सेबोनबाट हमाल हटेपछि प्रिमियममा आइपीओ निष्काशन ठप्प, १२ कम्पनी पाइपलाइनमै

Jul 20, 2025 10:27 AM MeroLagani



नेपाल धितोपत्र बोर्डमा रमेश हमालको कार्यकाल सकेपछि करिब १ वर्ष कायम मुकायम अध्यक्षबाट चलेको सर्वविदितै छ । हमालको कार्यकालमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले आइपीओ निष्काशन गर्ने अनुमति पायो भने रिलायन्स स्पिनिङ मिल्सले समेत सोही विधिबाट आइपीओ निष्काशन गर्ने अनुमति पायो।

तर रिलायन्सको हकमा अहिलेसम्म योग्य संस्थापक लगानीकर्ताले शेयर पाए पनि वैदेशिक रोजगारमा गएका कामदार र सर्वसाधारणले भने सो शेयर भर्न पाएका छैनन् ।

त्यस्तै हमालको समयमा धेरै कम्पनीले प्रिमियममा शेयर निष्काशन गर्ने अनुमति पाए पछि, उत्पादनमूलक क्षेत्रका धेरै कम्पनीहरूले पनि आइपीओ निष्काशनमा चासो देखाएर धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सेबोनको पाइपलाइनमा अहिले एउटा विकास बैंक, ३४ वटा जलविद्युत कम्पनी, ३ वटा लगानी समूहका कम्पनी, १९ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, ३ वटा लघु बीमा कम्पनी र ९ वटा अन्य समूहका गरी ७३ वटा कम्पनी छन् । ७३ वटा कम्पनीले ३७ करोड १४ लाख १३ हजार ३८३ कित्ता बराबरको ५३ अर्ब ८४ करोड २४ लाख ९२ हजार ६६१ रुपैयाँ संकलन गर्ने गरी आवेदन दिएका छन् । आवेदन दिएका ७३ कम्पनीमध्ये एक दर्जन कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्ने गरी आवेदन दिएका छन् ।

सेबोनमा नयाँ अध्यक्ष भएर सन्तोषनारायण श्रेष्ठ आएको ७ महिनाभन्दा बढी भइसकेको छ । उनले अहिलेसम्म हिमालयन बैंकको एफपीओ मात्रै प्रिमियममा निष्काशन गर्न स्वीकृति दिएका छन् । गत आवमा आइपीओ निष्काशनको लागि स्वीकृति पाएका १५ वटा कम्पनीमध्ये १४ कम्पनीको स्वीकृति नयाँ अध्यक्ष श्रेष्ठ आएपछि नै दिइएको हो । सबै कम्पनीले अंकित मूल्यमै आइपीओ निष्काशन गर्ने अनुमति पाएका छन् । संसदको सार्वजनिक लेखा समितिले प्रिमियममा आइपीओ निष्काशन गर्न निरुत्साहित तथा ९० रुपैयाँभन्दा कम नेटवर्थको कम्पनीलाई आइपीओ निष्काशन गर्न नदिन दिएको निर्देशनलाई अहिलेसम्म धितोपत्र बोर्डले अक्षरशः पालना गर्दै आएको छ । अझ अध्यक्ष श्रेष्ठले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरु सेबोनको आइपीओ पाइपलाइनको सूचीबाटै हटाएका छन् ।

लेखा समितिले प्रिमियममा भन्दा बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न प्रोत्साहन गर्न निर्देशन दिए पनि रिलायन्स स्पिनिङको आइपीओ विगत डेढ वर्षदेखि विभिन्न बहानामा रोक्का रहे पछि कुनै पनि कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न चाहेका छैनन् । पूर्व अध्यक्ष हमालले धमाधम प्रिमियम मूल्यमा समेत आइपीओ निष्काशन गर्न स्वीकृति दिएपछि अहिले सेबोनको पाइपलाइनमा १२ वटाभन्दा बढी कम्पनी प्रिमियममा शेयर निष्काशनको अनुमति कुरेर बसेका छन् तर अध्यक्ष श्रेष्ठले भने प्रिमियममा शेयर निष्काशन गर्न अनुमति मागेका कुनै पनि कम्पनीको आइपीओ स्वीकृति दिएका छैनन् ।

केही दिन अगाडि अर्थ समितिको बैठकमा अध्यक्ष श्रेष्ठ वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजी बजारमा आउन प्रोत्साहन गर्नको लागि प्रिमियम खोज्ने जिकिर गरे पनि लेखा समितिको कारण अहिले सबै आवेदन होल्डमा रहेको बताएका थिए ।

कुन कुन कम्पनीले प्रिमियममा शेयर निष्काशन गर्दैछन् ?

सेबोनका अनुसार हाइड्रोपावर समूहका २, लगानी समूहकाे १, उत्पादन तथा प्रशोधन समूहको ६ र अन्य समूहका ३ गरी १२ वटा कम्पनीले प्रिमियमा शेयर निष्काशन गर्न आवेदन दिएका छन् । हमाल अध्यक्षबाट हटेदेखि अहिलेसम्म प्रिमियमको आवेदनमा कुनै कारवाही अगाडि नबढेको सेबोनको एक उच्च अधिकारीले बताए ।

हाइड्रोपावर समूहबाट सेन्चुरी इनर्जी लिमिटेड र नुम्बर हिमालय हाइड्रोपावरले प्रिमियमका शेयर निष्काशन गर्न आवेदन दिएका छन् । सेन्चुरी इनर्जीले २७५ रुपैयाँ ११ पैसामा ३ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको छ भने नुम्बुर हिमालय हाइड्रोपावरले २१८ रुपैयाँमा ३० लाख ६ हजार २०२ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ ।

त्यस्तै, लगानी समूहबाट शिवम सिमेन्टको माउ कम्पनी शिवम होल्डिङ्स लिमिटेडले २१० रुपैयाँमा १ करोड १६ लाख कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको छ ।

उत्पादन तथा प्रशोधन समूहतर्फ प्रायः सिमेन्ट र स्टिल उद्योगका कम्पनीहरुले प्रिमियममा शेयर निष्काशन गर्न अनुमति मागेका छन् । जगदम्बा स्टिल्स लिमिटेडले ३०० रुपैयाँमा २ करोड ७० कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ भने साैर्य सिमेन्ट इन्डष्ट्रिजले २६४ रुपैयाँ ५१ पैसामा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ। यता मारुती सिमेन्ट लिमिटेडले ३७७ रुपैयाँमा १ करोड १६ लाख कित्ता, रिद्धिसिद्धि सिमेन्टले २१४ रुपैयाँ १० पैसामा १ करोड २१ लाख ७१ हजार ५०० कित्ता शेयर निष्काशन गर्न निवेदन दिएको छ । अम्बे स्टिल्सले ३०३ रुपैयाँमा १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ भने हुलास इन्फ्रा लिमिटेडले ३३३ रुपैयाँ ५६ पैसामा ३५ लाख ४७ हजार १८८ कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको छ ।

यता अन्यतर्फ हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी (हाम्स हस्पिटल) ले २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता र कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेडले ३२७ रुपैयाँमा ३ लाख ५० हजार कित्ता तथा छायाँदेवी कम्प्लेक्स लिमिटेडले ४०० रुपैयाँमा १४ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।