यी कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक रुपमा सबैले हेर्न सक्ने हुँदा हरेक कम्पनीले यसलाई प्रतिष्ठाको विषय समेत बनाएका हुन्छन्। कम्पनीको प्रतिष्ठासँगै प्रत्यक्ष जोडिएको हुन्छन् कम्पनीमा रहेको सिइओदेखि सहयोगीसम्म विभिन्न तहको कर्मचारीहरु।
हाल पुरानो आर्थिक वर्षको क्लोजिङको काम सकाएर थकित शरीर र रुन्चे अनुहारमा सकी नसकी आफ्नो कार्यालय जाने ड्रेस लगाएर कार्यालय जाने बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको कर्मचारीमा कम्पनीको आफ्नो नाफाबाट बोनस नियम अनुसार कम्पनीको क्षमता अनुसार १ देखि ३ महिनासम्मको तलब बाराबरको अग्रीम बोनसको म्यासेजले मोबाइलको घन्टी बज्न थालेको छ। योसँगै रुन्चे अनुहारमा एकाएक चमक आउन थालेको छ। सँगसँगै काम गर्ने साथीभाइको बोनस कति कति आयो? भन्ने चियो चर्चा समेत हुन थालेको छ र बोनस आउन बाँकी कम्पनीको कर्मचारीहरुको हकमा भने बोनस कहिले आउछ होला? भनेर हेड अफिस तिरको साथीभाइ, सर म्याडमहरुलाई सोध्ने र कति आउला? भनेर अनुमान गर्ने क्रम बढेको छ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा श्रावणको पहिलो हप्ता अग्रीम कर्मचारी बोनस, कम्पनीको नियम अनुसार कार्यालय आउँदा जाँदा लगाउने ड्रेसको पैसा, तलब वृद्धि, तलब वृद्धि नभए पनि ग्रेड वृद्धिको थप पैसा, पोहोर सालदेखि इलिजिबल भएरपनि पेन्डिङ भएकोहरुको प्रोमसन,घटस्थापनाभन्दा १५ दिन अगाडि एक महिनाको तलब बराबर दशैँ बोनस, कम्पनीको वार्षिक साधरण सभा पश्चात फेरि आफ्नो कम्पनीको हैसियत अनुसारको कर्मचारीको बाँकी ३ महिनाको तलब बाराबरसम्मको बोनस, कम्पनी अनुसारको विभिन्न बिदा सुविधा, ७ देखि १५ दिन सम्मको फोर्स लिभ (जसमा कम्पनीको नियम अनुसार आधा देखि १ महिनाको तलब बराबरको फोर्स लिभ अलाउन्स), बिरामी भए सम्पूर्ण परिवारको उपचार खर्चको मेडिकल क्लेम, जगेडा बिदा बापत आफ्नो तलबमान अनुसारको थप पैसा, अतिरिक्त समय काम गरे बापतको ओभर टाईम, पद अनुसार घर तथा गाडी सुविधा, ओभर ड्राफ्ट तथा टर्म लोनको सुबिधा (कम्पनीको नियम अनुसार) र विभिन्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमले गर्दा अन्य क्षेत्रको मानिसहरु साथै नयाँ पुस्ता समेत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु प्रति आकर्षित बनिरहेका छन्।
सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका कर्मचारीहरुको कार्यशैली मेलमिलाप सहित एक अर्का बीच सिक्दै सिकाउँदै रमाइलो गर्दै जाडोमा हिटर र गर्मीमा एसि सुबिधा सहित चिटिक्कको ड्रेस, कार्यालयमा काम गर्ने सहयोगी, बाहिरबाट आउनेलाई पूर्ण सुरक्षा जाँच पछि टाईम लिएर मात्र भेट्न पाउने वातावरणसँगै क्लोजिङमा हुने पार्टीहरु, विभिन्न रेफ्रेश्मेन्ट कार्यक्रमहरु तथा मिटिङ्हरुमा हुने खानपिन सहितको रमाइलोले गर्दा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको जागिर कुनै एक उत्सव भन्दा कम छैन।
यस वर्षको प्रगतिमा शेयरहोल्डरलाई खासै डिभिडेन्ड दिन नसक्ने कन्फर्म भएपछि खासै सन्तुष्ट नभएको बोर्डले सिईओलाई असारमा नै अब आउने वर्षको टार्गेट थमाइ दिइसकेको थियो। असार मसान्त अगाडि नै विभिन्न डिपार्ट्मेन्ट तथा ब्रान्च म्यानेजरहरुलाई बोलाएर छलफल गरे जस्तो गरी विभिन्न लोभ देखाएर कुनै हालतमा पुरा गर्न नसक्ने टार्गेटलाई मन नलागी नलागी हस् भन्ने विकल्पमा टाउको हल्लाएर त्यहिँबाट निस्कदै प्रेसर बढाएर हिंड्नुको विकल्प थिएन। अब बोनसको घन्टी बज्ने बित्तिकै सबै ब्रान्चको टार्गेट आइसक्छ र त्यो टार्गेट ब्रान्चको सबैमा पर्न जान्छ, विशेष गरी टार्गेटको जिम्मा ब्रान्च म्यानेजरको हुन्छ। यो वर्ष तलब बढ्ने आशालाई बढ्दै गरेको एनपिएलले चुनौती दियो रे भन्ने खबर आउछ। प्रोमसनको लिस्टमा परेको मस्ट इलिजिबल स्टाफको प्रोमोसन नभएर कोही भनसुन गर्न सक्नेको प्रोमोसन भएको रिसमा अर्को स्टाफले जागिर नै छोड्छ। यो खाली स्थानमा एचआरलाई नयाँ कर्माचारी पठाउन अनुरोध गर्दा तपाईंको ब्रान्चको कारोबार बढेको छैन त्यहिँ भएको स्टाफबाट म्यानेज गर्नु भन्ने जवाफले म्यानेजरको प्रेसर बढेर हस्पिटल जानु पर्नेछ साथै अरु कर्मचारीको समेत घर जाने समय धेरै ढिला हुन थाल्नेछ।
उता कार्यलयबाट आएको तलबले बढ्दै गरेको महंगी, बाबु-आमाको औषधि उपचार, घरभाडा र केटा-केटीको स्कुल फी बल्ल तल्ल पुग्छ। तर आफ्नो घर परिवार छोरा-छोरी बिरामी हुँदा समेत घर बस्न हाकिमले बिदा स्विकृत नगर्ने, आफै बिरामी हुँदा समेत कार्यलयमा जानु पर्ने बध्यता त छँदैछ। यति हुँदा हुँदै पनि श्रीमान-श्रीमती घर परिवारको आकङ्क्षा पुरा गर्न नसकेको पीडा कसैगरी नि उल्लेख गर्न नसकिने किसिमको छ। अझै कामको सिल्सिलामा घरबाहिर हुने सरुवा तथा आफ्नो घर बाहिर बस्नेको पीडा त झन विदेश जानेको भन्दा चर्को छ। चाडबाडमा समेत घर जान नमिल्ने (जाँदा पनि हत्तार मात्र), कोही इस्टमित्र भेट नहुने, कसैकोमा केहि कार्यक्रम पर्यो भने समेत जान नभ्याइने, घर परिवार, श्रीमान-श्रीमती छोरा-छोरीसँग समेत भेट हुन लामो समय कुर्न पर्ने अवस्था छ। आफै बिरामी हुँदा तातोपानी तताएर औषधि दिने मान्छे समेत नहुँदा जीवनदेखि बिरक्त लागेर यस्तै अवस्थाले गर्दा कतिपय कर्मचारीले त जागिर नै छडेर विदेश समेत गइरहेको छन्। घर परिवारलाई दिनुपर्ने समय समेत छैन। यसो बिहान बेलुका म्यासेन्जर तथा फोनकल गरेर आफु व्यस्त भएको जानकारी घरपरिवारलाई गराउनु भन्दा बढी गफ गर्न, थकाइ र समयले समेत दिँदैन। घर जाने फुर्सद नै नहुने हुँदा कतिको त घर बाहिर नै छुट्टै तथा कार्यालयको सहकर्मी बीच नै अन्तरसम्बन्ध समेत स्थापित भइ झन अफ्ट्यारो अवस्था आएको छ।
विवाहित महिला कर्मचारीको पीडा त झन दोब्बर छ। हिजोको थकाइ नमर्दै बिहानको आलर्म बझ्नासाथ मन नलागी नालागी उठेर सम्पूर्ण घरको काम गरी छोरा-छोरीलाई टिफिन बनाएर स्कुलको बससम्म छोडी हतार हतार गरेर हस्याङफस्याङ खाना खाइ अफिस जाँदा समेत एचआरबाट तपाईँ ढिला हुनुभयो भन्ने जानकारी सहितको इमेल आउँदा रिसको पारो चढेर ज्वरो नै आउँदछ। सुत्केरी महिला कर्मचारीले झन दुई महिनाको दुधे बच्चा छोडेर कार्यालय गएपछि घर फर्कने टुँगो समेत हुँदैन। उपल्लो तहको कर्मचारीको त झन दैनिक टेन्सन बढेर सुगर, प्रेसर, बढ्ने, निद्रा नलाग्ने समस्याले गर्दा औषधि तथा केहिलाई अल्कोहल समेत नियमित चाहिने अवस्था बनेको छ। माथिल्लो तहको इमेल, फोनकल र सँधै भइरहने रिभ्यु मिटिङ, क्लाईन्ट खोज्दा खोज्दाको हैरानी, उपल्लो तहको सर म्याडमलाई कन्भिन्स गराउनु पर्ने पीडा, लोन लगे पछि खोज्नु पर्ने कस्टुमर, चुलिदै गरेको एनपिएल, पावर देखाउदै आउने कस्टुमर, विभिन्न नियमले पैसा हुँदा पनि लगानी गर्न नपाउने बध्यता, विभिन्न नीति नियम र सर्कुलरले गरेको चेन्ज तुरुन्तै अपडेट गर्नु पर्ने बाध्यता, काम गर्दा गर्दै नियमनकारी निकाय, आन्तरिक र बाह्य लेखापरिक्षक समेत झेल्न पर्ने बाध्यताको अतिरिक्त हाल ढाड दुख्ने, नशा च्यापिने, भिटमिन डिको कमी, माँशपेसी कमजोर हुने जस्ता स्वास्थ्य समस्याले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीलाई अधिक पीडा दिएको छ।
(कुँवर सिए हुन् )