नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेल सञ्जालमा जोड्ने गरी सोमबारदेखि जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनमा आएको हो ।
नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्ने कार्यक्रम रहेको छ । अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा भारतीय रेलका उच्च अधिकारीहरूले जनकपुर आउने रेललाई बिदाइ गर्नेछन् ।
रेल सेवा सञ्चालनसँगै नेपाल र भारतका दुई ऐतिहासिक धार्मिक सहरबीच आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा मानिने भएकाले यी दुई सहरबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विशेष महत्त्वको छ ।
जनकपुरधाम–अयोध्या रेल सेवाले दुवै देशका श्रद्धालुलाई धार्मिक यात्रा गर्न सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धन र जनस्तरको सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सुरु गरिएको यो रेल सेवा दुई देशबीचको सम्पर्क विस्तारको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।