उच्च लाभांश घोषणा गरेका लघुवित्तको लाभांश पटक पटक संशोधन हुँदा बजारमा तीव्र गिरावट, जाल्पा र नेस्डोको लाभांश राष्ट्र बैंकबाट स्वीकृत हाेला?

Mar 26, 2023 06:15 PM MeroLagani

  • बाबुकृष्ण महर्जन

नेपाल राष्ट्र बैंकले लघुवित्तले घोषणा गरेको उच्च लाभांश घोषणालाई स्वीकृत नगरिरहेको बेला नेस्डो समुद्ध लघुवित्त वित्तीय संस्थाले पुनः उच्च लाभांश घोषणा गरेको छ । 

नेस्डोले बिहीबारको सञ्चालक समितिको बैठकले पारित गरेको भन्दै नेप्सेमार्फत सार्वजनिक गरेको सूचनामा ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगदसहित ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको हो । लाभांश घोषणासँगै शेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ । कम्पनीको शेयर मूल्यमा ८.४४ प्रतिशतले गिरावट आएर २२३४ रुपैयाँमा अन्तिम कारोबार भयो । उच्च लाभांश घोषणा भएपनि राष्ट्र बैंकले संशोधन गराउने आशंकामा नेस्डोसँगै अन्य लघुवित्तको पनि शेयर मूल्यमा गिरावट आएको एक शेयर लगानीकर्ताले बताए ।

लघुवित्त कम्पनीले उच्च लाभांश घोषणा गर्ने र त्यसलाई राष्ट्र बैंकले संशोधन गर्न लगाउने पछिल्लो प्रवृत्तिले लगानीकर्ता थप अलमलमा परेका हुन । यसअघि जीवन विकास लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको लाभांशलाई केन्द्रीय बैंकको निर्देशनपछि दुईपटक संशोधन गरियो । जीवन विकासले पहिलो पटक फागुन ८ मा पहिलोपटक २८ प्रतिशत बोनस र ९.३६८४ नगद सहित ३७.३६ लाभांश घोषणा गर्यो । फागुन १० मा राष्ट्र बैंकले लघुवित्तलाई १५ प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्दा विभिन्न कोषमा रकम जम्मा गर्नुपर्ने गरी नयाँ निर्देशन जारी गर्यो । केन्द्रीय बैंकले यसअघिको २० प्रतिशतसम्म लाभांश दिन पाउने नीतिलाई संशोधन गर्दै लघुवित्तलाई आफ्नो नाफाबाट १५ प्रतिशतसम्म लाभांश दिन निर्देशन दिएको थियो। १५ प्रतिशतभन्दा बढी लाभांश दिनुपरेमा भने १५ प्रतिशत भन्दा बढी प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोष र १० प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो।

फागुन २१ मा लाभांश दर संशोधन गरेर ३३.१५ प्रतिशत २६ प्रतिशत बोनस र ७.१५ नगद गरी नयाँ लाभांश घोषणा गर्यो । संशोधति लाभांशलाई पनि राष्ट्र बैंकले पारित नगरेपछि शुक्रबार साधारण सभाको सूचना घोषणासँगै लाभांश पुनः परिवर्तन भएर १४.२८५ बोनस र ०.७१४ नगद लाभांश गरी कुल १४.९९ प्रतिशत लाभांशमा परिणत भयो । दोस्रो पटक लाभांश परिमार्जन भएपछि भने कम्पनीको शेयर मूल्यमा पहिरो आएको छ । आइतबारको कारोबारमा जीवन विकास लघुवित्तसँगै उच्च मूल्य भएका अधिकांश लघुवित्तको शेयर मूल्य घटेर कारोबार भयो । गतवर्ष उक्त लघुवित्तले ७० प्रतिशत बोनस र ३.६८ प्रतिशत नगद लाभांश गरी ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।

आइतबार नै २५ प्रतिशत लाभांश घोषणा गरेको महुली लघुवित्तको लाभांश संशोधन भएर १५ प्रतिशतमा सीमित भएको छ । कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेकोमा राष्ट्र बैंकको सो लाभांश स्वीकृत नभएपछि संशोधन गरिएको हो ।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई लाभांश वितरणमा कडाई गरेपछि अहिलेसम्म जीवन विकास लघुवित्तसँगै नेसनल माइक्रोफाइनान्स र आशा लघुवित्तले घोषणा गरेको लाभांश प्रस्ताव संशोधन गरेको छ । आशाले राष्ट्र बैंकले तोकेको १५ प्रतिशतको सिलिङ भित्रै लाभांश प्रस्ताव गरेको छ भने नेसनल माइक्रोफाइनान्सले भने यसअघि ३८.५ प्रतिशत लाभांश बाँड्ने घोषणा गरेकोमा त्यसलाई संशोधन गरेर ३४.४५ प्रतिशतमा झारेको छ । यो लाभांश प्रस्ताव पनि अहिलेसम्म राष्ट्र बैंकले स्वीकृत गरेको छैन ।

गत वर्षको नाफाबाट महिला, उपकार, सीवाइसी नेपाल, आँधिखोला, फर्वाडलगायतकाले लघुवित्तले ३० देखि ६५ प्रतिशतसम्म लाभांश स्वीकृत साधारण सभाबाट पारित गराइसकेका छन् । राष्ट्र बैंकले फागुन १० गतेपछि सम्पर्कमा आएका लघुवित्तलाई भने अधिकतम १५ प्रतिशत मात्रै स्वीकृति दिने गरेको छ । करिब ६ महिना अगाडि नै लाभांश घोषणा गरेको जाल्पा लघुवित्तको ७६.८४ प्रतिशत लाभांश केन्द्रीय बैंकले अझै पारित गरेको छैन भने आइतबार घोषणा गरेको ७६.६८ प्रतिशत लाभांश समेत राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी नै छ ।

के भन्छन् नेस्डोका सञ्चालक ?
नेस्डो समुद्धि लघुवित्त वित्तीय संस्थाका प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाइ ठकुरीले पछिल्लो राष्ट्र बैंकको सर्कुलर अनुसार १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्दा १५ प्रतिशतभन्दा बढी घोषणा गरेको लाभांशको ५० प्रतिशत जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र १० प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा राखेर नै लाभांश घोषणा गरेको बताए । ‘प्रस्तावित लाभांश सहित वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्न भने बाँकी छ । प्रारम्भिक वित्तीय विवरण स्वीकृत गरेर लाभांश पेश गर्न अनुरोध गरे बमोजिम नै लाभांश प्रस्ताव गरेको हो ।’–उनले भने । कम्पनीको बिहीबार बसेको बैठकले लाभांश घोषणा गरेर शुक्रबार नेप्सेलाई जानकारी गराइएको भए पनि शुक्रबार नेप्सेको प्रणालीले काम नगरेको हुँदा आइतबार मात्रै सूचना अपलोड भएको हो ।

‘राष्ट्र बैंकले दिएको निर्देशनको पालना गरेर कोषहरुमा राख्नुपर्ने रकम छुट्याएर लाभांश घोषणा गरेको हुनाले कम्पनीको लाभांश स्वीकृत हुन्छ भन्ने विश्वास छ ।’ – उनले भने । कम्पनीले आइपीओ निष्काशन गरेपछि पहिलोपटक लाभांश घोषणा गरेको हो । केन्द्रीय बैंकको प्रावधान अनुसार जगेडा कोष, ग्राहक संरक्षण कोष र सामाजिक उत्तदायित्व कोषमा रकम छुटयाउँदा पनि अघिल्लो वर्षको ४ करोड रुपैयाँ सञ्चित नाफामा बाँकी रहेको उनले बताए ।

‘१०० रुपैयाँ लगानीकर्तालाई दिन ९५ रुपैयाँ विभिन्न कोषमा राखेर लाभांश बाँड्छु भन्दा पनि स्वीकृति नदिने कुरा त मिलेन नी ?’ –उनले प्रतिप्रश्न गरे । सडकमा दुई चार जना उफ्रे भन्दैमा लगानीकर्ताले लाभांश पाउने अधिकारबाट बञ्चित गर्न नमिल्ने बताउँदै उनले केन्द्रीय बैंकले पनि अघिल्लो वर्षकै नाफाबाट कुनै लघुवित्तलाई ६५ प्रतिशतसम्म बाँड्न दिने भने कसैलाई १५ प्रतिशत मात्रै बाँड्न दिने गरी फरक फरक व्यवहार गर्न नमिल्ने बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।