गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Sep 18, 2022 06:17 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता १९३७.७४ विन्दुमा बन्द भएको नेप्से, गत साता २७.३६ अंक घटेर १९१०.३८ विन्दुमा बन्द भएको छ।

साताका ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ओरालो लागेको थियो भने दुई कारोबार दिन उकालो लागेको थियो। साताका अन्तिम दुई कारोबार दिनमा ब्याजदरको वृद्धिले बजारलाई नकारात्मक प्रभाव पारेको हो। बैंकहरुले ब्याजदर बढाउने समाचारसँगै नेप्से ओरालो लाग्न थालेको थियो।

यस अनुसार यस साता नेप्से ओरालो लागेमा १६०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश पिन बार मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा बिक्रीकर्ताहरु हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले बुलिश पिन बार बनाएको छ। जसले कारोबारको दोस्रो अवधिमा बिक्रीकर्ताहरुमाथि खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब १६ करोडको शेयर कारोबार भएको थियो जबकी नेप्सेको २० दिने औषत भोल्युम १ अर्ब २० करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३.४३ प्रतिशत कम हो।

जीवन बीमा उपसमूह

गत साता व्यापार उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक ०.६८ प्रतिशत घटेको छ। अघिल्लो साता ९१७२.७३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ६२.२१ अंक घटेर ९११०.५२ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १०००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ८००० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेजस्तै यस उपसमूहमा पनि ५ दिन इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।