आन्दोलनको असरः कम्पनीहरुकाे साधारण सभासँगै पर धकेलियो लाभांश पाउने समय

Sep 15, 2025 10:30 AM Merolagani



गत भदौ २३ गते जेनजी आन्दोलन चर्किएसँगै चालु आवमा कम्पनीहरुले गर्ने साधारण सभामा समेत असर परेको छ । जसले गर्दा यस वर्ष लगानीकर्ताले दशैं अगाडि घोषणा गरेको लाभांश पनि पछाडि धकेलिएको छ ।

जेनजी आन्दोलनका कारण सिंहदरबार, संसद भवन, राष्ट्रपति भवनसँगै धेरै निजी भवनमा क्षति पुगेपछि कम्पनीहरुले घोषणा गरेको साधारण सभालाई पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए । जेनजी आन्दोलनको कारण अघिल्लो हप्ता आईपीओ निष्काशन गरेको कम्पनीको शेयर बाँडफाँट र नयाँ शेयर निष्काशनमा समेत गम्भीर असर परेको छ।

सागर डिष्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने कार्यक्रम जेनजीको आन्दोलनसँगै कर्फ्यू लागेपछि आईपीओ केही समयको लागि स्थगित गरेको थियो । आइतबारदेखि  जनजीवन सामान्य बन्दै गएपछि सागरको  स्थगित  आईपीओ आज सोमबारदेखि खुल्ने भएको छ। स्थगित गर्नेमा सागर डिष्टिलरीपछि एसवाई प्यानल नेपाल लिमिटेड पनि परेको थियो । कम्पनीले चितवनका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई भनेर भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने सूचना प्रकाशन गरेको थियो । मुलुकमा अकस्मात चर्केको जेनजी आन्दोलनसँगै केही समयका लागि कम्पनीले आईपीओ स्थगित गरेको हो । आन्दोलनकै कारण केही सर्वसाधारणले आइपीओ भर्नमा समस्या आएको गुनासोपछि आज भदौ ३० गते एकदिन क्यापिटलले आइपीओ भर्ने समय दिएको हो। श्रीनगर एग्रोटेक इन्डष्ट्रिजको आइपी भर्ने समय दुई दिन थप भएको छ। कम्पनीले स्थानीय उद्योग प्रभावितलाई निष्काशन गरेको आईपीओ गत भदौ २५ गते बन्द भए पनि मुलुकमा उठेको जेनजी आन्दोलनका कारण भदौ ३० र ३१ गरी दुई दिन थप आईपीओ भर्न मिल्ने सयय दिएको हो। 

आईपीओ सँगै केही कम्पनीहरुको साधारण सभा समेत स्थगित भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौ २५ गते गर्ने भनिएको साधारण सभा स्थगित गरेकोमा आगामी भदौ ३१ गते हुने भएको छ । कम्पनीले भौतिक रुपमा काठमाडौंको आम्रपाली ब्यांकेटमा र अभौतिक रुपमा जुममार्फत समेत भाग लिन सकिने छ । हाथवेले १२ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करस्वरुप ०.६३२ प्रतिशत नगद लाभांश गरी कुल १२.६३२ प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभामा प्रस्तुत गरेको छ ।

सोलार इनर्जी क्षेत्रबाट पहिलो आइपीओ निष्काशन गरेर नेप्सेमा सूचीकृत भएको पिओर इनर्जीले भदौ २४ गते पूर्व निर्धारित साधारण सभा जेनजी आन्दोलनका कारण सरेर असोज ७ गते हुने भएको छ ।

त्यस्तै भेञ्चर हायर पर्चेज लिमिटेडको भदौ २७ गते हुने भनिएको वार्षिक साधारण सभा असोज ५ गते आइतबार मात्रै हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै देशको विद्यमान विषम परिस्थतिका कारण साधारण सभा बस्ने मिति परिवर्तन भएको जनाएको छ ।

नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले भदौ २९ गते बोलाएको साधारण सभा हाललाई स्थगित गरेको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.१०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लगेको छ । त्यससँगै कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत साधारण सभामा लगेको छ ।

साधारण सभा मात्रै स्थगित भएन, शेयर लिलामीको समय समेत थप गरिएको छ । जेनजी आन्दोलनका कारण मुलुकमा विषम परिस्थिति सिर्जना भए पछि शेयर लिलामीको समय समेत थप गरिएको हो । एसियन लाइफ इन्स्योरेन्सले नबिकेको हकप्रद शेयर भदौ २९ गतेसम्म लिलामीमार्फत बिक्री गर्ने सीमा तोकेकोमा आन्दोलनका कारण समय सीमा थपेर असोज ५ गतेसम्म पुर्याइएको छ ।

त्यसैगरी जीवकन विकास लघुवित्त वित्तीय संस्थाको १३ हजार ४ सय कित्ता संस्थापक शेयर लिलामीको समय सीमा भदौ २९ गतेसम्म मात्रै रहेकोमा जेनजी आन्दोलन कारण ४ दिन थपेर असोज २ गतेसम्मकाे समय सीमा दिइएकाे छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।