन्।
यहाँ दुईवटा भयानक आर्थिक अपराध एकसाथ भइरहेका छन्:
क. नेपाली श्रम ऐन र सामाजिक सुरक्षाको ठाडो उल्लंघन
यी विदेशीहरूले स्थानीय कामदारलाई कुनै औपचारिक नियुक्ति पत्र दिँदैनन्। श्रम ऐनले अनिवार्य गरेको न्यूनतम पारिश्रमिक, उपदान, बिमा र सामाजिक सुरक्षा कोष (SSF) को दायित्वबाट उनीहरू पूर्णतः मुक्त छन्। नेपाली युवाहरूको पसिना र बौद्धिक क्षमताको कौडीको भाउमा दोहन भइरहेको छ, तर कुनै दिन कामबाट निकालिएमा उनीहरूसँग उजुरी गर्ने कानूनी प्रमाणसमेत हुँदैन।
ख. डलर विदेशमै, नेपालको औपचारिक बैंकिङ प्रणाली पूर्ण बाइपास
यी कम्पनीहरूले विदेशी ग्राहकहरूका लागि सफ्टवेयर बनाएबापत पाउने भुक्तानी नेपालको बैंकिङ प्रणालीमा कहिल्यै भित्रिँदैन। विदेशी सञ्चालकले अमेरिकाको स्ट्राइप, पेपाल वा युरोपका बैंक खातामार्फत सिधै विदेशी मुद्रामै भुक्तानी लिन्छन्। पछिल्ला महिनाहरूमा त यस्ता भुक्तानीहरू युएसडीटी (USDT) जस्ता क्रिप्टोकरेन्सीमा लिने चलन व्यापक बनेको छ।
नेपालमा उनीहरूले केवल आफ्नो व्यक्तिगत कोठाभाडा, खाना खर्च र नेपाली युवालाई बाँड्ने सामान्य रकम मात्रै अनौपचारिक माध्यम वा हुन्डीमार्फत साट्छन्।
यसको असर नेपालको राष्ट्रिय अर्थतन्त्रमा कस्तो पर्छ?
कम्पनी नेपालमा दर्ता छ, काम नेपाली प्रतिभाले गर्छन्, तर त्यसबाट आर्जन हुने लाखौँ डलर विदेशी भूमिमै रोकिन्छ। आन्तरिक राजस्व कार्यालयमा यी कम्पनीहरूले वर्षको अन्त्यमा ‘शून्य कारोबार’ (Nil Return) वा कम्पनी घाटामा रहेको अडिट रिपोर्ट पेश गर्छन्। न त राज्यले सफ्टवेयर निर्यातबापत विदेशी मुद्राको सञ्चिति बढाउन पाउँछ, न त कामदारको पारिश्रमिकबाट स्रोतमा कर कट्टी (TDS) नै उठ्छ। नेपालको ज्ञान-अर्थतन्त्र (Knowledge Economy) को योभन्दा ठूलो संस्थागत लुट अरू के हुन सक्छ?
तेस्रो र सबैभन्दा खतरनाक पाटो : अवैध साइबर अपराध र कालो धन्दाको कानुनी ढाल
यदि यो खेल सस्तोमा बस्ने र फ्रिलान्सर दोहन गर्नेमा मात्र सीमित हुन्थ्यो भने पनि यसलाई वित्तीय र अध्यागमन चुहावटको सामान्य रूप मान्न सकिन्थ्यो। तर, यसको तेस्रो पाटो यति खतरनाक छ, जसले नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र अन्तर्राष्ट्रिय छविलाई नै धरापमा पारिरहेको छ।
त्यो पाटो हो— माइक्रो-आईटी कम्पनीको आवरणमा सञ्चालन हुने अवैध कल सेन्टर, अनलाइन बेटिङ, क्रिप्टोकरेन्सी माइनिङ र साइबर ठगी।
विगत केही वर्षयता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँ र पोखराका भव्य बंगलाहरूमा छापा मारेर सयौँ विदेशी नागरिकहरूलाई पक्राउ गरेका घटनाहरू नेपाली समाजका लागि नौला होइनन्। चिनियाँ, फिलिपिनो, ताइवानी र कतिपय भारतीय गिरोहहरूले काठमाडौँका मनमैजु, नयाँ बजार, बूढानीलकण्ठ र पोखराका विभिन्न स्थानमा ‘आईटी अफिस’ र ‘सफ्टवेयर कन्सल्टेन्सी’ को बोर्ड झुण्ड्याएर अन्तर्राष्ट्रिय साइबर अपराधको साम्राज्य चलाइरहेका थिए।
उनीहरूले सञ्चालन गर्ने धन्दाका मुख्य रूपहरू यस्ता थिए:
१. अवैध कल सेन्टर र टेक-सपोर्ट स्क्याम: अमेरिका, क्यानडा र भारतका सर्वसाधारणलाई इन्टरनेट ब्याक-अप वा नक्कली बैंक अलर्ट पठाएर करोडौँ डलर ठगी गर्ने गिरोहको सञ्चालन।
२. अनलाइन बेटिङ र डिजिटल जुवा: नेपालमा पूर्ण प्रतिबन्धित रहेको अनलाइन बेटिङका सर्भर, एजेन्ट र भुक्तानी गेटवेहरू आईटी कम्पनीको आवरणमा व्यवस्थापन गर्ने।
३. लोन-एप्स ठगी: छिमेकी देशका विपन्न नागरिकलाई मोबाइल एपमार्फत चर्को ब्याजमा अनलाइन ऋण दिने र पछि उनीहरूको व्यक्तिगत डेटा चोरेर ब्ल्याकमेल गर्ने अन्तर्राष्ट्रिय गिरोहको ब्याक-अफिस सञ्चालन।
४. क्रिप्टोकरेन्सी माइनिङ र हुन्डी: नेपालको सस्तो बिजुली र इन्टरनेट पूर्वाधारको दुरुपयोग गरेर भूमिगत क्रिप्टो माइनिङ गर्ने र त्यसलाई अन्तर्राष्ट्रिय हुन्डी नेटवर्कसँग जोड्ने।
अहिले अटोमेटिक रुटले यो आपराधिक सञ्जाललाई झनै सुरक्षित र बलियो ‘कानूनी ढाल’ प्रदान गरिदिएको छ।
विगतमा कम्तीमा विदेशी लगानी बोर्ड वा उद्योग विभागका अधिकारीहरूले कागजात हेर्थे, पृष्ठभूमि बुझ्थे। तर, अहिले अटोमेटिक रुटमा अनलाइन फाराम भरेपछि कम्प्युटर प्रणालीले स्वतः विदेशी लगानी स्वीकृतिको प्रमाणपत्र जारी गरिदिन्छ। कुनै आपराधिक पृष्ठभूमिको विदेशीले ३५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता जनाएर ‘डेटा प्रोसेसिङ’ वा ‘बिजनेस प्रोसेस आउटसोर्सिङ’ को नाममा कम्पनी दर्ता गर्छ र सोही प्रमाणपत्र लिएर अध्यागमनबाट बिजनेश भिसा लिन्छ।
भोलि स्थानीय समुदाय, टोल सुधार समिति वा प्रहरीले शंका गरेर सोधपुछ गर्न खोजेमा उनीहरूले नेपाल सरकारको उद्योग विभागले जारी गरेको आधिकारिक विदेशी लगानीको प्रमाणपत्र र पासपोर्टमा लागेको बिजनेश भिसा देखाइदिन्छन्। राज्यले दिएको आधिकारिक कानूनी कागजात नै उनीहरूको कालो धन्दाको सुरक्षा कवच (Bulletproof Jacket) बन्न पुगेको छ। जबसम्म ठूलै अन्तर्राष्ट्रिय दबाब वा उजुरी आउँदैन, तबसम्म कुनै पनि निकायले उनीहरूमाथि आँखा लगाउन सक्दैन।
राज्यका निकायहरूको अकर्मण्यता : कसले बजाइरहेछ आँखा चिम्लने धुन?
यति ठूलो नीतिगत दुरुपयोग भइरहँदा राज्यका नियमनकारी निकायहरू भने कुम्भकर्णी निद्रामा छन्:
१. उद्योग विभाग : विभाग केवल ‘दर्ता संख्या’ बढाएर मन्त्रालयमा मासिक प्रगति प्रतिवेदन बुझाउन मस्त छ। अटोमेटिक रुटबाट दर्ता भएका २७२ आईटी कम्पनीहरू कहाँ छन्? तिनीहरूको भौतिक कार्यालय छ कि छैन? तिनीहरूले कबोल गरेको पूँजी बैंकमार्फत नेपाल भित्रियो कि भित्रिएन? विभागसँग यसको कुनै अनुगमन वा अडिट प्रणाली छैन।
२. अध्यागमन विभाग : अध्यागमन विभाग उद्योग विभागको सिफारिस पत्र देख्नासाथ ४०० डलर राजस्व लिएर भिसाको म्याद थप्नमै आफ्नो जिम्मेवारी पूरा भएको ठान्छ। विदेशीले नेपालमा बसेर के गरिरहेको छ, उसको लगानीको वास्तविक अस्तित्व छ कि छैन भनेर स्थलगत जाँच गर्ने कुनै संयन्त्र अध्यागमनसँग छैन।
३. आन्तरिक राजस्व विभाग : यी कम्पनीहरूले स्थायी लेखा नम्बर (PAN) लिएका छन्, तर वर्षौंसम्म ‘शून्य कारोबार’ देखाएर कर छली गर्दा पनि कर कार्यालयहरूले कहिल्यै उनीहरूको वित्तीय छानबिन गरेका छैनन्।
४. नेपाल राष्ट्र बैंक : विदेशी लगानीको लेखाङ्कन (FDI Accounting) गर्ने केन्द्रीय बैंकसँग सफ्टवेयर निर्यातको भुक्तानी कुन च्यानलबाट आयो र त्यो कम्पनीको घोषित पूँजीसँग मेल खान्छ कि खाँदैन भनेर ट्र्याक गर्ने ठोस संयन्त्र छैन।
राज्यका निकायहरूबीचको यही समन्वयहीनता र नीतिगत अन्धोपनको फाइदा विदेशी ‘भिसा शिकारी’ हरूले उठाइरहेका छन्।
नीतिगत निकास : यो संगठित लुट रोक्न राज्यले तत्काल चाल्नुपर्ने ५ कदम
नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय हब बनाउने र विदेशी लगानी आकर्षित गर्ने नीति आफैँमा गलत होइन। तर, लगानी प्रवर्द्धनको नाममा अध्यागमन, श्रम बजार र राष्ट्रिय सुरक्षालाई दाउमा राखेर विदेशीहरूलाई खुला छुट दिनु आत्मघाती कदम हो।
यो विकृति रोक्न सरकार र नीति निर्माताहरूले तत्काल निम्न ५ वटा कडा कदम चाल्नु अपरिहार्य छ:
१. बिजनेश भिसा नवीकरणमा ‘अनिवार्य निर्यात आम्दानी’ को सर्त
कुनै पनि विदेशी नागरिकलाई आईटी कम्पनी दर्ता गर्दा पहिलो वर्षको बिजनेश भिसा दिए पनि दोस्रो वर्ष भिसा नवीकरण गर्दा उसले नेपालको बैंकिङ प्रणालीमार्फत कम्तीमा वार्षिक २५ हजार अमेरिकी डलर (करिब ३३ लाख रुपैयाँ) बराबरको सफ्टवेयर वा सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याएको प्रमाण अनिवार्य गरिनुपर्छ। यदि बैंकिङ च्यानलबाट विदेशी मुद्रा नआएको भए उसको बिजनेश भिसा तत्काल रद्द गरिनुपर्छ।
२. औपचारिक रोजगारी र सामाजिक सुरक्षा कोष (SSF) को अनिवार्य व्यवस्था
आईटी कम्पनी दर्ता गर्ने विदेशीले कम्तीमा ३ देखि ५ जना नेपाली प्राविधिकलाई बैंकमार्फत तलब भुक्तानी गरेको र सामाजिक सुरक्षा कोष (SSF) मा सूचीकृत गराएको प्रमाण पेश गरेपछि मात्र बिजनेश भिसा सिफारिस हुने व्यवस्था गरिनुपर्छ। यसले स्थानीय युवाहरूको अनौपचारिक शोषण रोक्नेछ।
३. ‘डिजिटल नोम्याड भिसा’ को छुट्टै कानूनी प्रबन्ध
नेपालमा बसेर अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गर्न चाहने विदेशीहरूका लागि विश्वका अन्य देशहरू (जस्तै इन्डोनेसिया, थाइल्यान्ड, पोर्चुगल) ले जस्तै छुट्टै ‘डिजिटल नोम्याड भिसा’ (Digital Nomad Visa) को व्यवस्था गरिनुपर्छ। उनीहरूलाई कम्पनी दर्ता गर्न नदिई, वार्षिक निश्चित शुल्क (जस्तै: १,५०० देखि २,००० डलर) लिएर निश्चित अवधिका लागि बस्न र खर्च गर्न दिने पारदर्शी व्यवस्था गर्नुपर्छ। यसले विदेशी लगानी (FDI) को तथ्याङ्कलाई विकृत हुन दिँदैन र राज्यलाई प्रत्यक्ष विदेशी मुद्रा पनि प्राप्त हुन्छ।
४. शून्य थ्रेसहोल्डको पुनरावलोकन र अटोमेटिक रुटमा स्थलगत अडिट
आईटी क्षेत्रमा न्यूनतम सीमा शून्य बनाइएको व्यवस्थाको पुनरावलोकन गरी वास्तविक लगानीकर्ता छुट्याउन कम्तीमा ५० लाख वा १ करोड रुपैयाँको व्यावहारिक न्यूनतम थ्रेसहोल्ड तोकिनुपर्छ। साथै, अटोमेटिक रुटबाट स्वीकृति पाउने कम्पनीहरूको ६ महिनाभित्र उद्योग विभाग, कर कार्यालय र अध्यागमनको संयुक्त टोलीले अनिवार्य स्थलगत अनुगमन (Physical Inspection) गर्ने कार्यविधि बनाइनुपर्छ।
५. अन्तर-निकाय एकीकृत डिजिटल निगरानी प्रणाली
उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग र अध्यागमन विभागलाई एउटै सफ्टवेयर नेटवर्कमा आबद्ध गरिनुपर्छ। कुनै विदेशी कम्पनीले बैंकमा पूँजी नल्याएको, निर्यात नगरेको वा कर चुक्ता नगरेको खण्डमा अध्यागमनको प्रणालीमा स्वतः 'रेड फ्ल्याग' देखिने र भिसा रोकिने व्यवस्था गरिनुपर्छ।
चेत कहिले खुल्ने?
कागजी तथ्याङ्कमा ५५ प्रतिशत उद्योग सूचना प्रविधिमा दर्ता हुनु कुनै प्रविधि क्रान्तिको सूचक होइन; यो त राज्यको फितलो नियमनको फाइदा उठाएर रचिएको सस्तो बसाई, प्रतिभाको शोषण र अवैध कारोबारको त्रिपक्षीय चक्रव्युह हो।
वार्षिक ५० हजार रुपैयाँको भिसा शुल्कमा देशको अध्यागमन र सुरक्षा प्रणालीलाई बन्धक बन्न नदिन उद्योग, गृह र अर्थ मन्त्रालयका नीति निर्माताहरूले तत्काल आफ्नो निद्रा त्यागेर यो नीतिगत छिद्रमाथि कडा शल्यक्रिया गर्नैपर्छ। तथ्याङ्कको सस्तो वाहवाहीभन्दा देशको दीर्घकालीन आर्थिक हित, युवाहरूको स्वाभिमान र कानूनी मर्यादा धेरै गुणा ठूलो हो।