सोमबार पेट्रोलियम पदार्थको नयाँ बिक्री मूल्य तोकिने,अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे अनुसार नेपालमा पनि घट्ला त पेट्रोल र डिजेलको मूल्य ?

Nov 17, 2023 05:21 PM MeroLagani

तिहार र छठको छुट्टिपछि नेपाल आयल निगमले सोमबार मात्रै पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गर्ने भएको छ । भारतीय आयल निगमले हरेक १५ दिनमा पठाउने मूल्य अनुसार नेपाल आयल निगमले बिहीबार नै नयाँ मूल्य सूची प्राप्त गरे पनि सो मूल्य सूची अनुसार स्थानीय बजारमा नयाँ बिक्री मूल्य तय गरेको छैन् ।

सरकारले दशै‌ं तिहार छठजस्तो महत्वपूर्ण चाडबाडलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य दशैं अगाडि नै बढाएको भए पनि सरकारको निर्देशनसँगै मूल्य वृद्धि फिर्ता लिएको थियो ।

भारतले पठाएको मूल्य सूची अनुसार मूल्य थपघट गर्न नपाउँदा निगम पुनः घाटामा जान थालेको बताइएको छ । निगम स्रोतका अनुसार बिहीबार नै नयाँ मूल्य सूची पाए पनि छठ सकेपछि मात्रै नयाँ बिक्री मूल्य सार्वजनिक गर्ने जनाएको छ । निगमलाई अहिले सबैभन्दा बढी एलपीजी ग्याँसमा घाटा छ । पेट्रोल, डिजेल र मट्टितेलबाट निगमलाई त्यति धेरै घाटा छैन । छठपछि नयाँ बिक्री मूल्य तोक्दा एलपीजी ग्याँसको घाटालाई कसरी समायोजन गर्ने भन्नेमा निगम व्यवस्थापन नै अलमलमा परेको देखिएको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार अत्यधिक मूल्य वृद्धि गर्दा पनि सरकार अलोकप्रिय हुने दरले सरकारले मूल्य नबढाउन दबाब दिने गरेको छ भने मूल्य नबढाउँदा निगम घाटा पुनः चुलिंदै जाने समस्या छ । यसैबीच अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य भने घट्दो दरमा रहेको छ ।

घट्दै कच्चा तेलको मूल्य
गत अक्टोबर १९ मा बे्रेन्ट क्रुड आयल प्रति ब्यारेल ९२.३८ डलरसम्म पुगेको थियो भने पछिल्लो समय क्रुड आयलको मूल्य विस्तारै घट्दै गइरहेको छ । नोभेम्बर १६ मा पुग्दा झन्डै १५ डलरले घटेर ७७.४२ डलरसम्म पुगेको थियो भने नोभेम्बर १७ मा भने केही बढेर ७८ डलरको हाराहारीमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले ओपेक राष्ट्रले तेल निर्यात बढाउँदा मध्य पूर्वमा युद्धका बाबजुद पनि कच्चा तेलको मूल्य घटिरहेको बताएको छ ।

रुस युक्रेन युद्ध हुँदा त्यसले कच्चा तेलको मूल्य आकाशिएको थियो भने पछिल्लो समय आर्थिक मन्दीसँगै पेट्रोलियम पदार्थको खपतमा समेत कमी आउँदा कच्चा तेलको मूल्यमा पनि विस्तारै गिरावट आएको सा समाचार संस्थाले जनाएको छ । साधारणतया विश्वभरि नै अहिले तेलको खपत बढ्नुपर्ने र तेलको खपत बढ्दा त्यसले विस्तारै मूल्य पनि बढ्ने गर्दथ्यो । अहिले एसियाली देशहरुमा हिउँद शुरु भएको हुँदा तेलको खपत बढी हुने गर्दछ । अघिल्ला वर्षहरुमा दशैं तिहारको समयमा तेलको खपत बढ्ने भए पनि अहिले तेलको खपत बढ्न नसकेको निगमका एक अधिकारीले बताए । चिसो बढ्दा एलपी ग्याँसलगायतका अन्य पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढ्ने गर्दछ ।

अब नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्ला त ?

उच्च विन्दुबाट झन्डै १६ प्रतिशतले कच्चा तेलको मूल्य घट्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने आँकलन गरिएको छ । भारतले हरेक १५ दिनमा पठाउने मूल्य अनुसार निगमले स्थानीय बजारमा बिक्री मूल्य तय गर्ने गरेको थियो । निगम स्रोतका अनुसार ग्याँस बाहेकका अन्य पेट्रोलियम पदार्थको मूल्य भने भारतले पठाएको मूल्य अनुसार नै थपघट हुने निगमका एक अधिकारीले बताए । सोमबार निगमले बिक्री मूल्य तोक्दा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको आधारमा सम्भवत घटेर नै आउने सम्भावना उच्च रहेको उनले बताए । ग्याँसको मूल्य निगम व्यवस्थापनले घटाउन चाहे पनि घट्न सक्ने सम्भावना नरहेको उनले बताए ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।