एउटा प्रश्नको जवाफ दिन १५ चम्चा पानी खर्च गर्दै एआई, एआईको कारण खानेपानीको अभाव बढेपछि अमेरिकासहित कैयौं देशमा प्रदर्शन

Jul 27, 2025 03:03 PM mero lagani



कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिशियल इन्टेलिजेन्स (एआई)को प्रयोग विश्वव्यापी रुपमा तीब्र गतिमा बढिरहेको छ । तर, खानेपानीको बढ्दो संकटलाई लिएर सँगसँगै चिन्ता पनि थपिदिएको छ ।

विश्वको करिब ७ अर्ब जनसंख्या मध्ये अहिले करिब आधा जनसंख्याले खानेपानीको अभाव झेलिरहेको संयुक्त राष्ट्र संघको तथ्याँक छ । जलवायु परिवर्तनलगायतका कारणहरुले त्यो समस्या अझै चर्कने अनुमान गरिरहेकै बेला एआईको बढ्दो प्रयोगले स्थिति विकराल हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानका अनुसार च्याट जीपीटीले एउटा प्रश्नको जबाफ दिन १५ चम्चा पानी खर्च गर्छ ।

एआईले दिने जबाफमा कति पानी खर्च हुन्छ भन्ने कुरा प्रश्न कस्तो प्रकारको छ, जबाफ कति लामो छ र कहाँबाट खोजेर तयार गरिन्छ अनि कसरी हिसाब गरिन्छ भन्नेमा निर्भर रहने अमेरिकी अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

ओपन एआईका अनुसार च्याट जीपीटीले हरेक दिन एक अर्ब प्रश्नहरूको जबाफ दिन्छ । यस्ता एआई च्याट बोटहरूहरुले अहिले दर्जनौं छन् । च्याट जिपिटीको मात्रै कुरा गर्ने हो भने दैनिक एक अर्ब प्रश्नको जवाफ दिन उसले दैनिक १५ अर्ब चम्चा पानी खर्च गर्छ ।

अमेरिकी अध्ययनका अनुसार सन् २०२७ सम्म एआई उद्योगले खर्च गर्ने पानी प्रत्येक वर्ष चारदेखि छ गुणाले बढ्दै जान्छ । त्यो पानी वार्षिकरुपमा डेनमार्कलगायतका देशहरुले प्रयोग गर्ने भन्दा बढी हुन्छ ।

‘हामीले जति धेरै एआई प्रयोग गर्छौँ उति धेरै पानी खपत गर्छौं,’ अध्ययनका लेकहरूमध्येका एक क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक शाओले रेन भन्छन् ।

निबन्ध लेख्ने देखि डीपफेक बनाउनेजस्ता अनलाइन गतिविधिका लागि डेटा सेन्टरमा कम्प्युटर सर्भरका ठूला दराजहरू राखिएका हुन्छन्। कतिपय यस्ता दराजहरु अर्थात् डेटा सेन्टरहरू कैयौँ फुटबल मैदान भन्दा ठूला छन् ।

कम्प्युटरहरूबाट निरन्तर विद्युत् बहने हुँदा यी सर्भरहरू तात्छन् । त्यसलाई तात्न नदिन वा तातिसकेको अवस्थामा चिस्याउन सफा पानीको प्रयोग गरिन्छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का अनुसार च्याट जीपीटीले एउटा प्रश्नको जबाफ दिन गुगल सर्चले एउटा खोजी गर्न भन्दा १० गुणा बढी बिजुली खपत गर्छ । धेरै बिजुली खपत हुँदा ताप पनि ज्यादा हुन्छ अनि चिस्याउने प्रणाली पनि बढी चाहिन्छ । त्यसरी पानीको खपत स्वतः बढ्छ ।

स्पेनको एउटा पर्यावरण सम्बन्धी समूह ‘योर क्लाउड इज ड्राइङ अप माई रिभर’ले डेटा सेन्टर विस्तारविरूद्ध सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन शुरु गरेको छ ।

चरम सुख्खाको समस्या भोगिरहेका चिली र उरुग्वेमा पनि विरोध प्रदर्शन शुरु भएको छ, फलस्वरुप विरोध प्रदर्शन पनि गुगलले आफ्नो डेटा सेन्टर नै सार्ने योजना बनाएको छ ।

संयुक्त राज्य अमेरिकाका एरिजोनालगायतका कैयौं राज्यहरुमा पनि एआईको विरुद्ध प्रदर्शनहरु शुरु भइरहेका छन् ।




अब लगानीकर्ताको बैंक खाता र टिएमएस लिङ्क हुने, बैंक खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था गरिदै

Jul 23, 2025 02:37 PM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको टिएमएसमा बैंक खाता लिङ्क गराउने भएको छ। बैंक खाता र टिएमएस लिङ्क भएपछि लगानीकर्ताको खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था धितोपत्र बोर्डले गर्न लागेको हाे।