मुद्धति निक्षेप तथा अन्य क्षेत्रको रकम शेयर बजारतर्फ मोडियो,यसरी आइरहेकाे छ पैसा

Jan 23, 2020 11:09 AM merolagani

रविन पाैडेल ।

लगानीकर्ताले मुद्धति निक्षेप राखेको पैसा तथा अन्य क्षेत्रको रकम समेत शेयर बजारतर्फ मोड्न थालेपछि दैनिक कारोबार रकम बढ्न थालेको हो। सोही कारण शेयर बजारमा दैनिक कारोबार रकम बढ्दो क्रममा रहेको छ। 

घर जग्गामा आएको मन्दी, केन्द्रिय बैकले कर्जामा गरेको कडाइ, आयातमा कमी, सेवा क्षेत्रको नाफामा संकुचन आएपछि त्यस क्षेत्रका लगानीकर्ता समेत शेयर बजार प्रवेश गरेका छन्। उनीहरु अल्पकालीन नाफा लिन शेयर बजार छिरेका हुन्।

'दैनिक कारोबार रकम बढ्न बैंक मुद्धतिको रकम परिचालनले सहयोग गरेको छ' नेपाल स्टक ब्रोकर एसोसिएनका अध्यक्ष भरत रानाभाटले भने। प्रत्येक महिना बैंक मुद्धतिमा राखेको रकम परिपक्व हुनेगर्छ। पछिल्लो समय बैंक बित्तीय तथा संस्थाले मुद्धति निक्षेपमा दिँदै आएको ब्याजदर घटाएका छन्। यस अघि उनीहरुले १४ प्रतिशतसम्म दिँदै आएको मुद्धति निक्षेपको ब्याज यतिखेर नौ प्रतिशतमा झरेको छ। ब्याजदरमा पाँच प्रतिशतको फरक आउन थालेपछि उनीहरुले उक्त रकम शेयर बजारमा परिचालन गर्न थालेका हुन्।

राष्ट्र बैंकको सार्वजानिक गरेको पाँच महिनाको रिपोर्टमा समेत मुद्दति निक्षेपमा झिनो बृद्धि देखिएको छ। यस अघि २४ प्रतिशतले बढेको मुद्धति निक्षेपको वृद्धिदर एकै पटक दुई प्रतिशतको सेरोफेरोमा आएको छ। मुद्धति निक्षेपमा घटेको ब्याजदरको असर समग्र मुद्धति निक्षेपको वृद्धिदरमा देखिएको छ। जुन रकम यतिबेला शेयर बजार लगाएतका क्षेत्रहरुमा परिचालन हुन थालेको छ।

बैंक बित्तीय संस्थामा सर्बसाधारणले राख्दै आएको बचत रकम समेत यतिबेला शेयर बजार तर्फ मोडिन थालेको छ। गएको पाँच महिनामा केन्द्रिय बैंकको बिवरण अनुसार  बचत ०.४२ प्रतिशत र कल डिपोजिट २.०४ प्रतिशतले घटेको छ। जसले बैंकहरुमा राखिएको निक्षेप रकम बजारमा आउन थालेको संकेत गर्छ।

घर जग्गामा आएको मन्दीले समेत शेयर बजारमा कारोबार बढाउन टेवा पुर्याएको छ। 'घर जग्गामा यतिखेर देखिएको मन्दीले त्यस क्षेत्रका कारोबारी समेत यतिबेला शेयर बजारमा देखिन थालेका छन्' रानाभाटले भने। लगानीकर्ता शेयरवजारप्रति आशाबादी हुँदा ठूलो रकम यस क्षेत्रमा लगानी गरेका हुन्।

पछिल्लो समय केन्द्रिय बैंकले कर्जामा गरेको कडाईले शेयर बजरतर्फ लगानीकर्ता झुम्मिएका छन् । किनकि बजारमा देखिएको मन्दीले अन्य क्षेत्रबाट हुने आम्दानीमा यतिखेर संकुचन देखिएको छ ।राष्ट्र बैंकको तथ्यांक अनुसार गएको पाँच महिनामा ४.२ प्रतिशतले आयातमा कमी आएको छ, सेवा क्षेत्रको आय तीन खर्ब ७८ करोड रुपैयाँ घाटामा छ । उत्पादन मुलक क्षेत्रको प्रदर्शन समेत घटेको छ ।आम्दानीको प्रमुख क्षेत्रमा गिरावट आउँदा त्यस क्षेत्रका लगानीकर्ता समेत अल्पकालीन नाफा लिन शेयर बजारमा आएका छन् । जसले कारोबार रकम बढाउन टेवा पुर्याएको हो ।

अन्य क्षेत्रमा लगनीको वातावरण नहुँदा अल्पकालीन नाफा खोज्न शेयर बजार छिर्ने गरेका छन् । भारतीय नाकाबन्दी बेला लगानीको बाताबरण बिग्रदा शेयर बजारले हाल सम्मकै सर्बाधिक उचाइ चुमेको थियो । यतिबेला बजारमा बढेको कारवबार रकमले अन्य क्षेत्रमा लगानीको वातावरण नभएको पुष्टि गरिरहेको छ । जसले जसरी पनि लगानी गरेर नाफा आर्जन गर्न चाहने लगानीकर्ता यतिबेला शेयर बजार छिरेका छन् । जसले दैनिक कारोबार रकम बढाउन टेवा पुर्याएको हो ।  

नेपाल धितोपत्र बोर्डले पाएको नेतृत्व र अर्थमन्त्रीले शेयर बजारप्रति देखाएको नरमपनाको असर समेत शेयर बजारमा देखिन थालेको छ । बोर्डले लगानीकर्ताको मनोबल बढाउन टेवा पुर्याएको र अर्थमन्त्रीले शेयर बजर प्रति लिएको नरमपनाले लगानीकर्ताको मनोबल बढेको छ । मनोबल बढेकै कारण यतिबेला लगानीकर्ताले खरिद/बिक्री गर्ने शेयरको मात्रा बढेको छ । पहिले एक सय कित्ता शेयर खरिद गर्नेले यतिबेला ५०० कित्ताको आदेश दिन थालेका छन् । दोस्रो त्रैमासमा सूचीकृत कम्पनीहरुको राम्रो वित्तीय विवरण आउने आशाले पनि लगानीकर्ताहरु शेयर बजारमा लगानी गर्न उत्साहित देखिएका हुन्।

पछिल्लो समय शेयर बजारमा दैनिक डेढ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार हुन थालेको छ। कुनै समय एक सातामा समेत कारोबार रकम एक अर्ब रुपैयाँभन्दा कम हुने गरेकोमा पछिल्लो समय भने शेयर कारोबार रकम ह्वात्तै बढेको छ ।

गत साता नेप्सेमा ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस साता आइतबारदेखि नै डेढ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भइरहेको छ। आइतबार २ अर्ब ९ करोड, सोमबार १ अर्ब ९७ करोड, मंगलबार १ अर्ब ५१ करोड रुपैयाँ, बुधबार १ अर्ब ५८ करोड रुपैयाँ गरि ४ दिनमा मात्रै नेप्सेमा ७ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, पुस तेस्रो साता २ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेमा चौथो साता ४ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

समग्रमा यो तथ्यांकलाई हेर्दा हरेक हप्ता शेयर बजारमा कारोबार रकम बढ्दै गएको देखिन्छ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।