दोस्रो चरणमा पुग्नेमा बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐर, कार्यवाहक निर्देशक लक्ष्मण गौतम, रोहिणीप्रसाद खनाल र पूर्ववरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठ रहेका छन् । श्रेष्ठ पूर्वमन्त्रीसमेत हुन् । उनी सुशीला कार्की नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् ।
बोर्डमै काम गरेको अनुभव र संस्थागत कार्यप्रणालीबारे जानकार उम्मेदवारहरूबीचको प्रतिस्पर्धामा चार जनाले मात्रै अर्को चरणमा स्थान बनाएका हुन् । बाँकी छ जना बहालवाला कर्मचारी भने पहिलो चरणको मूल्याङ्कनबाटै बाहिरिएका छन् ।
पूर्वमन्त्रीदेखि कार्यवाहक नेतृत्वसम्म प्रतिस्पर्धामा
सीईओ पदका लागि आवेदन दिने बोर्डका नौ जना बहालवाला कर्मचारीमा हिक्मतसिंह ऐर, लक्ष्मण गौतम, रोहिणीप्रसाद खनाल, उदय भट्टराई, नवीन पोखरेल, सूर्य थपलिया, सुधन सुवेदी, सन्तोष विक्रम थापा र प्रज्ञा घिमिरे रहेका थिए ।
यीमध्ये ऐर, गौतम र खनाल दोस्रो चरणमा पुग्न सफल भएका छन् । बाँकी छ जना प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
त्यस्तै, बोर्डमा लामो समय वरिष्ठ प्रबन्धकका रूपमा काम गरेकी श्रद्धा श्रेष्ठले पनि सीईओ पदमा आवेदन दिएकी थिइन् । बोर्डको दिगो पर्यटन तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको अनुभव रहेकी श्रेष्ठ पछि मन्त्री बनेकी थिइन् । उनी पनि दोस्रो चरणमा छनोट भएकी छन् ।
यसरी बोर्डमा काम गरेको अनुभव भएका १० उम्मेदवारमध्ये चार जनाले मात्रै दोस्रो चरणमा स्थान बनाएका छन् ।
४२ जनाबाट ११ जना छनोट
नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि कुल ४२ जनाले आवेदन दिएका थिए । तीमध्ये ३१ जनाले बोर्डको कार्यालयमा भौतिक रूपमा र ११ जनाले इमेलमार्फत आवेदन दिएका थिए । एक जनाले भने दुवै माध्यमबाट आवेदन दिएको विवरण सार्वजनिक भएको थियो ।
प्राप्त आवेदनमध्ये प्रारम्भिक मूल्याङ्कनपछि बोर्डको कार्यकारी प्रमुख छनोट उपसमितिले १६ जनालाई पहिलो चरणको संक्षिप्त सूचीमा समावेश गरेको थियो ।
पहिलो चरणमा छनोट भएका उम्मेदवारहरूले आफ्नो रणनीतिक कार्ययोजना प्रस्तुत गरेका थिए । पर्यटन क्षेत्रका चुनौती, तिनको समाधान तथा बोर्डको भावी कार्यदिशासम्बन्धी प्रस्तावको मूल्याङ्कनपछि ११ जनालाई दोस्रो चरणका लागि छनोट गरिएको हो ।
दोस्रो चरणमा छनोट हुनेमा चितवनका आशुतोष प्रधान र उत्तमप्रसाद देवकोटा, इलामका टेकबहादुर महत, मोरङका नोजल कोइराला, काठमाडौंकी युविका भण्डारी, भक्तपुरका रोहिणीप्रसाद खनाल, दाङका लक्ष्मण गौतम, ताप्लेजुङकी श्रद्धा श्रेष्ठ, रुपन्देहीका श्रीप्रसाद भट्टराई, बैतडीका सुरेश सिंह बुडाल र कञ्चनपुरका हिक्मतसिंह ऐर रहेका छन् ।
पहिलो चरणमा छनोट भए पनि दोस्रो चरणमा पुग्न नसक्ने पाँच जनामा चितवनका धर्मराज दवाडी, काठमाडौंका राजाराम केसी, गोरखाका रामचन्द्र सेढाईं, पाल्पाका विनोद अर्याल र काठमाडौंका सन्तोष विक्रम थापा छन् ।
मंगलबार पुनः समस्या समाधान क्षमताको परीक्षण
दोस्रो चरणमा छनोट भएका ११ जना उम्मेदवारले आगामी मंगलबार बिहान ८ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित भएर अर्को परीक्षणमा सहभागी हुनुपर्नेछ ।
यस चरणमा उम्मेदवारहरूको तत्काल समस्या पहिचान गर्ने, समाधानका उपाय प्रस्तुत गर्ने तथा नेतृत्वदायी क्षमता परीक्षण गरिनेछ ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) अनुसार पहिलो चरणको रणनीतिक कार्ययोजनामा आधारित प्रस्तुतीकरण गरिएको थियो । अब उपदफा (६) अनुसार दोस्रो चरणको समस्या समाधान परीक्षण हुन लागेको हो ।
दोस्रो चरणको मूल्याङ्कनपछि छनोट उपसमितिले उत्कृष्ट उम्मेदवारहरूको नाम नियुक्तिका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ ।
छनोट प्रक्रियामाथि सर्वोच्च अदालतमा रिट
नेपाल पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अघि बढिरहेकै बेला यसको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ ।
पहिलो चरणमा सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूची तयार पार्ने प्रक्रिया कानुनविपरीत भएको दाबी गर्दै दायर रिटमा उम्मेदवारहरूको योग्यता, अनुभव र छनोट कार्यविधिमाथि प्रश्न उठाइएको छ ।
यस विषयमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो । अदालतमा मुद्दा विचाराधीन रहे पनि बोर्डको छनोट प्रक्रिया भने अघि बढिरहेको छ ।
छ महिनादेखि नेतृत्वविहीन बोर्ड
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पद गत वैशाख १९ गतेदेखि रिक्त छ । तत्कालीन कार्यकारी प्रमुख दीपकराज जोशीलाई सरकारले राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशमार्फत पदबाट हटाएपछि बोर्ड स्थायी नेतृत्वविहीन बनेको हो । त्यसयता बोर्डको प्रशासनिक तथा दैनिक कामकाज कार्यवाहक नेतृत्वमार्फत सञ्चालन हुँदै आएको छ ।
नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा नेपालको गन्तव्य पहिचान विस्तार, पर्यटन बजार विविधीकरण, निजी क्षेत्रसँगको सहकार्य तथा पर्यटनसम्बन्धी कार्यक्रम कार्यान्वयनमा बोर्डको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।
लामो समयदेखि स्थायी नेतृत्वको अभाव झेलिरहेको बोर्डमा अब नयाँ सीईओ नियुक्तिको प्रक्रिया अन्तिम चरणतर्फ अघि बढेको छ । बोर्डभित्रै काम गरेका अनुभवी कर्मचारीदेखि बाह्य क्षेत्रका उम्मेदवारसम्म प्रतिस्पर्धामा रहेकाले आगामी छनोटले संस्थाको भावी नेतृत्व र कार्यदिशा निर्धारण गर्नेछ ।
