केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी)का अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २०१ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष जम्मा पाँच अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर उठेको थियो। जुन अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षको उठ्थी तीन गुणा बढी हो। यस भन्दा अघि आर्थिक वर्ष २०७७/७८ मा सरकारले १४ अर्ब १३ करोड लाभकर पाएर रेकर्ड बनाएकाे थियो। जुन रेकर्ड गत आर्थिक वर्षको उठ्तिले तोडेको हो।

गत आर्थिक वर्ष साउन महिनामा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पूँजीगत लाभकर सङ्कलन भएको थियो भने सबैभन्दा कम पुसमा ५८ करोड ३० लाख रुपैयाँ मात्रै सङ्कलन भएको थियो।
यस भन्दा अघिको रेकर्ड बन्दा शेयर बजार मापक सूचक सबैभन्दा माथिल्लो बिन्दुमा पुगेको थियो। त्यस वर्ष बजारले करिब ३२ सय अंक छोएको थियो। तर त्यसयता बजारले उक्त अंक छुन सकेको छैन। तर लाभकर उठ्तिमा भने रेकर्ड ब्रेक भइसकेको छ।
गत वर्ष सर्वाधिक रकमको कारोबार भएको कारणले पनि पूँजीगत लाभकर सङ्कलनमा रेकर्ड बनेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)को भनाई छ। नेप्सेका अनुसार आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार हुने कारोबारमा ऐतिहासिक रेकर्ड कायम भयो। बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भए।
नेप्सेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भयो। आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा कारोबार रकम १८९.२३ प्रतिशतले बढी हो। यस अघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार भएको थियो। सोही वर्ष लाभकर उठ्थीले पनि रेकर्ड कायम गरेको थियो।
गत आर्थिक वर्ष कारोबार रकम र पूँजीगत लाभकर उठ्थी सबैले रेकर्ड ब्रेक गरिसकेका छन्। उता बजार पूँजीकरणले पनि रेकर्ड ब्रेक गरिसकेको छ। तर शेयर कारोबार मापक सूचकले भने अझैसम्म रेकर्ड ब्रेक गर्न सकेको छैन। सूचकले अझै पनि २९ सय अंक पार गर्न सङ्घर्ष गरिरहेको छ।
तर जसरी कारोबार रकममा गत आर्थिक वर्ष भरिनै उत्साह देखियो चालु आर्थिक वर्ष लागे यता कारोबार रकम उल्लेख्य बढ्न थालेको छ। बढ्दै गएको कारोबार रकमले सूचकलाई पनि बिस्तारै माथि धकेल्दै लगिरहेको छ। त्यस आधारमा पनि यस आर्थिक वर्षमा सूचकले पनि रेकर्ड ब्रेक गर्ने अनुमान गर्न थालिएको छ। खासगरि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले नेपालको शेयर बजारलाई डोर्याउने गरेको छ। यस आर्थिक वर्षको लागि केन्द्रीय बैंकले नीति सार्वजनिक गरिसकेको छ। जसमा बजार मैत्री नीति आएको भनेर लगानीकर्ताले तारिफ गरेका छन्। यता ब्याजदर घट्दै जानु र यता व्यक्तिगत १५ करोडको सीमा बढेर २५ करोड पुग्नुले पनि शेयर बजारमा थप पैसा आउने आंकलन गरिएको छ। त्यसले गर्दा पनि यस पटक सूचकले पनि रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको हो।
सरकारले शेयर कारोबारबाट आएको मुनाफामा पूँजीगत लाभकर असुल गर्ने गर्छ। अल्पकालीन लगानीकर्ताले साढे ७ प्रतिशत लाभकर बुझाउनु पर्छ भने दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत मात्रै कर बुझाए पुग्छ। उता संस्थागत लगानीकर्ताले भने १० प्रतिशत कर तिर्नु पर्छ। संस्थागत लगानीकर्ताले तिर्ने लाभकर भने अग्रिम कर हो। उनीहरूले वर्षको अन्तिममा नाफा घाटा मिलान गर्न पाउँछन्। एक वर्ष भन्दा कम अवधिमा नाफा गर्नेलाई सरकारले अल्पकालीन लगानीकर्ताको रुपमा लिने गर्छ भने एक वर्ष भन्दा बढी अवधिको लाभलाई दीर्घकालीन लाभको रुपमा लिने गर्छ।