कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

Nov 02, 2022 09:03 AM Merolagani



कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४२.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४२.६९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९०.३१ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज ७ लाख ३१ हजार रुपैयाँ रिभर्स भएसँगै सञ्चालन मुनाफा ६४२.२४ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ५ रुपैयाँ ७३ पैसा बढेर ६ रुपैयाँ ८६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५१.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४९ रुपैयाँ ४७ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ४.४९ प्रतिशत बढेको छ। बैंकको निक्षेप ३६.५६ प्रतिशत बढेको छ भने कर्जा ०.८१ प्रतिशत बढेको छ।