भारतीय शेयर बजार ६ महिनायताकै उच्च

Jun 07, 2023 06:54 PM Merolagani



बुधबार भारतीय शेयर बजारमा वृद्धि देखिएको छ । सो बजारमा सेन्सेक्स ३५० अंकले बढेर ६३,१४२ विन्दुमा पुगेको छ । यसैगरी, निफ्टी पनि १२७ अंकले बढेर १८,७२६ विन्दुमा पुगेर बन्द भएको छ । यो उचाई पछिल्लो ६ महिनायताकै उच्च हो ।

सुरुवातमा आज सेन्सेक्सका ३० शेयरमध्ये २५ मा वृद्धि भएकाे थियाे र पाँचमा गिरावट देखिएको थियो । यसअघि, निफ्टी २०२२ डिसेम्बर १ मा सर्वाधिक उच्च स्तरमा पुगेको थियो । २०२२ डिसेम्बर १ मा बजार ६३,२८४ मा रहेको थियो । आज ब्रिटानियाको शेयर ४.१७ प्रतिशतले बढेको छ । बुधबार भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा ६ पैसाले बढेर ८२.५४ भारतीय रुपैयाँ कायम भएको थियो ।

रियल स्टेट क्षेत्र १.५९ प्रतिशतले बढ्यो

निफ्टी एफएमसीजी उच्च रेकर्डस्तरमा पुगेर १.१२ प्रतिशतले बढेर बन्द भयो। यसका साथै निफ्टी अटो पनि रेकर्ड स्तर छोएर ०.६१ प्रतिशतले बढेर बन्द भएको छ। रियल स्टेट क्षेत्रमा १.५९ प्रतिशत, तेल र ग्यास क्षेत्र १.०६ प्रतिशतले बढेर बन्द भयो। साे बजारमा सबै क्षेत्रहरू सकारात्मक भएर बन्द भएको छ ।

शेयर बजारमा हिजो सामान्य कारोबार 

यसअघि हिजो अर्थात मंगलबार बजारमा सामान्य कारोबार देखिएको थियो । सेन्सेक्स ५ अंकले बढेर ६२,७९२ विन्दुमा बन्द भयो। निफ्टी पनि ५ अंकले बढेर १८.५९ को स्तरमा बन्द भयो । सेन्सेक्सका ३० शेयरमध्ये १८ बढेका थिए भने १२ मा गिरावट देखिएको थियो ।

सरकारले खरीफ बालीको न्यूनतम समर्थन मूल्य बढायो

किसानलाई राहत दिँदै बुधबार बसेको भारतीय मन्त्रिपरिषद् बैठकले खरीफ बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) बढाएको छ । खरीफ एक माध्यमिक उत्पादन हो जसमा धान, उखु, मकै र कपास जस्ता विभिन्न बालीहरू समावेश हुन्छन्। यसबाहेक, सरकारले बीएसएनएलको पुनरुत्थानको लागि ८९,०४७ करोडको प्याकेज स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय अनुसार मूंग दालको न्यूनतम मूल्य सबैभन्दा बढी १०.४ प्रतिशतले बढाएकाे छ । यसैगरी, बदामको ९ प्रतिशत, तिलको १०.३ प्रतिशत, धानको ७ प्रतिशत, मेज, रहर दाल, उराद दाल, सोयाबिन, सूर्यमुखीको बीउको मूल्य आर्थिक वर्ष २०२३/०२४ को लागि करिब ६.७ प्रतिशतले बढाएको छ।

एजेन्सी