नेपालमा बल्ल पूँजी बजार पनि लगानी योग्य क्षेत्र हो भनेर पहिचान गरेका छौं । हाम्रो अर्थतन्त्रसँग एकीकृत हुन बाँकी नै छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा सबै भन्दा बढी योगदान कृषि क्षेत्रको हो । तर कृषिको एउटा कम्पनी पनि बजारमा सूचीकृत हुन सकेको छैन । जब कुल ग्राहस्थ उत्पादनमा योगदान पुर्याएका क्षेत्रका कम्पनीहरु बजारमा सूचीकृत हुन्छ तब पूँजी बजारले अर्थतन्त्रलाई प्रतिबिम्बित गर्ने छ । अहिले बजारमा बैक तथा वित्तीय संस्थाहरुको बाहुल्यता छ । बैंक तथा वित्तीय संस्थाको अवस्था राम्रो भए त्यसको प्रभाव बजारमा देखिने भयो । विस्तारै रियल सेक्टरका कम्पनीहरु पनि भित्रने क्रममा छन् । त्यसैले नेपालको पूँजी बजार अर्थतन्त्रसँग तालमेल हुने प्रकृयामा छ ।
बजारमा रियल सेक्टरलाई ल्याउन किन सकिएको छैन ? कम्पनीहरु आउन चाहेका छैनन वा सरकारले सहजीकरण नगरेको हो ?
विस्तरै सिमेन्ट कम्पनीहरु थपिदै छन् । होटल तथा पर्यटन कम्पनीहरु भित्रदै छन् । त्यसको लागि पनि प्रयासहरु भइराखेका छ । त्यस्ता कम्पनीलाई बजारमा ल्याउनको लागि नै बुक बिल्डिङ्ग बिधि सुरु गरिएको हो । यस बिधि मार्फत बजारमा भित्रने कम्पनीहरुको संख्या विस्तारै बढ्ने छन भन्ने विश्वास गर्न सकिन्छ ।
सुरुवात मै ढुङ्गा लागेको जस्तो, बुक बिल्डिङ्ग बिधिलाई नै लगानीकर्ताले विश्वास नगरेको जस्तो देखिएको छ । किन यस्तो भयो ?
यसलाई बृहत रुपमा हेर्नु पर्दा,सार्वजनिक क्षेत्रमा के हुन्छ भने पहिलो नीतिगत पूर्वाधारणहरु बनाइएको हुन्छ । उक्त नीतिगत व्यवस्थामा रहेर संस्थागत संरचना निमार्ण गरिन्छ । जस्तो नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी र ब्रोकरहरु जस्ता सस्थागत संरचनाहरु तयार गरिन्छ । अनि प्रविधि र जनशक्ति विकास गरिन्छ । यि मध्ये मध्ये केहिमा कमजोरीहरु भयो भने विकृतीहरु सतहमा आउँछन् ।
बुक बिल्डिङ्ग बिधि सुरु भएको छ । समस्या छ भन्ने देखिएको छ । समाधान पनि पहिचान हुँदैछ । अहिले परिक्षणकालमा नै छ । देखिएका समस्यालाई समाधान गर्दै व्यवस्थित गराउनु पर्ने हुन्छ ।
नेपालमा दास्रो बजारको इतिहास लामो भइसकेको छ । यद्यपि इन्ट्रा डे कारोबार आउन सकेन भन्ने गुनासो लगानीकर्तामा बढ्दो छ । बजारको विकासमा किन जोड दिन सकिएन ?
इन्ट्रा डे करोबारको रहर गरेका छौं । विकसित बजारमा लामो इतिहास पछि इन्ट्रा डे सुरु गरेका हुन । यसको लागि पनि नीतिगत व्यवस्था सँगै पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ । इन्ट्रा डे कारोबारलाई उतारेका मुलुकहरुमा पनि विभिन्न समस्याहरु देखिएका छन् । हामीले इन्ट्रा डे कारोबार अभ्यासमा ल्याएका मुलुकमा देखिएको समस्याबाट सिक्दै छौं । यस्तो व्यवस्था राम्रो तयार गरेर मात्रै ल्याउन पर्ने हुन्छ ।
नेपालका धेरै लगानीकर्तालाई वित्तीय साक्षरता बनाउनु पर्ने हुन्छ । सानो सानो पूँजी लिएर पनि बजारमा प्रवेश गर्नेहरु हुनुहुन्छ । त्यस्ता लगानीकर्तालाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ । विस्तारै इन्ट्रा डे प्रति लगानीकर्ताहरुको चासो बढेको छ । यो कस्तो खालको कारोबार शैली हो भन्नेबारेमा जिज्ञाशा बढ्दैछ । यो संख्या विस्तारसँगै इन्ट्रा डे कारोबार पनि सुरु हुनेछ ।
बजारमा ३० अर्बसम्मको कारोबार भयो । यति रकम बराबरको कारोबार हुँदा ब्रोकरको भुक्तानी प्रकृयामा समस्या भयो भन्ने सुनिन्छ । यहि कारण बजारमा दबाव परेको आरोप छ । खासमा भएको के हो ?
नेप्सेले ट्रेड म्यानेजमेन्ट स्टिम तयार पार्दा ब्रोकरलाई केन्द्रमा राखेर तयार पार्नु पर्ने हुन्छ । नेपालमा भीडले दबाव दिएर कतिपय कुराहरु ल्याउने परिपाटी बनेको छ । वास्तवमा यस्तो सस्कृतिले बजारमा राम्रो विकास हुन दिदैन ।
कारोबार सिस्टम बनाउँदा ब्रकेरलाई केन्द्रमा राखेर गराउनु पर्ने हुन्छ । जस्तै लगानीकर्ता ब्रोकरमा पुगेपछि केहि गर्न नपर्ने सिस्टम बनाउनु पर्ने हो । शेयर तथा कारोबार रकम भुक्तानी, ब्रोकरको ब्याकप, टिएमएस व्यवस्थापन सम्बन्धी कुराहरु बुझाउन सकिएन । नेप्से अनलाईन प्रणाली आउनेमा नै विश्वास गरिएको थिएन । तर समयमा नै व्यवहारमा आयो । त्यस्तै ब्रोकरहरुलाई उनीहरुको आफ्नै टिएमएस ल्याउनु पर्छ भन्दा अनलाईन प्रणालीको लागि किन खर्च गर्ने भनेर ब्रोकरहरुले पनि बिरोध गर्नु भएको थियो । विस्तारै त्यो कुरालाई मनन गरेर ब्रोकरहरुको आफ्नै सिस्टम आउँदै छ । एउटाले सुरु गरिसक्नु भएको छ । अरु आउने क्रममा छ ।
२५ प्रतिशत शेयर मार्जिनमा कारोबार कुनै देशमा हुँदैन । नेपालमा एक लाख रुपैयाँको शेयर किन्दै छ भने २५ हजार रुपैयाँ बुझाएपछि कारोबार गर्न पाइन्छ । त्यो व्यवस्थालाई तत्काल परिमार्जन गर्ने अवस्था पनि छैन । यो प्रमुख समस्या हो । अर्को ब्रोकरहरु विश्वासको आधारमा उधारो कारोबार गर्ने गरेका छन् । त्यसरी कारोबार गर्ने ब्रोकरहरुकोमा समस्या भएको छ । धितोपत्र बजार भन्दा बाहिरको कारोबार पनि शेयर कारोबार मार्फत नै सेटल गर्न खोजिन्छ । लगानीकर्ताहरु ब्रोकर खाता खोल्दा सर्तहरु राम्रोसँग पढ्ने बानी छैन । बिधिको शासन मान्ने हो । बिधि अनुसार नै चल्नु पर्छ । कसैले आएर गुनासो गरेको भरमा कारवाही हुदैन ।
कुल ग्राहस्थ उत्पादन (जीडीपी) सँग बजार पूँजीकरणको तुलनाले सडकदेखि संसदसम्म तताएको छ । नेप्सेको बजार पूँजीकरण व्यवहारिक नभएको आरोप छ । साच्चिकै गणना बिधि व्यवहारिक नभएकै हो ?
यो विषय अचम्मसँग अगाडि आयो । ३१ वर्षको इतिहासमा यो विषय पहिले चर्चामा आएको थिएन । तर पनि बजार पूँजीकरण गणना बिधी यूनिभर्सल बिधि अनुसार नै गणना हुने गरेको छ । लगानीकर्ताको फरक परेको हो ।
मुलुकको कुल ग्राहस्थ उत्पादनसँग बजार पूँजीकरण तुलना गर्न सकिदैन । किनभने जीडीपी भनेको आर्थिक वर्ष भित्रमा उत्पादन भएका वस्तु तथा सेवाहरुको अभिवृद्धि हो । यो भनेको अर्थतन्त्रका हरेक वस्तुसँग निर्धारित हुन्छ । बजार पूँजीकरण भनेको लगानीकर्ताले मानेको भ्यालु हो । यो बजारको आकार र विकासको चरण पत्ता लगाउनको लागि गणना गरिन्छ । यस्तो अवस्थामा स्मार्ट लगानीकर्ताले पूँजीकरण भन्दा लगानी गर्ने कम्पनीलाई ध्यान दिने हो । पूँजीकरण व्यवहारिक नभएको कुरा छ । यो भन्दा उपयुक्त गणना बिधि कसैसँग छ भने त्यसलाई पनि परिक्षण गर्न सकिन्छ ।