अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने टुंगोमा प्रधानमन्त्री पुगेकी हुन् । कार्कीले जेनजी समुह भित्रको विवाद र दावेदारहरुको दबाबको कारण अन्य मन्त्रीहरुको भने अझै टुंगो लगाउन सकेकी छैनन् ।
अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्।
उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा तत्कालिन केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।
घुमिफिरी अहिले त्यो प्रतिवेदन अनुसार काम गर्ने जिम्मेवारीमा उनी आफै पुगेका छन् । उनले कसरी काम गर्लान् र लगभग अस्तव्यस्त रहेको अर्थतन्त्रलाई कसरी लिकमा ल्याउलान् भन्ने चासो सर्वत्र देखिएको छ । शेयर दलाल रहेकी आफ्नी पत्नी सुचिता खनालका पथ प्रदर्शक रहेका खनाल अर्थसचिव हुनुभन्दा अघिदेखि नै शेयर बजार मैत्री मानिन्छन् । उनी अर्थमन्त्री बन्ने भएपछि शेयर बजारको अवस्था सुधार हुनसक्ने भन्दै सरोकारवालाहरु भने आशावादी देखिएका छन् । स्मरणरहोस् स्टक ब्रोकर नं २५ कि संचालक रहेकी सुचिताको क्यान्सर रोगका कारण २०७६ मा निधन भएको थियो । खनाल अर्थमन्त्री हुने भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।
ऊर्जामन्त्री बन्न लागेका घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले नै प्राधिकरणबाट हटाएको थियो। उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो। उनीहरु दुई बीचको सम्वन्ध शत्रुतापूर्ण जस्तै रहेको छ । यस्तो अवस्थामा नेपालको उर्जा क्षेत्रमा कस्तो असर पर्ला भन्ने प्रश्न उठेको छ ।
त्यस्तै, अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि लोकप्रिय भएका हुन्। अहिले काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार रहेका उनी मेयर बालेनका मुख्य सहयोगी मध्ये एक मानिन्छन् ।
सुशीला कार्कीको अन्तरिम सरकार प्रमुख नियुक्ति क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नमा पनि उनी संलग्न थिए।
यी तीन मन्त्रीको टुंगो लागे पनि अन्य मन्त्रीको टुंगो भने लागेको छैन । जेनजी आन्दोलनको नेतृत्वकर्ताहरु बीचको चर्काे विवाद र मन्त्री बन्न चाहाने कतिपय व्यक्तिहरुको दवावले गर्दा प्रधानमन्त्री कार्कीलाई मन्त्री छान्न गाह्रो भएको बताइएको छ । उनी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारीमा रहेको बताइएको छ ।