बुढा नेताहरु भन्दा धेरै भ्रष्टाचारको दलदलमा युवा नेता, देशको भविश्य के होला ?

Jul 17, 2025 06:10 PM mero lagani



पछिल्ला केही वर्षयता नेपाली राजनीतिमा सबैभन्दा धेरै चर्चा पाएको विषय हो-युवा नेतृत्व ।

अहिले देशको शासन सत्तामा हालीमुहाली गरिरहेका पुरानो पुस्ताका राजनीतिक नेताहरु भ्रष्ट भए, परिणाममुखी रुपमा काम गर्न सकेनन् भन्ने तर्कका आधारमा ‘युवा नेतृत्व’को कुरा उठ्छ । तर, भ्रष्टाचार, आर्थिक विचलनका घटनाक्रमहरु हेर्ने हो भने युवा नेताहरुको तुलनामा पुरानो पुस्ताका भनिएकाहरु नै ‘तै विसेक’ लाग्छन् ।

र, संगसंगै प्रश्न उठ्छ-युवावयमै भ्रष्टाचार र व्यविचारमा संलग्न रहेको पुस्ताले साँच्चै सत्ताको बागडोर सम्हाल्न पायो भने देशको अवस्था के होला ? यहाँ त्यसबारेमा केही तथ्यगतरुपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

तथ्यहरु हेर्दा के देखिन्छ भने पुरानो पुस्ताको भनिएको राजनीतिक नेतृत्व पार्टी तथा गुट चलाउन कतिपय नीतिगत निर्णयहरुमार्फत अमुक स्वार्थ समुहहरुको हितमा काम गर्छन र कतिपय अवस्थामा भ्रष्ट भनिएका कार्यकर्ताहरुको संरक्षण गर्छन् । तर, युवा नेता भनिएकाहरु सोझै दलाली गर्छन्, वार्गेनिङ गर्छन्, आफै असुलीधन्दा चलाउँछन् । त्यसको लागि आवश्यकताअनुसार अपराधिक गिरोह पनि संचालन गर्छन् ।

अहिले सत्ताको वागडोर सम्हालिरहेका र उमेरले साढे सात दशक टेकेका एमाले अध्यक्ष केपी ओली र एमालेका युवा भनिएका नेताहरुको तुलना गरौं । ओलीमाथि गिरिवन्धु टि स्टेट लगायतका प्रकरणहरुमा नीतिगतरुपमा बदमासी गरेको भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर, उनी सोझै कुनै पनि व्यक्ति वा समुहसँग वार्गेनिङ गरेर असुली धन्दामा लागेको पाइदैन, सुनिएको छैन ।

जबकी सक्षम भनिएको दोस्रो, तेस्रो पुस्ताका ‘युवा नेताहरु’का अनेकौं काण्डहरु दिनहुँ सार्वजनिक हुने गरेका छन् । जस्तोकी अहिले चर्चामा रहेका अपदस्त मन्त्री राजकुमार गुप्ता हुन् कि मन्त्री बलराम अधिकारी, दुवै एमालेका ‘दोस्रो पुस्ताका नेता’ हुन् । उमेरले ६ दशकको पेरिफेरीमा रहे पनि आफूभन्दा अघिल्लो पुस्तासमेत राजनीतिमा रहेकै कारण उनीहरु आफूलाई युवा नेता ठान्ने गर्छन् ।
भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका एमाले सचिव टोपबहादुर रायमाझी मात्रै होइन, ७० करोड वार्गेनिङ काण्डमा मुछिएका गोकुल वास्कोटा, कोरोना खोप आयात प्रकरणमा मुछिएका भानुभक्त ढकाल, यौन अपराधमा संलग्न भएको आरोप झेल्दै आएका महेश बस्नेत र ऐन महर आदी इत्यादी । गाउं, जिल्ला र प्रदेश तहसम्मको सूची बनाउने हो भने त आर्थिक र यौन अपराधमा लम्पट भएका एमालेका ‘युवा नेता’हरुको सूची निकै लामो हुन्छ ।

नेपाली कांग्रेसको अवस्था त त्यो भन्दा पनि बढी छ । आठ दशक उमेर पुगेकोले राजनीतिको उत्तरार्धमा रहेका शेरबहादुर देउवा नेपाली राजनीतिका केही बिषयमा बदनाम पात्र मानिन्छन् । तर, नेपाली कांग्रेसमा धेरै युवा नेताहरु यस्ता छन्—जो भ्रष्टाचार र अपराधको दुनियाँमा देउवाका पनि ‘दाई’ छन् । उमेरले नेटो काटे पनि कांग्रेस पार्टी पङितमा दोस्रो पुस्ताका अब्बल नेता मानिने बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त हुन्, जो धरौटीमा रिहा भएका छन् । इटाभट्टामा मान्छे जलाएका मोहम्मद आफ्ताव आलमदेखि टेलिकम घोटालामा संसदबाट निलम्बित मोहनबहादुर बस्नेत, सहकारी ठगी प्रकरणमा मुछिएका उपसभापति धनराज गुरुङ आदी इत्यादी ।

त्यतिमात्र होइन देउवाको पहिलो र दोस्रो प्रधानमन्त्रीकालमा भएका सांसद खरिद विक्री, सुरा सुन्दरी काण्ड, पजेरो प्रा.डो काण्ड लगायतका अनेक काण्डहरुका मुख्य पात्रहरु शरत सिंह भण्डारी, खुमबहादुर खड्का, लगायतका त्यतिबेलाका युवा नेताहरु नै थिए । स्वंय देउवा पनि त्यति बेला वृद्ध भैसकेका थिएनन् र पार्टी भित्र गिरिजा प्रसाद कोइरालाहरुको विरुद्ध ‘युवा नेतृत्व’को लागि आवाज उठाइरहेका थिए । समयक्रममा भ्रष्टाचारको आरोपमा जेलसमेत गएका चिरन्जिवी वाग्ले, विजय गच्छेदार, जयप्रकाश गुप्ता गोविन्दराज जोशी, तारणीदत्त चटौतहरु पनि युवावयमै काण्डहरुमा संलग्न भैसकेका थिए । स्वंय शेरबहादुर देउवा आफै पनि वृद्धावस्थामा प्रवेश गर्नु अघि नै काण्डहरुमा डुबिसकेका थिए ।

कांग्रेस र एमालेका ‘युवाहरुले बसालेको ट्रेण्ड’लाई माओवादीसहितका अन्य दलका युवाहरुले पनि पछ्याएका छन् । सुनकाण्डदेखि ई सिगरेट (भेपकाण्ड) सम्ममा कृष्णबहादुर महराका बाबुछोराहरु मात्र होइन, अध्यक्ष प्रचण्डलाई बुढो भएको भन्दै युवालाई नेतृत्व हस्तान्तरको लागि दवाव दिइरहेका जनार्दन शर्मा, शक्ति बस्नेत, उपाध्यक्ष तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमरकट्टेल, लुम्बिनी प्रदेका पूर्व मुख्यमन्त्री कुलबहादुर केसीसम्म अनेक काण्डहरुमा मुछिएका छन् । उनीहरु मात्र होइन, उनीहरुका परिवारका कतिपय ‘युवा सदस्यहरु’ पनि अनेकौं काण्डहरुमा चुर्लुम्म डुबेका छन् ।

एमाले फुटेर बनेको एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफै यतिबेला पतन्जली जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि सांसद पदबाट निलम्बनमा छन् । उक्त पार्टीका युवा नेता तथा सुदूर पश्चिमका पूर्व मुख्यमन्त्री दीर्घ सोडारी पनि भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । उक्त पार्टीका युवा नेता दीपक गौतम, धनबहादुर बुढाहरु पनि अनेकौं काण्डमा मुछिएका छन् ।

मधेशवादी दलका नेताहरुको त झन कुरै गर्नु परेन । जनमत पार्टीका सिके रावत, जनमुक्ति पार्टीका रेशम चौधरी र उनकी पत्नी समेत रहेकी पार्टी अध्यक्ष रंजिता श्रेष्ठलगायतका अनेकौं नेताहरु सिलसिलेवार रुपमा भ्रष्टाचारको मुद्दाका अभियुक्त हुन् ।

युवा नेताले भरिभराउ रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आफै सहकारी ठगी प्रकरणमा जेलमा छन् । पार्टी उपाध्यक्ष डिपी अर्याल, सहमहामन्त्री विपीन आचार्यलगायतका अनेकौं नेताहरु भ्रष्टाचार र ठगीका अनेकौं काण्डहरुमा परिरहेका छन् ।

यी त केही उदाहरण मात्र हुन् ।

टोल सुधार समितिदेखि विद्यालय व्यवस्थापन समिति, वडा कार्यालयदेखि सिंहदरबारसम्म हुने गरेका भ्रष्टाचारका काण्डहरु र तिनमा संलग्न पात्रहरु स्मरण गर्ने हो भने ‘युवा नेता’हरुको भ्रष्ट मनोवृत्तिलाई छर्लंग बुझ्न सकिन्छ । यो तथ्यलाई महसुस गर्दै युवालाई नेतृत्व होइन कि भ्रष्टाचारीलाई कारवाही र इमान्दारलाई नेतृत्वको नारा शसक्तरुपमा उठाउनु जरुरी छ । र, त्यसको लागि विशेष अभियान संचालन गर्न जरुरी भैसकेको छ । अन्यथा युवा नेताहरु सत्तामा पुग्दैमा अवस्था सुधार हुँदैन भन्नेमा बहस गरिरहनु उपयुक्त नहोला । अनि देशको भविश्य कहाँ पुग्ला ? शायद आजको दिनमा कसैसंग पनि यो प्रश्नको जवाफ छैन ।

 

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।