आउने बुधबार बाटै शेयर बजार खुल्ने

Sep 15, 2025 04:45 PM merolagani



जेनजी प्रदर्शनको कारण गएको भदौ २४ गते देखि बन्द रहेको शेयर बजार आउने बुधवारदेखि खुल्ने भएको छ। बुधवारदेखि खोल्ने गरी तयारी भइरहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ। तर बोर्डबाट निर्देशन आउन भने बाँकी रहेको बताइएको छ।

“आउने बुधवारदेखि शेयर बजार खोल्ने तयारी भइरहेको छ। बोर्डबाट निर्णय भने आइसकेको छैन। निर्णय आउने बित्तिकै सूचना निकालिने छ,” नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चाँपागाईले मेरो लगानीसँग भने।

यस अघि नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो। गएको २४ र २५ गते दुई दिनको लागि नेप्सेले कारोबार बन्द गर्ने निर्णय गरेको भएपनि त्यसपछि भने थप एक साताको लागि कारोबार बन्द गर्न बोर्डले निर्देशन दिएको थियो। बोर्डको निर्देशन अनुसार नेप्सेले आउने असोज २ गतेसम्म शेयर कारोबार बन्द गर्ने सूचना निकालेको थियो। नेप्सेले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा (१) खण्ड (घ) बमोजिम कारोबार बन्द गरिएको सूचना निकालेको थियो। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा (१) खण्ड (घ) मा “(घ) धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने” उल्लेख छ। सोही दफामा टेकेर  शेयर बजार बन्द गर्ने निर्णय गरिएको थियो।

तर अहिले अवस्था सहज हुँदै गएपछि शेयर बजार खोल्न लागिएको हो। अर्को तर्फ स्थिति सामान्य हुँदै गएको र नेपालीहरूको ठूलो चाड दसैँ नजिकिँदै गरेको अवस्थालाई समेत मध्यनजर गरेर शेयर बजार खोल्न लागिएको हो। दसैँ अघि शेयर बिक्री गर्नेले दसैँपछि मात्रै पैसा पाउने अवस्था सिर्जना भएको थियो। दसैंमा शेयर बिक्री गरेर दसैँ खर्च जुटाउन चाहनेले समेत पैसा नपाउने स्थिति बनेको भन्दै शेयर बजार खोल्न बोर्डलाई दबाब समेत दिइएको थियो। सोही कारण शेयर बजार खोल्न लागिएको हो।     




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।