यस सेवा कार्यान्वयनमा आएसँगै लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट सेयर खरिद विक्रीको आदेश दिन सक्नेछन् । यस्तो खरिद आदेश मोबाइल, एसएमएस र इमेलबाटै गर्न सकिनेछ । साथै किनबेचको विवरणसमेत हेर्ने सुविधा यस प्रणालीमा रहेकाे छ ।
अहिलेसम्म टेलीफोनबाट खरिद अर्डर गर्न सकिएपनि खरिदविक्री आदेशका लागि ब्रोकर कार्यालयमा पुगेर फारम भर्नुपर्ने कानुनी व्यवस्था रहेको थियो ।

सेवाको सुरुवात गर्दे बोर्डका अध्यक्ष कार्कीले सेमी अनलाईन मार्फत पूँजी बजारमा लगानी गर्दा इन्साइडर ट्रेडिङ्ग रोक्न सहज हुने बताए । बोर्डले इन्साइडर ट्रेडिङ्ग राक्ने नियमावली बनाउने प्रकृया सुरु गरेको जानकारी दिँदै उनले सेयर कारोबार प्रकृयालाई थप सहज, पारदर्शी एवं लगानीकर्ता मैत्री बनाउन नयाँ प्रविधि अवलम्बन गरिएकाे उल्लेख गरे ।
हालसम्म इन्साइडर ट्रेडिङ्ग राेक्ने ब्यवस्था ऐनमा भएपनि नियमावली आउन बाँकी छ । बोर्डले वैकल्पिक लगानी सम्बन्धी नियमावली चाँडै ल्याउन लागेको जानकारी दिएको छ । उक्त नियमावली आएपछि गैह्र आवासिय नेपालीलाई पूँजी बजारमा भित्र्याउने, भेञ्चर कम्पनी, हाइड्रोपावर,बीमा लगायत, सम्पूर्ण सेयर बजारमा गर्ने लगानीको विषयलाई समेटिने बताइएको छ ।
प्रबिधिले लगानीकर्तालाई अनुशासित बनाउने भन्दै कार्कीले इन्टरनेट मार्फत व्यक्तिगत पहिचान विवरण (केवाइसी) फारम भर्दा लगानीका श्रोत खुल्ने भएकाले पूँजी बजारले समग्र राष्ट्रको विकासमा योगदान पुर्याउन सघाउने बताए । सेमी अनलाइनको व्यवस्थाले कारोबार अभिलेखलाई व्यवस्थित र सुदृढ बनाउन सघाउ पुर्याउने बोर्डको अपेक्षा छ।
कार्यक्रममा नेप्सेका सिइओ चन्द्रसिंह साउद, सिडिएस एण्ड क्लियरिङ्गको सिइओ देव प्रकाश गुप्ता, एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी र इन्भेष्टर्स फोरमको अध्यक्ष अम्बिका प्रसाद पौडेल सहभागी थिए ।