यसैगरी, लक्ष्मी बैंकको पनि संस्थापक शेयर १०९ रुपैयाँमा झरेको छ । साथै, भरखरै मात्र एनसीसी बैंकलाई गाभेको कुमारी बैंकको संस्थापक शेयर पनि निरन्तर घट्दो क्रममा छ । कुमारी बैंकको संस्थापक शेयरको मूल्य पनि ११० रुपैयाँ छ ।
अहिले चारवटा बैंक सिटिजन्स, प्रभु, लक्ष्मी र कुमारी बैंकको संस्थापक शेयर ११० रुपैयाँ भन्दा कम मूल्यमा आइपुगेको छ । चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक मानिएको ग्लोबल आईएमई बैंकको संस्थापक शेयरको मूल्य पनि ११४ रुपैयाँमा आइपुगेको छ ।
यसैगरी, सनराइजको संस्थापक शेयरको मूल्य १२८, एनएमबीको १३१, माछापुच्छेको १३६ तथा एभरेष्ट र प्राइम कमर्शियल बैंकको १४५ रुपैयाँ छ ।
साथै, सानिमाको १५१, सिद्धार्थको १६०, नेपाल इन्भेष्टमेन्ट मेगाको १६२, हिमालयनको ३००, एनआइसी एशियाको ३३१, नबिलको ४७४ रुपैयाँ रहेको छ । नेपाल एसबीआईको १४२० रुपैयाँदेखि खरिद बिक्री नभएकाले होला त्यही मूल्यमा संस्थापक शेयर छ ।
कृषि विकास बैंक, नेपाल बैंक र स्टयान्डर्ड चार्टर्ड बैंकको संस्थापक शेयरको मूल्य किनबेच भएको देखिदैन् । बैंकहरुले सर्वसाधारणलाई जारी गरेका शेयरको मूल्य निरन्तर घटेकाले पनि संस्थापक शेयरको मूल्य पनि घट्न पुगेको हो ।

गुद्रुककै भाउमा संस्थापक शेयर आउनुका कारण
दोस्रो बजारमा शेयरको भाउ निरन्तर ओरालो लागेकाले संस्थापक शेयरको मूल्य पनि घटेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए । ‘नकारात्मक माहोलका कारण लगानीकर्ता डराइ रहेका छन्, त्यसैले सस्तो मूल्यमा शेयर बिक्री भइरहेको छ,’ उनले भने, ‘सप्लाई र डिमान्डको कुरा शेयर बजारमा पनि लागु हुन्छ । अहिले सप्लाई बढी छ र डिमान्ड कम छ । सप्लाई बढी भएको बेलामा शेयरको भाउ पनि घट्छ ।’
कुनै बेला ३२०० अंक नजिक पुगको नेप्से फर्किर १८८० को लाइनमा आएको छ । लगानीकर्तालाई शेयर बजार गल्र्यामगुर्लुम अझै झर्छ कि भन्ने छ । यसले पनि लगानीकर्ता डराइरहेका छन् ।
राजनीतिक अस्थिरता र अब अर्थमन्त्री को बन्ने भन्ने बिषयले पनि लगानीकर्ताले शेयर खरिद गर्न सकिरहेका छैनन् । सानो तिनो राजनीतिक वा आर्थिक घट्नाले पनि शेयर बजारलाई असर पार्ने गर्छ ।
मुलुकको आर्थिक सूचकसँगै राजनीतिक अस्थिरता, वारम्बार नीतिगत परिवर्तनको सिकार पूँजी बजार हुँदै आएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारबाट नेकपा एमाले बाहिरिएपछि शेयर बजार पनि ओरालो लागेको थियो ।
एमाले सत्ताबाट बाहिरिएपछि अहिले नेपाली काँग्रेस सरकारमा प्रवेश गर्दै छ । शेयर बजारप्रति सकारात्मक धारणा राख्दै आएका एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अब को अर्थमन्त्री हुने हो भन्ने कुराले पनि शेयर बजार प्रभावित हुँदै आएको छ । अर्थमन्त्रालय नेपाली काँग्रेसको भागमा परेको छ । अहिले नेपाली काँग्रेसमा अर्थमन्त्री कसलाई दिने भन्ने बहस चर्किएको छ ।
लगानीकर्ताले पनि अर्थमन्त्री को आउला ? भनेर प्रतिक्षा गरिरहेका छन् । अर्कोतिर, वित्तीय संस्था प्रति निरन्तर प्रहार हुँदै आएकाले पनि शेयर बजारमा लगानी गर्न लगानीकर्ता डराइरहेका छन् ।
अहिले विश्व व्यापी रुपमा नै आर्थिक मन्दी आएकोछ । केही समय पहिलादेखि नै रुस–युक्रेनको युद्धले विश्व अर्थतन्त्रलाई नै प्रभावित पार्दै आएको छ ।
समयमा अमेरिकामा बैकिङ्ग क्षेत्रमा संकट बढिरहेको छ । सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक पछि अहिले फष्ट रिपब्लिक बैंक पनि बन्द हुने खतरा उत्पन्न भएको छ ।
अमेरिकामा बैंकिङ क्षेत्रमा देखिएको संकट नेपालमा पनि आउने हो कि भन्ने त्रास छ । यसले पनि शेयर बजारमा लगानीकर्ताले लगानी बढाउन सकिरहेका छैनन् । सर्वत्र डर त्रास कायम भएकाले पनि अहिले शेयर बजार घट्न पुगेको हो ।
बैंकको लाभांश दर घट्दै गएको, ऋण र ब्याज तिर्न बैंकले ताकेता गर्न थालेका कारणले पनि संस्थापकले शेयर बिक्री गरिरहेका छन् । यसले गर्दा पनि संस्थापक शेयरको मूल्य १०० रुपैयाँको १०० रुपैयाँमा नै केही बैंकको आउन पुगेको हो ।