एक हप्तामा २६ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य, अझै घट्ला कि बढ्ला ? यसो भन्छन् सुन व्यवसायी

Nov 21, 2026 06:56 AM Merolagani



पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

गत कात्तिक २८ गते शनिबार नेपाली बजारमा २ लाख ७१ हजार ७०० रुपैयाँमा किनबेच भएको सुनको प्रतितोला मूल्य एक हप्तापछि मंसिर ४ गते शुक्रबारसम्म आइपुग्दा २६ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुससा, गत कात्तिक २९ गते आइतबार एक हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, कात्तिक ३० गते सोमबार एक हजार १०० रुपैयाँले घट्यो । उक्त दिन सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी, मंसिर १ गते मंगलबार पनि १ हजार ९०० रुपैयाँले सुनको मूल्य घटेर प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंसिर २ गते बुधबार एकैदिन ६ हजार ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंसिर ३ गते बिहीबार पनि ३ हजार ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । र, मंसिर ४ गते शुक्रबार भने एकैदिन सुनको मूल्य १२ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसरी हेर्दा, यो हप्ता सुनको मूल्य सर्वाधिक घटेको देखिन्छ । व्यवसायीहरुका अनुसार, पछिल्ला दिनमा सुनको मूल्य घटिरहेको छ । अन्तराष्ट्रिय मार्केटमा सुन बिक्रीको चाप बढेको, डलर मजबुत बनेको र अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको चुनावी हारलगायतका कारणले पनि त्यसको प्रत्यक्ष असर सुनमा देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

‘यो हप्ता सुनको मूल्य निरन्तर घटिरहेको छ । भोलिका दिनमा के हुन्छ, त्यो हेर्न बाँकी नै छ,’ उनले भने, ‘घट्छ वा बढ्छ अझ केही समय कुर्नुपर्ने नै हुन्छ ।’