सरकारको कडाइपछि अब नेपालमा कुन कुन सामाजिक सञ्जाल चल्छन् ? कुन कुन बन्द हुन्छन्?

Sep 04, 2025 05:04 PM Merolagani



सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने निर्णय गरेको छ। यस अन्तर्गत फेसबुक, एक्स (पूर्व ट्विटर), इन्स्टाग्राम, युट्युब, वाट्सएपलगायतका प्रमुख सञ्जालहरू अब नेपालमा नचल्ने सम्भावना देखिएको छ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिँदै, तोकिएको सात दिने समयसीमाभित्र सूचीकरण नगरेका सञ्जालहरूलाई नेपालमै निष्क्रिय गराउन आदेश दिएको हो। मन्त्रालयको निर्देशनबमोजिम प्राधिकरण अब कार्यान्वयनमा जुट्ने तयारीमा छ।

सरकारको सूचीकरण अनुरोधअनुसार हालसम्म टिकटक, भाइबर, वीटक, निम्बज, टेलिग्राम र पोपो लाइभले नेपालमा सूचीकरण प्रक्रिया पूरा गरिसकेका छन्। यसैगरी, टेलिग्राम र ग्लोबल डायरीले पनि आवेदन दिएका छन्, तर प्रक्रिया अझै टुङ्गिएको छैन।

 

त्यसैले, अबको अवस्थामा सूचीकरण नगरेका फेसबुक, एक्स, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायतका प्लेटफर्महरू बन्द हुने सम्भावना बलियो देखिएको छ भने, टिकटक, भाइबर, वीटक, निम्बज, पोपो लाइभ भने सहज रूपमा चलिरहने छन्।

सरकारले सात दिनको समय दिँदै सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा सञ्चालन गर्न कानुनी रूपमा सूचीकरण गर्न अनिवार्य बनाएको थियो। सो म्याद बुधबार रातीबाट सकिएको हो।

सूचीकरण नगरी नेपालमा सञ्चालन भइरहेकाले यी प्लेटफर्महरूलाई प्राविधिक रूपमा निष्क्रिय गराउने प्रक्रिया सुरु गर्ने निर्णय लिइएको मन्त्रालयले जनाएको छ।