प्रधानमन्त्री शाहको शुभकामना सन्देश:
प्रिय कर्णाली,
घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण यसपटक तपाईंहरूको प्रदेशमा आयोजना हुँदैछ। यसको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन्।
राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनुहुनेछ।
कर्णालीले पहिलोपटक यति ठूलो खेलकुद महाकुम्भको आयोजना गर्दैछ। यस प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। साथै, खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले तपाईंहरू नागरिकस्तरबाटै यस खेलकुदलाई साथ र समर्थन गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु।
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा मात्र संस्करण आयोजना हुनु दुःखद पक्ष हो। अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्नेछ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस्।
प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना।
जय कर्णाली !जय खेलकुद
जय जय नेपाल !