चिनियाँ शेयर बजारकै सबैभन्दा ठूलो घटना: शेयर सूचीकरणबाट एभरग्राण्डे डिलिस्टेड

Aug 25, 2025 03:15 PM mero lagani



केही समय अगाडिसम्म विश्वकै सबैभन्दा ठूलो घरजग्गा कम्पनी मध्येको एक एभरग्रान्डे ग्रुप हङकङको शेयर बजारबाट डिलिष्टेड भएको छ । यो चिनियाँ शेयर बजारको अहिलेसम्मको सबैभन्दा ठूलो घटना भएको विश्लेषकहरुको भनाइ छ । 

डेढ दशकको अवधिमा हङकङको शेयर बजारमा सूचीकरणबाट कुनै कम्पनीलाई हटाइएको यो नै पहिलो घटना हो । ‘एक पटक सूचीबाट हटाइएपछि फिर्ता आउने कुनै सम्भावना छैन । त्यसैले यो एभर ग्राण्डेको समाप्तिको घोषणा मात्र होइन, शेयर बजारमा सूचीकृत कम्पनी र तिनीहरुका लगानीकर्ताहरुको लागि समेत गम्भिर पाठ हो’ एभरग्राण्डेलाई सूचीकरणबाट हटाइएको बारेमा प्रतिकृया दिंदै चीनको राजनीतिक जोखिम परामर्शदाता कम्पनी यूरेशिया ग्रुपका निर्देशक डान वाङले भनेकी छन् ।

 

कम्पनी डिलिस्टेड भएपछि त्यसमा लगानी गरेका ३ हजार ३३३ शेयर होल्डरको लगानी डुब्ने खतरा बढेको छ । तर, लिक्विडेटरहरूले कम्पनीका संस्थापक तथा अध्यक्ष हुई यानको व्यक्तिगत सम्पत्तिबाट ऋणदाताहरूको लागि पैसा फिर्ता गर्ने बारेमा छलफल भइरहेको बताएका छन् । उनीहरुका अनुसार एभरग्रान्डको ऋण हाल ४५ अर्ब अमेरिकी डलर रहेको छ, तर कूल सम्पत्ति बिक्री गर्दा पनि त्यति रकम उठ्ने अवस्था भने छैन ।

४५ अर्ब अमेरिकी डलरसहित सन् २०१७ मा फोब्र्सले सार्वजनिक गर्ने एसियाका धनाढ्य व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा पुगेका उनको सम्पत्ति हाल एक अर्ब डलर भन्दा पनि थोरै रहेको बताइएको छ ।

कुनै बेला चीनको सबैभन्दा ठूलो उक्त घरजग्गा कम्पनी एभरग्रान्डको शेयर बजारमा ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन हुने गथ्र्यो । चिनियाँ समृद्धि र शेयर बजारको चमत्कारको उदाहरण मानिन्थ्यो । विद्युतीय कार निर्माणदेखि र चीनको सबैभन्दा सफल फुटबल टोली– ग्वाङ्झाउ एफसीको संचालन गर्दथ्यो ।

सन् २०२४ को मार्चमा हुईले आफ्नो कम्पनीको आम्दानी वास्तविकभन्दा बढाइचढाइ गरेर प्रस्तुत गर्दै ७८ अर्ब अमेरिकी डलर देखाएको पुष्टि भएको थियो । त्यस लगत्तै उनलाई ६५ लाख अमेरिकी डलर जरिवाना तिराइनुका साथै चीनको पुँजी बजारमा कुनै पनि किसिमको कारोबार गर्न आजीवन प्रतिबन्ध लगाइएको थियो । त्यहीदेखि नै कम्पनी कहिल्यै उठ्न नसक्ने गरि समस्यामा फसेको थियो ।

सन् २०२४ को जनवरीमा हङकङ उच्च अदालतले सो कम्पनी बन्द गर्न आदेश दिएको थियो ।




पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।