मनसुन थप सक्रिय हुँदै, वर्षाका कारण ६ वटा मुख्य राजमार्गका सडकखण्ड अवरुद्ध

Jul 20, 2025 12:31 PM merolagani



पछिल्ला दिनमा वर्षा हुने क्रम बढ्न थालेको छ । पश्चिम नेपालका जिल्लामा शनिबारदेखि नै मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भइरहेको छ ।

सडक विभागका अनुसार हालसम्म ६ वटा मुख्य राजमार्ग तथा सडक खण्डमा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आइतबारसम्म देशभर ८ स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन छन् । अरनिको, मेची, कोशी राजमार्गलगायतका सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । विभागले अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरे पनि निरन्तरको वर्षा र खोलाको बढ्दो बहावले काममा कठिनाइ भइरहेको जनाएको छ ।

आइतबार अरनिको राजमार्गअन्तर्गत दोलालघाट–खाडीचौर–कोदारी सडकअन्तर्गत सिन्धुपाल्चोकको जुरेमा बिहानै पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा सडक खण्डअन्तर्गत हेवा खोलामा पूर्ण रूपमा अवरुद्ध बनेको छ । खोलाको बहाव घटेपछि मेशिन प्रयोग गरेर डाइभर्सन मर्मत गरिने जनाइएको छ ।

भेडेटार रवि राँके सडक धनकुटामा उपकरण तैनाथ गरी सडक खुलाउने प्रयास भएको जनाइएको छ । तानसेन–सिडी–कोरला सडक अन्तर्गत मुस्ताङको भेना गाउँमा लेदोसहितको पहिरो आएको र ब्याकहोइ मेशिन परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

यस्तै कोशी राजमार्गको तुम्लिङटार–खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत सङ्खुवासभाको देउरालीमा पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ पनि एक्स्काभेटर प्रयोग गरी बाटो खुलाउने काम भइरहेको छ ।

साथै शहिदमार्गको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङलुकुम सडक खण्डअन्तर्गत रोल्पामा पानी परिरहेको र लेदोसहितको माटो आएकाले पानी रोकिएपछि कार्य सञ्चालन गर्ने साथै लेदो पन्छाउन केही समय लाग्ने  सडक विभागले जनाएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।