ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोद्वारा पदभार ग्रहण

Jun 05, 2023 05:32 PM Merolagani



ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोले आज अर्थात् सोमबार पदभार ग्रहण गर्दैछिन् । यसअघि एनबीसी युनिभर्सलको ग्लोबल एडभर्टाइजिङ एण्ड पार्टनरसिपका अध्यक्षको रूपमा उनले काम गरिसकेकी छिन् ।

याकारिनोले एनबीसी युनिभर्सलका कार्यकारी उपाध्यक्ष जो बेनारोचलाई उनीसँग ट्विटरमा काम गर्न नियुक्त समेत गरेकी छिन्। वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार बेनारोच याकारिनोका विश्वसनिय सल्लाहकार हुन् ।

जो बेनारोचले व्यापार सञ्चालनमा ध्यान केन्द्रित गर्ने

द वाल स्ट्रिट जर्नलले लेखेको मेमो अनुसार बेनारोचले ट्विटरमा उनको भूमिका व्यापार सञ्चालनमा केन्द्रित हुने बताएका छन्। 'म ट्विटरमा मेरो अनुभव ल्याउन र ट्वीटर २.० निर्माण गर्न सम्पूर्ण टोलीसँग काम गर्न तत्पर छु,' उनले लेखे।

याकारिनोले गत महिना आफू ट्विटर २.० निर्माण गर्न र मस्कसँगको व्यापारलाई रूपान्तरण गर्न तयार रहेको बताएका थिए।

मस्कले गत महिना नयाँ सीईओको बारेमा दिए जानकारी

गत महिना ट्विटरका मालिक एलन मस्कले नयाँ सीईओको बारेमा जानकारी दिएका थिए। मस्कले लेखेका थिए, 'म ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोलाई स्वागत गर्न पाउँदा उत्साहित छु । लिन्डाले मुख्य रूपमा व्यापार सञ्चालनमा ध्यान दिनेछिन् । म भने उत्पादनकाे डिजाइन र नयाँ प्रविधिमा ध्यान दिनेछु।' एलन मस्कले टेस्ला र स्पेसएक्समा बढी ध्यान केन्द्रित गर्ने लक्ष्य राखेका छन्।

फर्च्युन, फोर्ब्सद्वारा लिन्डा सर्वाधिक प्रभावशाली महिलाका रूपमा चयन 

५९ वर्षीया लिन्डा एनबीसी युनिभर्सल मिडिया एलएलसीमा ग्लोबल एडभर्टाइजिङ एण्ड पार्टनरसिपकी अध्यक्ष हुन्। २०११ मा एनबीसी युनिभर्सल मिडियामा आवद्ध भएपछि उनले कम्पनीकोलागि वन प्लाटफर्म सिर्जना गरिन्। वन प्लाटफर्मले प्रिमियम भिडियो इकोसिस्टमलाई नै परिवर्तन गरिदिएकाे छ । वन प्लाटफर्मले विज्ञापनदाताहरूलाई सबै स्क्रिन र ढाँचाहरूमार्फत दर्शकहरूसम्म पुग्न मद्दत गर्दछ।

एप्पल, गुगल जस्ता ब्रान्डसँगको व्यावसायिक साझेदारीकाकारण पनि लिन्डा परिचित छिन्। यसैगरी, फर्च्यून, फोर्ब्स जस्ता प्रकाशनहरूले उनलाई प्रभावशाली र शक्तिशाली महिलाको रूपमा मनाेनय गरिसकेका छन्। लिन्डाको शिक्षाको बारेमा कुरा गर्दा, उनले पेन स्टेट युनिभर्सिटीबाट लिबरल आर्ट्समा स्नातकाेत्तर गरेकी छिन्। लिन्डाले क्लाउड पिटर मड्राजोसँग विवाह गरेकी हुन्। उनीहरू दुवै इटालियन मूलका हुन् भने हाल न्यूयोर्कमा बस्छन्।

एजेन्सी