नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको उपसमितिले जनाएको छ। उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको छ।
सर्टलिस्टमा चितवनका आशुतोष प्रधान, उत्तमप्रसाद देवकोटा र धर्मराज दवाडी परेका छन्। त्यस्तै इलामका टेकबहादुर महत, मोरङका नोजल कोइराला, काठमाडौंकी युविका भण्डारी र राजाराम केसी तथा गोरखाका रामचन्द्र सेढाईं पनि प्रतिस्पर्धामा छन्।
यसैगरी भक्तपुरका रोहिणीप्रसाद खनाल, दाङका लक्ष्मण गौतम, पाल्पाका विनोद अर्याल, ताप्लेजुङकी श्रद्धा श्रेष्ठ, रुपन्देहीका श्रीप्रसाद भट्टराई, काठमाडौंका सन्तोष विक्रम थापा, बैतडीका सुरेश सिंह बुडाल र कञ्चनपुरका हिकमत सिंह ऐर पनि सर्टलिस्टमा परेका छन्। सर्टलिस्टमा परेकी श्रद्धा श्रेष्ठ पूर्वमन्त्री हुन्।
छनोट उपसमितिले सर्टलिस्टमा परेका सबै उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन सूचित गरेको छ। उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यता तथा कार्यअनुभव पुष्टि गर्ने सक्कल कागजातसहित उपस्थित हुनुपर्नेछ। साथै, उनीहरूले तोकिएको समयमा आफ्नो प्रस्तुतीकरणसमेत दिनुपर्नेछ।
पर्यटन क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान विस्तार तथा पर्यटक आगमन वृद्धि गर्ने महत्त्वपूर्ण जिम्मेवारी पर्यटन बोर्डको कार्यकारी प्रमुखमा रहने भएकाले नयाँ नेतृत्व चयनलाई पर्यटन क्षेत्रले चासोका साथ हेरेको छ। अबको छनोट प्रक्रियापछि बोर्डको नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लाग्नेछ।