बिक्री आम्दानीसँगै घट्यो साल्ट ट्रेडिङ्गको नाफा

Nov 21, 2021 10:03 AM Merolagani



साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.९४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्यमान बैंकिङ्ग तलरता समस्या, देशको समग्र आर्थिक अवस्थाको कारण तथा कर्पोरेशनले नेपाल सरकारको निर्देशन समेतको पालना री सामाजिक उत्तरदायित्व बहन गर्नु परेको कारण कुनै वस्तुहरुमा लागतमूल्यभन्दा कम मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण कम्पनीले अपेक्षित रुपमा नाफा आर्जन गर्न नसकेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३०.६१ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा १७.६० प्रतिशत घटेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २०.०३ प्रतिशत बढेको छ भने जगेडा सामान्य बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २० रुपैयाँ ५६ पैसा घटेर ८ रुपैयाँ ४८ पैसामा सीमित भएको छ। असोजमसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४४९ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९९६.३० गुणा रहेको छ।