तर अहिले समय सर्लक्कै फेरिएको छ। ठूलो होस् या सानो सबैजसो भुक्तानी इलेक्ट्रोनिक हुन थालेको छ। जसले मुलुकलाई क्यास लेस तर्फ उन्मुख गराउँदै लगेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वार्षिक विवरणअनुसार गत आर्थिक वर्ष इलेक्ट्रोनिक भुक्तानी मात्रै एक अर्ब ८४ करोड पटक भन्दा बढी भए। केन्द्रीय बैंकका अनुसार मुलुकमा १६ प्रकारका इलेक्ट्रोनिक भुक्तानी सिस्टम उपलब्ध छन्। तिनै भुक्तानी सिस्टमबाट उक्त भुक्तानी भएको देखिएको हो। जुन भुक्तानी मार्फत ९८४ खर्ब रुपैयाँ भन्दा बढी रुपैयाँको लेनदेन भयो। जुन सामान्य भन्न सकिँदैन।

प्रत्येक वर्ष यस्तो किसिमको भुक्तानी बढ्दै गइरहेको छ। इलेक्ट्रोनिक भुक्तानीमा पनि क्युआर मार्फत हुने भुक्तानी ग्रोथ सबैभन्दा बढी छ। मेरो लगानीले आर्थिक वर्ष २०७६/७७ देखि ८१/८२ सम्मको इलेकट्रोनिक पेमेन्ट सिस्टमको ग्रोथ रेट निकालेको छ। जसमा सबैभन्दा बढी ग्रोथ रेट क्युआरको देखिएको छ। उसको वार्षिक ग्रोथ रेट रकमको आधारमा १६२.१८ प्रतिशत देखिएको छ भने ट्रान्जेक्सन वाइज हेर्दा उसको ग्रोथ रेट १७४.२५ प्रतिशत छ।

गत आर्थिक वर्ष मात्रै क्युआर मार्फत ३१ करोड ५७ लाख ट्रान्जेक्सन मार्फत ९ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिएको छ। जुन गएको पाँच वर्ष अघिसँग तुलना गर्दा ४७ गुणा भन्दा बढी हो। गएको पाँच वर्ष अघि जम्मा २० अर्ब रुपैयाँ मात्रै क्युआर मार्फत भुक्तानी भएको थियो। यसरी हेर्दा पाँच वर्ष अघि एक मिनेटमा तीन वटासम्म क्युआर मार्फत भुक्तानी हुने गरेकोमा अहिले प्रत्येक सेकेण्ड १० वटा क्युआर भुक्तानी हुन थालेको छ। यो प्रत्येक वर्ष बढ्दो क्रममा देखिएको छ।
यसअघि क्युआरबाट हुने भुक्तानी मुलुक भित्र मात्रै सीमित रहेकोमा अहिले उक्त भुक्तानीको लोकप्रियता बढ्दै गएका कारण यस्तो भुक्तानी अन्तर्राष्ट्रिय स्तरमा पनि फैलिन थालेको छ। गत वर्ष देखि अन्तर्राष्ट्रिय स्तरमा पनि त्यस्तो भुक्तानी स्वीकार्य हुन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार नेपाली इलेक्ट्रोनिक पेमेन्ट सिस्टम प्रयोग गरेर अन्तर्राष्ट्रिय स्तरमा गत वर्ष मात्रै दुई अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिएको तथ्याङ्क छ।

इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा क्युआर गर्नेको मात्रै ग्रोथ रेट बढेको छैन, प्रिपेड कार्ड र मोबाइल बैकिङको ग्रोथ पनि मनग्ये बढेको छ। प्रिपेड कार्डको वार्षिक ग्रोथ रेट रकमको आधारमा हेर्ने हो भने ९५.८५ प्रतिशत छ भने मोबाइल बैङ्किङको ग्रोथ रेट ८१.७४ प्रतिशत छ। खासगरि वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जाने बर्षेनी बढ्दै गएका कारण प्रिपेड कार्डबाट हुने भुक्तानी बढ्दै गएको हो।
सबै किसिमका इलेक्ट्रोनिक भुक्तानीको ग्रोथ रेट बढ्दै गर्दा इसिसिको ग्रोथ रेट नेगेटिभ देखिएको छ। इसिसी भनेको इलेक्ट्रोनिक चेक क्लियरिङ हो। जुन चेक नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित प्रणाली हो। त्यसको प्रयोग भने घट्दो देखिएको छ। त्यसलाई क्युआरले नै बिस्तारै विस्थापित गर्दै लगिरहेको छ। त्यसको व्यापकता भने कम देखिएको छ। तुलनात्मक रुपमा अरू इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको लोक प्रियता बढ्दै गर्दा त्यसको भने घट्दो क्रममा देखिएको छ।