ती मध्ये कम्पनीले विगतमा कति लाभांश दिएको थियो, चालु वर्षमा कति मुनाफा गरेर कति दिन सक्छ, ब्याज दर, तरलताको अवस्था, मुलुकको आर्थिक अवस्था, शेयरको माग र आपूर्ति कम्पनीसँग सम्बन्धित सूचना, लगानीकर्ताको बजार प्रतिको मनोभावना, दैवी प्रकोप, अन्तराष्ट्रिय घटनाक्रम आदि हुन् ।
यी स्वभाविक कारणहरु बाहेक शेयर बजारमा ठूलै प्रभाव पार्ने अर्को तत्व भनेको विभिन्न किसिमका खलपात्रहरु हुन् । यस्ता खलपात्र आफ्नो निजी फाईदा, अरु ब्यक्तिले कमाएको देखि नसहने, अरुको फाइदाको लागि प्रायोजित रुपमा प्रस्तुत हुने, आम लगानीकर्ताको सम्पत्तिको रक्षाको नाममा तिनै लगानीकर्ताको मनोभावनासँग खेलवाड गर्ने नाममा विभिन्न ब्यवहार देखाइरहेका हुन्छन् । यिनै मध्येका केहि खलपात्रहरुको यहाँ चर्चा गर्न खोजिएको छ जसको कारणले शेयर बजार आफ्नो स्वभाविक लयमा चल्न सकेको छैन ।
- लगानीकर्ताः शेयर बजारका खलपात्रका कुरा गर्दा लगानीकर्तालाई अग्र पंक्तिका राख्न सकिन्छ । तर, यो सबै लगानीकर्तामा लागु हुँदैन । बजारमा अनेक थरिका लगानीकर्ता हुन्छन् । ती मध्ये एक थरि त्यस्ता हुन्छन् जसलाई शेयर बजारको बारेमा केहि पनि थाहा हुँदैन । यस्ता लगानीकर्ता अरुको लहै लहमा लाग्ने हुन्छन् । यि मध्ये धेरै जसो उच्च बिन्दुमा खरिद गर्ने र घटेको बेलामा बिक्री गर्ने खालका हुन्छन् । यिनलाई ग्रेटर फुलको संज्ञा दिन सकिन्छ । टाठा बाठा लगानीकर्ताले ग्रेटर फुल थ्योरिको अनुसरण गरि कमजोर कम्पनीका शेयरयस्तै ग्रेटर फुल लगानीकर्तालाई भिडाउन सफल हुन्छन् । यस्ता लगानीकर्ताले अनलाईन मेडियाको सकारात्मक तथा नकारात्मक खबर प्रति तुरन्तै प्रतिक्रिया जनाउँछन र नकरात्मक खबर आउँदा बिक्री गरिहाल्ने र सकारात्मक खबर आएपछि पुनः त्यै कम्पनीको शेयर महँगोमा उठाउन पछि पर्दैनन । बजारको स्वभाविक चाल तलमाथि हुनुमा यिनको भूमिकालाई नकार्न सकिदैन ।
दोश्रो थरि लगानीकर्ता ब्रोकरबाट केहि सुबिधा प्राप्त गरि कारोबार गरिरहेका हुन्छन् । जब कुनै नकरात्मक खबरले बजार घटन थाल्छ यिनलाई ब्रोकरबाट कारोबार सल्टाउन दबाव पर्छ र तिनले सकेसम्म कम नोक्सान होस भनि स्टप लस गरि शेयर बिक्री गरि हाल्छन् र यसबाट सृजित बिक्री दबावले बजारमा छोटो समयमै ठूलो अंकको गिरावट आउन सक्छ ।
केहि दिन पहिले कुनै सासंदले शेयर बजारको बारेमा राम्रै विष बमन गरे र केहि कम्पनी तथा लगानीकर्ताको नामै समेत लिन भ्याए । परिणाम भोलि पल्ट बजार खुल्दा ग्रेटर फुल लगानीकर्ता र माथि वर्णन गरिएको दोश्रो थरिका लगानीकर्ताबाट सेलिङ्ग प्रेशर आउँदा बजार १४५ अङ्कले घटन पुग्यो ।
बजार त्यत्रो अङ्कले घटदा पनि टाठा बाठा तथा स्व-विश्लेषण गर्ने लगानीकर्ताले शेयर मज्जाले उठाए । किनकि तिनलाई थाहा छ कि त्यस्ता ब्यक्तिको बोलिको प्रभाव शेयर बजारमा धेरै समय रहदैन । किनकि शेयर बजारलाई प्रत्यक्ष असर गर्ने भनेको सरकार प्रमुख, अर्थ मन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नर जस्ताको बोलिले मात्र हो किनकि तिनीहरुसँग कार्यकारी अधिकार पनि हुन्छ ।
- विधायिकासँग सम्बन्धित ब्यक्तिः सासंद तथा पूर्वअर्थमन्त्री एवम मन्त्रीहरुलाई यो वर्गमा राख्न सकिन्छ । केहि दिन पहिले कुनै पूर्वअर्थमन्त्री तथा सासंदले शेयर बजारको बारेमा ससंदमा राम्रै विष बमन गरे र एक जना सासंदले त केहि कम्पनी तथा लगानीकर्ताको नामै समेत लिन भ्याए र कारवाहीको जोडदार माग गरे । यति सम्म की ससंदको अर्थ समितिमा यस बारे बहस नै भयो । यस्तो सायद कुनै पनि देशमा हुँदैन होला । अरु देशमा बजार अल टाईम हाईमा पुग्दा सरकार प्रमुख तथा नियामकले केक काटेर सेलिब्रेट गरेको समाचार हामीले सुने/पढेकै हो । तर हाम्रो देशमा एकदमै न्यून बिन्दुमा गएर बजार केहि बढन थाले पछि खुसी हुनुको सट्टा बजार घटाउन आक्रमण हुन थाल्दछ । हालाकिं जिम्मेवार ब्यक्तिबाट आएको त्यस्तो अभिब्यक्ति प्रायोजित हो भन्ने कुरा मेडिया तथा सोसल मेडियामा पनि आएकै हो ।
- बुझ पचाएर अबुझ बन्ने पात्रहरु तथा स्वघोषित विज्ञः बजार वियरिशमा गएर लाखौं लगानीकर्ताको खर्बौंको सम्पत्ति स्वाहा भएको बेलामा केहि नबोल्ने तर बजार अलिकति बढने वित्तिकै यस्ता विज्ञले आफ्नो विज्ञता नकारात्मक किसिमले अनलाईन तथा प्रिन्ट मेडियामा झाडन थालिहाल्छन् । एक जना पूर्व गर्भनरले बजारको यो चुरिफुरी एक महिना मात्र हो भनेर भनि दिनु भयो । बजार बढेको देखि नसहने मानसिकताले यहाँ काम गरेको देखिन्छ । बजार वियरिशमा गएर २ वर्ष देखि साईडवेजमै चलिरहेको थियो । बजारले बढनको लागि मौका खोजिरहेको थियो । त्यस्तो मौका सरकार परिवर्तनबाट बजारले पायो । शेयर बजार प्रति सकारात्मक सोच भएको सरकार तथा बजार मैत्री अर्थमन्त्री आए पछि लगानिकर्ताको मनोभावना सकारात्मक हुँदै गयो । पछि मौद्रिक नीतिले केहि भए पनि लगानिकर्ताको माग सम्बोधन गरे पछि बजारको कन्फिडेन्स झन बढन गयो । बजारलाई लगानीकर्ताको कन्फिडेन्सले नै डोर्याउने भएकोले बजार क्रमशः माथि जान थालेको छ । तर यस्तो तथ्यलाई बुझेर पनि बुझ पचाई नकारात्मक टिप्पणी आउनु बजारको लागि किमार्थ राम्रो होईन ।
- नियामक निकायः यदाकदा नियामक निकायको भूमिका पनि खलपात्रको जस्तै देखिन्छ । नियामक निकाय बजारमा भैरहेको विसंगतिलाई रोक्न असमर्थ त छदैंछ कहिले काहिं यस्ता निकाय ठूला लगानीकर्ताको हितको लागि प्रायोजित ब्यवहार देखाईरहेका हुन्छन् । केहि वर्ष पहिले धितोपत्र बोर्डबाट ५१ वटा कम्पनीको नामै तोकेर लगानी नगर्न प्रेस विज्ञप्ति नै आएको थियो । शेयर बजार अति संवेदनशील भएकोले शेयर बजारमा लिस्टिङ्ग भएको कुनै पनि कम्पनिको शेयर खरिद गर्नु अथवा नगर्नु भनेर कसैले भन्न मिल्दैन । त्यसमा पनि नियामक निकायले त झन भन्न मिल्दैन । तत्कालिन समयमा नियामकको यस्तो ब्यवहार केहि ठूला लगानीकर्ताको प्रयोजनमा आएको थियो भन्ने चर्चा परिचर्चा पनि चलेकै हो ।
नेप्सेको भूमिका पनि यहाँ निष्पक्ष छ भन्न मिल्दैन । टिएमएस बनेको यत्रो वर्ष भैसक्दा पनि यसमा कुनै नयाँ फिचर समावेश भएको छैन । बेला बेलामा टिएमएस बन्द भएर लगानीकर्ता कारोवारबाट बन्चित भै घाटा खानु परेको अवस्थामा कुनै सुधार हुन सकेको छैन ।
केहि वर्ष पहिले एनआरआइसिको शेयरमा लगानीकर्ताको अत्यधिक आकर्षण हुँदा कुनै एक दिन धेरै ब्रोकरको (सबैको होईन) टिएमएसले काम गर्न छोड्यो । केहि समय पश्चात टिएमएस खुल्दा बिक्रीमा राखेको एनआरआइसिको सबै शेयर बिक्री भैसकेको थियो ।
पछि यस विषयमा हल्ला खल्ला हुँदा नेप्सेले निबेदन लिएर कतिपयको कारोवार रद्द समेत गरेको थियो । तर त्यसरी रद्द गर्दा खातामा शेयर अपुग भएकाको रद्द गर्यो तर अरुको गरेन । तर्क के दिइयो भने खातामा शेयर भएकाले बिक्री गर्ने मानसिकताले नै बिक्री आदेश राखेकोले रद्द नगरिएको हो । आदेश राख्ने, त्यसलाई सच्याउने तथा क्यान्सिल गर्ने लगानीकर्ताको नैसर्गिक अधिकार हो । उसले आदेश राख्ने वितिकै पुनः त्यो आदेश रद्द गर्न सक्छ । तर टिएमएस नचलेको अवस्थामा उसले त्यसो गर्न नपाई घाटा ब्यहोर्नु पर्यो । त्यतिबेला टिएमएसले काम गर्न छोडेको समयको सबै कारोबार रद्द गर्नु पर्थ्यो तर त्यसो भएन ।
क्लोज आउटको कारणले लगानिकर्ताले लाखौं रुपैया जरिवाना बापत तिर्नु परिरहेको छ तर नेप्सेले अहिले सम्म पनि क्लोज आउटको समस्याबाट आम लगानीकर्तालाई राहत दिन सकेको छैन ।
अर्को तर्फ नेप्से-३० ईण्डेक्स नामक अर्को प्रोडक्ट ल्याउने भनिएको पनि वर्षौं भैसक्यो तर अहिले सम्म पनि आउने सुरसार छैन । नेप्सेको यस्तै ब्यवहारले लगानीकर्ताले विकल्पको रुपमा अर्को स्टक एक्सचेन्ज खोजेका हुन् भन्ने कुरामा कसैको दुई मत हुँदैन । तथापी धितोपत्र एनलाई संशोधन गर्न हालै ससंदमा पेश भएको बिधेयक जस्ताको त्यस्तै पारित भएमा यसलाई धितोपत्र बोर्ड तथा सरकारको सफलतानै मान्नु पर्छ ।
- कम्पनीका उच्च तहका कर्मचारी तथा संचालक समितिः शेयर बजारलाई प्रत्यक्ष असर पर्ने सूचना नेप्सेमा पठाउनु पूर्व नै आफ्ना नजिककालाई उपलब्ध गराएर इनसाईडर ट्रेडिङ्गमा सघाउने कतिपय कम्पनीका उच्च तहका कर्मचारी तथा संचालक समितिका सदस्यहरु पनि खलपात्र नै हुन । बोनस शेयर घोषणा, राईट शेयर घोषणा, त्रैमासिक तथा वार्षिक वित्तिय विबरण जस्ता शेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने सूचना आफ्ना नजिककालाई चुहाई इनसाइडर ट्रेडिङ्ग गराउनमा यिनको सहभागिता छैन भनि पत्याउन सकिने अवस्था छैन । यसको अलावा वित्तिय विवरणमा हुने चलखेललाई पनि नकार्न सकिदैन ।
- अनलाईन मेडियाःहाम्रो शेयर बजारलाई अनलाईन मेडियाले निकै ठूलो प्रभाव पारेको छ । लगानीकर्ताको ठूलो जमातले आर्थिक अनलाईन मेडियाका खबरहरुलाई पछ्याईरहेका हुन्छन् । र मेडियामा प्रकाशित खबर अनुसार आफ्नो लगानी ब्यवहार देखाईरहेका हुन्छन् । यस्तोमा लगानीकर्तालाई मिसलिडिङ्ग गर्ने समाचारहरु बेला मौकामा आईरहेका हुन्छन् ।
- लगानीकर्ता संगठनः च्याउ उम्रे झैं उम्रेका शेयर लगानीकर्ता संगठनहरु पनि एक किसिमका खलपात्र हुन । यस्ता संगठनमा राम्रै पोर्टफोलियो भएका लगानीकर्ताकै हालि मुहाली हुने गर्दछ । आम लगानीकर्ताको हित भन्दा पनि तिनीहरुको नाममा आफ्नो दुनो सोझ्याउनु नै यिनको मूल उद्देश्य हुने गर्दछ । त्यसो नहुँदो हो त यिनले आम लगानीकर्ताले भोग्नु परेको समस्यालाई जोडदार रुपमा उठाउनु पर्थ्यो । तर यिनले तेर्स्याउने हरेक मागमा पूँजीगत लाभमा सरकारले लिने करलाई अझै घटाउनु पर्ने जिकिर गर्छन् । रु १००/- कमाउँदा रु. ७.५०/- तिर्न पनि नचाहने यी कस्ता लगानीकर्ता हुन्? खासमा आम लगानीकर्ताको यो चासोको विषयनै होइन । किनकि तिनीहरु सबैको पोर्टफोलियो सानो हुने गर्दछ र ४/५ लाख कमाउँदा ७.५ प्रतिशतको दरले राज्यलाई कर तिर्न अन्यथा मान्दैनन् । गार्हो त तिनै संगठनका ठूला लगानीकर्ताहरुलाई परेको छ किनकि तिनले करोडमा कमाउँछन र २ प्रतिशत पनि करको दर कमी भएमा अतिरिक्त रु. २ लाख आफ्नो खल्तिमा आइहाल्छ ।
यी संगठनले आम लगानीकर्तालाई समस्या परेको क्लाेज आउटको विषय जोडदार रुपमा उठाएको सुनिएको छैन । अर्को प्रोडक्टको रुपमा नेप्से-३० ल्याउने भनेको विषयमा आवाज उठाउदैनन् । बजार घटेर पिँधमा पुगेको बेला सरकारलाई जसरी पनि बजार बढाइ दिनु पर्यो भनि हप्तौं अनसन बस्न सक्ने यिनले के यस्ता विषयमा अनसन बस्नु पर्दैन ?
- केन्द्रीय बैङ्कःनेपालको शेयर बजारको ताला चाबी केन्द्रीय बैङ्कको हातमा हुनु अर्को दुर्भाग्य हो । ३२०० को उचाईमा पुगेको शेयर बजार १८०० मा आउनुको पछाडिको कारणमा तत्कालिन अवस्थामा केन्द्रीय बैङ्कले लिएको ४/१२ को नीति, शेयर ऋणको जोखिम भार तथा लघु वित्तलाई क्षमता हुँदाहुँदै पनि १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने नीति नै मुख्य रहेको थियो । औंलामा गन्न सकिने केहि ठूला लगानीकर्तालाई तह लगाउने नाममा लिइएको तत्कालिन नीतिले लाखौं आम लगानीकर्ताको खरबौंको सम्पत्ती स्वाहा भयो भने राज्यले उक्त क्षेत्रबाट पाउने कर राजस्वको ठूलो हिस्सा गुमाउनु पर्यो ।
अब अहिले बजार माथि जानुको कारणमा सरकार परिवर्तन, बजार मैत्री अर्थमन्त्री तथा केन्द्रीय बैङ्कले पहिले लिएको नितीमा समयानुकूल परिवर्तनलाई नै लिन सकिन्छ र भोलि बजार एकदमै माथि गयो भनि चौतर्फी हल्ला खल्ला भयो भने पुनः केन्द्रीय बैङ्कले डण्डा चलाउँदैन भनेर ढुक्क भएर बस्ने अवस्था छैन । आफनै स्वभाविक लयमा चलेको शेयर बजार विस्तारै परिपक्व हुँदै जान्छ । अति संवेदनशील यो क्षेत्रको नीतिमा घरि घरि परिवर्तन गरिनु उपयुक्त हुँदैन भन्ने कुरा कन्द्रीय बैङ्क तथा सरकारले आत्मसात गर्न सक्नु पर्छ ।
- शेयर ब्रोकरःशेयरब्रोकरहरुको सिण्डिकेटले पनि कतिपय अवस्थामा बजारलाई अप्राकृतिक तवरले घटबढ गराएको भनेर हामीले सुने/पढेकै हो । यो नितान्त गलत ब्यवहार हो । यस्तो ब्यवहारले अन्ततोगत्वा शेयर बजारको स्वभाविक चाललाई प्रभावित गरिरहेको हुन्छ । दैनिक ३०/४० अर्बको २/३ वर्ष (बुल अवधि) को कारोबार राम्रो की ३/४ अर्बको ३/४ वर्ष बियरिस अवधि) को कारोबार राम्रो भन्ने कुरामा ब्रोकर सजग भई बजारको विसंगतिलाई न्यून गर्ने कार्यमा सरकारको प्रयासमा हातेमालो गर्नु अहिलेको आवश्यक्ता हो ।
अरु पनि धेरै खलपात्रहरु छन् । बुलको बेलामा च्याउ उम्रे जस्तो प्रकट भएका धर्के विशेषज्ञ ( प्राविधिक विशेषज्ञ), भाईबर तथा व्हाट्सएपमा ग्रुप बनाएर यो शेयर खरिद गर यो बिक्री गर भनी सोझा झा लगानीकर्तालाई दिग्भ्रमित गर्ने त्यस्ता ग्रुपका अगुवाहरु । तर ती सबैको यहाँ चर्चा गर्न सकिदैन ।
सरकारको भूमिकाः मुख्य कुरा सरकारले कस्तो नीति लिने हो । मुलुकको अग्रगामी विकासको लागि आर्थिक साधनको आवश्यक्ता पर्दछ । यस्तो साधनमा वैदेशिक ऋण तथा अनुदान बाहेक आन्तरिक राजस्वको श्रोतको महत्वपूर्ण भूमिका हुन्छ । आन्तरिक राजस्वको श्रोत बलियो भएमा राज्यले प्राप्त गर्ने वैदेशिक ऋण तथा अनुदानमा सरकारको मोलमोलाई (बार्गेनिङ्ग) क्षमतामा बृद्धि हुन गई विदेशी राष्ट्र तथा संस्थाको शर्तमा त्यस्तो ऋण तथा अनुदान स्वीकार गर्ने बाध्यताको अन्त्य हुनेछ जुन राष्ट्रको लागि राम्रै हो ।
अतः राजस्वको उर्बर क्षेत्र शेयर बजार प्रति खलपात्रहरु बाट हुने आक्रमणलाई निस्तेज पारि यसलाई स्वभाविक गतिमा अगाडि बढने वातावरणको सृजना गर्नु पर्छ । भर्खरै अनलाईन मेडियामा आएको समाचार अनुसार गत आबको साउन महिनामा उठेको ४० करोडको पूँजीगत लाभकरको तुलनामा चालु आवको साउन महिनामा यस्तो लाभकर ४ अर्ब पुगेको छ । अतः यसबाटै यो क्षेत्र सरकारको राजस्वको लागि कति उर्वर छ भन्ने प्रमाणित हुन्छ ।
अर्को तर्फ, जुन सुकै राजनीतिक पार्टी सरकारमा भए पनि दैनिक सामान्य प्रशासन तथा विकासका कार्य गर्न श्रोतको आवश्यकता त पर्छ नै । त्यसैले हरेक राजनीतिक पार्टीले यो क्षेत्रको महत्वलाई आत्मसात गरि यसलाई परिपक्व र स्वभाविक लयमा चल्न दिने सरकारको प्रयासमा सहयोग गर्नु पर्दछ ।
अन्त्यमा अति संवेदनशील यो क्षेत्रको सन्दर्भमा लिइने नीति दीर्घकालिन हुनु पर्दछ । नीतिमा घरि घरि परिवर्तन गर्दा बजार अस्थिर भई लगानिकर्ता बजारबाट पलायन हुन सक्छन् र त्यस्तो अवस्थामा सरकारले राजस्वको ठूलो अंश गुमाउनु पर्ने हुन्छ ।
(लेखक अर्थ मन्त्रालयका अवकास प्राप्त उप-सचिव हुन् )