नेपाल पुनर्बीमा कम्पनीले १६.९१ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, चुक्ता पूँजी २० अर्ब पुर्‍याइँदै

Nov 27, 2026 10:28 AM Merolagani



नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले कुल चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउने प्रयोजनका लागि करिब १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो।

कम्पनीमा रहेको नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट हकप्रद शेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागिएको हो।

आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ।