६९ लाख डिम्याट खातामा २९ लाख खाता शेयरविहीन, यति विधि डिम्याट खाता खोल्ने लगानीकर्ता कता हराए ?

Jul 30, 2025 06:14 PM merolagani



सुवास निरौला

बुधवारसम्म प्राथमिक निष्कासनमा आवेदन दिन वा दोस्रो बजारमा शेयर कारोबार गर्न भन्दै हितग्राही (डिम्याट)खाता खोल्ने लगानीकर्ताको सङ्ख्या ६९ लाख ३८ हजार ९४३ छ। तर ती सबै खातामा शेयर छैनन्।

अहिलेसम्म खुलेका डिम्याट खाता मध्ये ४२ प्रतिशत खाता रित्तै छन्। जसमा एक कित्ता पनि शेयर छैनन्। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का अनुसार हाल खुलेका कुल खाता मध्ये ४० लाख २१ हजार खाता रित्तै छन्। जुन कुल खाताको ४२.३२ प्रतिशत हो।

जबकि तीन वर्ष अघि यस्तो रित्तो हुने प्रतिशत ३१.६३ प्रतिशत मात्रै थियो। यस अघि १८ फागुन २०७९ मा सिडिएससीले उपलब्ध गराएको तथ्याङ्क अनुसार त्यस बेला ५५ लाख ७३ हजार डिम्याट खाता खुलेका थिए। ती मध्ये १७ लाख ६३ हजार १ सय १३ वटा खाता शेयरविहीन थिए। जुन त्यसबेला खुलेको कुल खाताको ३१.६३ प्रतिशत डिम्याट खातामा एक कित्ता पनि शेयर थिएन।

२०७९ फागुन देखि अहिलेसम्म आइपुग्दा शेयर नहुने खाता ह्वात्तै बढेका छन्। अहिले आएर जति जति डिम्याट खाता खुल्दै गइरहेको छ। त्यति त्यति शेयर नै नहुने खाता बढ्दै गइरहेको छ। केही लाख खातामा शेयर नहुनुले खासै फरक नपार्ने गरेको भएपनि करिब आधा भन्दा बढी खाता रित्तो हुनुले भने अन्योल सिर्जना गरेको छ। भर्खरै डिम्याट खाता खोलिएको छ। तर उसले प्राथमिक वा दोस्रो बजारमा शेयर किनेको छैन भने त्यसलाई सामान्य मान्न सकिन्छ। प्राथमिक शेयर आवेदन दिने सबैलाई शेयर पर्दैन। जसका कारण लामो समयसम्म खातामा शेयर नहुन सक्छ।

अर्कोतर्फ प्राथमिक शेयरमा मात्रै आवेदन दिने र शेयर परे लगत्तै बिक्री गर्नेको पनि खाता रित्तै नै हुन्छ। त्यो विषय पनि जटिल होइन। प्राथमिक निष्कासन नहुँदा पनि धेरै खातामा शेयर नहुने अवस्था कायम नै हुन सक्छ। पछिल्लो समय धितोपत्र बोर्ड झण्डै एक वर्ष अध्यक्ष विहीन हुन पुग्यो। त्यति बेला प्राथमिक निष्कासन शून्य नै हुन पुग्यो। त्यसबेला पनि धेरै लगानीकर्ताको खाता रित्तो नै थियो। त्यसलाई पनि स्वाभाविक रुपमा नै लिनु पर्ने हुन्छ। तर अहिले प्राथमिक निष्कासन भइरहेको छ। लगानीकर्ताले आवेदन दिइरहेका छन्। तर अहिले पनि शेयर नुहुने खाताको सङ्ख्या बढेर झण्डै ४५ प्रतिशतको हाराहारीमा पुग्नुले भने ती लगानीकर्ता कता गए वा हराए भन्ने प्रश्न खडा गरिदिएको छ। धेरै जसो लगानीकर्ताको खातामा शेयर नहुनुमा बढ्दो नेपालीको विदेश पलायनले पनि भूमिका खेलेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ।

“हरेक वर्ष लाखौँको सङ्ख्यामा नेपालीहरू विदेश गइरहेका छन्। कोही काम गर्ने सिलशीलामा विदेश गइरहेका छन् भने कति पढाइको लागि विदेश गइरहेका छन्। विदेश गएकाहरू उतै स्थायी रुपमा नै बसोबास गर्न थालेका छन्। जो स्थायी रुपमा त्यहाँ गए उनीहरूले थप आफ्ना परिवार बोलाउने क्रम बढ्दो छ। जसले गर्दा जो व्यक्ति विदेश गए। तिनले शेयर कारोबार गर्न खोलेका डिम्याट खाता निष्क्रिय हुन पुगेको अनुमान गर्न सकिन्छ,” नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने।

अर्को तर्फ अर्काको नाममा शेयर भर्नेले पनि शेयर परे लगत्तै बिक्री गर्ने गरेका कारण पनि खाता रित्तै हुन पुगेको अनुमान पनि आएको छ। तर उनीहरूले भने नियमित नवीकरण गर्ने गरेका छन्। किनकि नवीकरण नगरे आइपिओमा आवेदन दिन पाइन्न। शेयरविहीन खाता बढ्दै गर्दा खाताको वार्षिक नवीकरण नगर्ने समेत बढ्दै गएको अनुमान गर्न सकिन्छ। शेयर खातामा शेयर रहे नरहेको हेर्न सकिए पनि कतिले नवीकरण गरेका छैनन्। त्यो भने निक्षेप सदस्यले नै हेर्न सक्ने भएकोले उक्त तथ्याङ्क भने सिडिएससी सित नरहेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए।

तर हालै धितोपत्र बोर्डले भने पाँच वर्षदेखि नवीकरण नभएका र खातामा धितोपत्र मौज्जाद नभएका हितग्राही खाता बन्द गर्न सिडिएससीलाई अधिकार दिने कुरा आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। “बोर्डले सिडिएससीलाई विद्यमान व्यवस्थामा परिमार्जन गर्न, पाँच वर्षदेखि नवीकरण नभएका र खातामा धितोपत्र मौज्जाद नभएका हितग्राही खाता बन्द गर्न सक्ने, उक्त खाताहरू बन्द गर्दा नवीकरण शुल्क प्राप्त हुन नसकेमा सो छुट दिने र निक्षेप सदस्यले नवीकरण शुल्क प्राप्त गरेपश्र्चात मात्र केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनुपर्ने दस्तुर वा शुल्क बुझाउने व्यवस्था गरी सम्बन्धित विनियम संशोधनका लागि बोर्डमा पेस गर्न निर्देशन दिएको छ,”  बोर्डले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।