एनपीएल २०२६ को उपाधि सुदूरपश्चिम रोयल्सलाई: लुम्बिनीमाथि १० विकेटको ऐतिहासिक र सानदार जित

Nov 21, 2026 08:31 PM Merolagani



तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि चुमेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएल ट्रफी उचालेको हो। यसअघि अघिल्ला दुई संस्करणको फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिमले गत संस्करणको फाइनल हारको बदलासमेत लिएको छ।

जर्ज मुन्सेको विस्फोटक शतक, १३.३ ओभरमै लक्ष्य पूरा

लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५६ रनको विजयी लक्ष्य सुदूरपश्चिम रोयल्सले बिना कुनै विकेटको क्षतिमा मात्र १३.३ ओभरमा १५८ रन बनाउँदै सहजै पूरा गर्‍यो। सुदूरपश्चिमको ऐतिहासिक जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक शतकीय इनिङ्स खेले। उनले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतले अविजित १२५ रनको शानदार योगदान दिए। उनलाई अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाएर बलियो साथ दिए। लुम्बिनीका कुनै पनि बलरले सुदूरपश्चिमको ओपनिङ साझेदारी तोड्न सकेनन्।

लुम्बिनीको इनिङ्स: दिलिप नाथको सर्वाधिक ३९ रन

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल तयार पारेको थियो। लुम्बिनीका लागि विकेटकिपर ब्याटर दिलिप नाथले ३१ बलमा ३ छक्कासहित अविजित ३९ रनको सर्वाधिक योगदान दिए। त्यस्तै, कप्तान रोहित पौडेलले ३१ बलमा ४ चौकासहित ३० रन, निरोशन डिकवेलाले १७ बलमा २८ रन, अली शेखले २४ रन र डार्सी सर्टले २१ रन जोडे। ओपनर आसिफ शेख १ रन र सन्दीप जोरा ४ रनमा आउट हुँदा रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र हेमन्त धामीले समान १–१ विकेट हात पारे।