बाढीले क्षति पुर्याएकाे रसुवागढी हाइड्रोपावर कहिले आउला सञ्चालनमा?

Jul 19, 2025 06:20 PM merolagani



हरिप्रसाद शर्मा

गत वर्षको बाढीका कारण बिपी राजमार्गको २५ किलोमिटर सडक क्षतविक्षत नै बनेको थियो । बिपी राजमार्गमा बाढी आएको एक वर्ष नबित्दै पुनः त्यसैगरी १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनालाई बाढीले तहसनहस नै बनाएको छ ।

असार अन्तिम साता चीनको तिव्वती हिमताल फुटेर आएको बाढीले सञ्चालनमा रहेको उक्त जलविद्युत् आयोजनामा ठूलो क्षति पुग्यो । हाइड्रोपावरको हेडवक्स संरचना नै बाढीले बगाउँदा विद्युत् उत्पादन बन्द भएको छ ।

हेडवक्स मात्र होइन, त्यहाँसम्म पुग्ने एक्सेस रोड र अन्य संरचनामा क्षति पुगेको छ । हेडवक्ससम्म पुग्ने पहुँच मार्ग नहुँदा पुननिर्माण सुरु हुन सकेको छैन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, जलविद्युत् आयोजना पुननिर्माणका लागि साइटमा पस्न पनि पहुँचमार्गको नाम निशाना नभएको हो । प्रथमत एक्सेस रोड निर्माण गरेपछि मात्र अन्य पुननिर्माणको काम अघि बढ्ने प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।

उनका अनुसार, आयोजना पुननिर्माण सुरु गर्न पनि अझ केही दिन लाग्नेछ । हेडवक्स, एक्सेस रोड र अन्य संरचनामा बाढी पस्दा आयोजनाले ठूलाे क्षति ब्यहोर्नुपर्ने अवस्था आएको ढकालले बताए ।

हालसम्म प्राधिकरणले यकिन क्षतिको विवरण सार्वजनिक नगरे पनि ढकालका अनुसार रसुवागढी हाइड्रोपावर पुननिर्माण गर्न लामाे समय लाग्ने बताए ।

‘रसुवागढी हाइड्रोपावरमा क्षति भएको छ । हेडवक्सको संरचना नै छैन् । त्यो संरचना स्थायी रुपले बनाउन लामाे समय लाग्ने देखिन्छ,’ उनले मेरो लगानीलाई बताए । गत आबदेखि विद्युतकाे व्यवसायीक उत्पादन सुरु गरेको उक्त आयोजनालाई बाढीले यसपाली नराम्रोसँग क्षति पुर्याएको छ ।

रसुवागढीसँगै बाढीका कारण अन्य केही आयोजनाहरु समेत समस्यामा परेका छन् । रसुवागढीमात्रै होइन, बाढीले क्षति गरेको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको पुननिर्माण गर्न केही महिना लाग्ने देखिन्छ ।

हालैको बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए, २१ मेगावाटको त्रिशुली जलविद्युत् केन्द्र, १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र, १४.३ मेगावाटको अपर मैलुङ जलविद्युत आयोजना, ११ मेगावाटको सुर्यकुण्ड जलविद्युत् आयोजना र ५ मेगावाटको बुद्धभूमि जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको थियो ।

कतिपय जलविद्युत आयोजना पुननिर्माण गरी छिट्टै सुचारु गरिने र कतिपयको पुननिर्माण गर्न नै केही महिना लाग्ने प्राधिकरणको दाबी छ । बाढीका कारण २६० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको थियो ।

त्यस्तै, बाढीले त्रिशुली ३ बी हव सवस्टेशनमा समेत क्षति पुर्याएको थियो । क्षतिग्रस्त सवस्टेशनको पुननिर्माण केही दिनभित्र सुरु हुने प्राधिकरणको भनाइ छ । क्षति भएका आयोजनाहरुमध्ये चिलिमे, त्रिशुली, देवीघाट, सुर्यकुण्ड र बुद्धभूमिलगायतका ९० मेगावाटका आयोजनाहरु पुननिर्माण भइ सञ्चालनमा आएका छन् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।