जेनजी आन्दोलनपछि शेयर बजार : ट्रेडरहरूको प्रभाव अझ बढ्ने,कमजोर कम्पनीहरूप्रति सचेत हुनु पर्ने

Oct 04, 2025 06:39 AM merolagani



  • देब गुरागाँई  

नेपालमा २०८२ भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलन देशको राजनीतिक,सामाजिक र आर्थिक जीवनमा ठूलो मोडका रूपमा स्मरण गरिन्छ।

युवा पुस्ताको आक्रोश, असन्तोष र भविष्यप्रतिको अनिश्चितताले जन्माएको यस आन्दोलनले तत्कालीन सत्ता संरचना हल्लाएको मात्र होइन, अर्थतन्त्रको मेरुदण्ड मानिने पूँजीबजारमा पनि प्रत्यक्ष–अप्रत्यक्ष असर पारेको छ।

आन्दोलनपछि बजार बन्द

जेनजी आन्दोलन उत्कर्षमा पुगेको केही दिनमा नेपाल स्टक एक्सचेन्जले लगानीकर्ताको सुरक्षा र बजार स्थायित्वलाई ध्यानमा राख्दै कारोबार रोकिएको घोषणा गर्‍यो। २ दिनसम्म बन्द भएको बजारले लगानीकर्तालाई ठूलो असमञ्जसमा पार्‍यो। बन्दको कारण तत्कालीन राजनीतिक अस्थिरता, सरकारी नीतिप्रतिको अनिश्चितता र लगानीकर्ताको मनोविज्ञानमा परेको झट्का नै प्रमुख थियो। आन्दोलनको उथलपुथलबीच बजार सञ्चालन गरिए लगानीकर्ताले अन्धाधुन्ध खरिद–बिक्री गर्ने र बजारमा झनै असामान्य उतार–चढाव आउने सम्भावना उच्च थियो। त्यसैले नियामकले केही दिन ‘कुलिङ पिरियड’ को रूपमा बजार बन्द गर्ने निर्णय लियो।

बजार खुलेपछिको पहिलो प्रतिक्रिया

बन्द भएको बजार २५ भाद्रदेखि खुलेपछि प्रारम्भिक कारोबारमा निकै चाप देखियो। धेरै लगानीकर्ताले आफ्नो शेयर बेचेर नगद सुरक्षित गर्न खोज्दा बजार ओरालो लाग्यो। पहिलो दिन नेप्से सूचक करिब छ प्रतिशतले घट्यो, कारोबार मात्रा पनि सामान्य भन्दा कम रह्यो। यो मनोवैज्ञानिक असर हो-आन्दोलनले ल्याएको अनिश्चितताका कारण लगानीकर्ताले जोखिम लिन चाहेनन्।

तर, दोस्रो र तेस्रो दिनको कारोबारमा भने रोचक परिवर्तन देखियो। केही ठूला लगानीकर्ताले बजारलाई स्थिर देखाउन र अवसरको फाइदा लिन सक्रिय भूमिका खेले। यसले बजारमा विश्वास जगाउन सहयोग गर्‍यो। सूचकले क्रमशः नोक्सानी घटाउँदै सामान्य सुधारतर्फ उन्मुख भयो। यसले प्रष्ट पार्छ कि नेपालको शेयर बजार अझै पनि केही ठूला खेलाडीहरूको व्यवहारमा निर्भर छ।

लगानीकर्ताको मनोविज्ञान

जेनजी आन्दोलनले लगानीकर्ताको मनोविज्ञानमा दुई तहमा प्रभाव पारेको छ।

१. नकारात्मक प्रभाव

आन्दोलनले देखाएको अस्थिरता र भविष्यप्रतिको अनिश्चितताले लगानीकर्तामा डर पैदा गर्‍यो।

धेरै व्यक्तिहरूले दीर्घकालीन लगानीभन्दा पनि छोटो समयमा नाफा खोज्ने रणनीतितर्फ ध्यान दिए।

राजनीतिक अनिश्चितता लामो समय कायम भए बजार अस्थिर रहने चिन्ता बढ्यो।

२. सकारात्मक प्रभाव

पूँजीबजार वैकल्पिक लगानीको अवसरका रूपमा अझै सक्षम छ भन्ने बुझाइ बलियो बन्यो।

अन्य क्षेत्र (जस्तै उद्योग, व्यापार) अवरुद्ध हुँदा शेयर बजारमा पूँजी भित्र्याउने सम्भावना देखियो।

विदेशी तथा गैर–आवासीय नेपाली लगानीकर्ताले पनि “बजार ओरालो हुँदा खरिद गर्ने” रणनीति अपनाउने अवसर देखे।

ऐतिहासिक दृष्टान्त

नेपालमा मात्र होइन, विश्वका धेरै देशमा पनि राजनीतिक वा सामाजिक उथलपुथलपछि शेयर बजारले आश्चर्यजनक पुनरुत्थान गरेको इतिहास छ। उदाहरणका लागि,भारतमा आपतकालीन अवस्था वा ठूलो प्राकृतिक विपत्तिपछि पनि छोटो अवधिमा बजारले आफूलाई पुनःस्थापित गरेको छ। नेपालमा २०६२ र ६३ को आन्दोलन र २०७२ को भूकम्प, कोभिड १९ पछि पनि सुरुवाती गिरावट देखिएपनि केही महिनामै बजारमा पुनरुत्थान भएको थियो। यसै पृष्ठभूमिमा धेरैले यो आन्दोलनपछिको गिरावटलाई अस्थायी ठानेका छन् ।

देशमा राजनीतिक वा प्राकृतिक उथलपुथल हुँदा पनि त्यसपछि सेयर बजार बढेको इतिहास असत्य होइन। अतीतका ग्राफहरूले पनि यो तथ्य प्रमाणित गर्छन्। फरक भनेको केवल समय र बजारको स्वरूप हो। हामी पूँजीबजारको भौतिक युग पार गरेर डिजिटल युगमा प्रवेश गरिसकेका छौँ जहाँ ब्रोकरको कागजी फारममा कालो मसीले हस्ताक्षर गर्ने दिन हराइसकेका छन् र मोबाइल स्क्रिनमा औंलाको टचमार्फत सेयर खरिद–बिक्री हुने युग सुरु भइसकेको छ ।

यसको मतलब शेयर किन्न बेच्ने चाबी लगानीकर्ताकै हातमा छ । 

एकातिर,वर्तमान आन्दोलनले देशलाई ध्वस्त पारिरहेको व्याख्या छ भने,अर्कोतिर निजी क्षेत्रको ठूलो क्षतिले उद्यम, व्यवसाय र लगानीप्रतिको विश्वास कमजोर पारेको छ। मानिसहरू व्यवसाय सुरु गर्न हिच्किचाउन थालेका छन्। यस्तो अवस्थामा त्यो पूँजी फेरि शेयर बजारमै आउने सम्भावना उच्च देखिन्छ। जन आन्दोलन, भूकम्प,कोरोनाकालमा भएको अनुभव यसकै उदाहरण हो। जब माग बढ्छ, मूल्य बढ्छ । यो सामान्य अर्थशास्त्रीय नियम हो।

हालको अन्तरिम सरकार केवल ६ महिनाको लागि बनेको हो। यस अवधिमा मन्त्रीहरूले असाधारण काम गरे पनि पुनः चुनावमार्फत सरकारमा फर्किने सम्भावना न्यून छ। संविधानले अर्को सरकार प्रतिनिधि सभाबाटै बन्ने प्रावधान राखेको छ र कुनै एक दलले स्पष्ट बहुमत ल्याउने संभावना झनै कम हुँदै गएको छ। ठूला भनिएका दलहरूकै लोकप्रियता खस्किएको छ, जसका कारण पुनः गठबन्धन सरकार बन्ने संकेत बलियो छ। नयाँ दल जन्मे पनि छोटो अवधिमा बहुमत ल्याउने सम्भावना अत्यन्त न्यून छ। दुई तिहाइ प्राप्त गरेर संविधान संशोधन गर्ने बाटो त झन् कठिन देखिन्छ। समय बित्दै जाँदा राजनीतिमा “घुमीफिरी रुम्झाटार” नै हुने सम्भावना प्रबल छ।

 अब प्रश्न उठ्छ यस्तो राजनीतिक अस्पष्टताबीच शेयर बजार के होला ?

नेपालमा ‘धमिलो पानीमा माछा मार्ने’ प्रवृत्ति बलियो छ। राजनीति धमिलो भएको बेला अनेक किसिमका समस्याहरु आउने सम्भावना पनि अधिक हुन्छ । शेयर बजारमा त्यसको असर झन प्रस्ट देखिन सक्छ जसले बजारलाई अस्वभाविक उतार चढाव गराउन सक्छ। यस्तो अवस्थामा छोटो अवधिमा नाफा कमाउने उद्देश्यले ट्रेडरहरूको गतिविधि तीव्र हुने संभावना छ। साम, दाम, दण्ड, भेद प्रयोग गरेर शेयरको मूल्य कृत्रिम रूपमा बढाउने र घटाउने खेल बढ्न सक्छ। ट्रेडरहरूको प्रभाव अझ बढ्ने, कमजोर कम्पनीहरूको शेयर मूल्यमा बबल सिर्जना हुने खतरा र बजार अधिक अस्थिर हुने सम्भावना रहन्छ । फलतः, यस्तो बेलामा अनाडी वा देखासिखी लगानीकर्ताले बजारमा प्रवेश गर्दा पूँजी गुमाउने खतरा हुन्छ। तर अनुभवी, चनाखा र रणनीतिक लगानीकर्ताका लागि भने यो सुनौलो अवसर पनि बन्न सक्छ ।

आगामी चुनौती र सम्भावना

१. चुनौतीहरू

राजनीतिक स्थायित्व अझै प्रष्ट छैन।
लगानीकर्ताको विश्वास पुनःस्थापना गर्न कठिन छ।
साना र असल हिसाब–किताब नभएका कम्पनीहरूको शेयरमा ‘बबल’ सिर्जना हुने खतरा छ।
ट्रेडिङ हावी भएर बजारलाई अस्वाभाविक उतार–चढावमा लैजाने जोखिम छ।

२. सम्भावना

निजी क्षेत्र ठप्प हुँदा पूँजीबजारमा पैसाको आकर्षण बढ्न सक्छ। अन्तरिम सरकार भएतापनि सुशासन, खर्च कटौती, विधिको शासन, समग्र क्षेत्रमा दूरगामी प्रभाव राख्न सक्ने प्रणाली स्थापित गरेर
सरकार र नियामकले सुधारात्मक कदम चाल्न सक्ने अवसर छ (जस्तै स्वदेशी, विदेशी लगानीमैत्री नीतिहरू)।

अनुभवी लगानीकर्ताका लागि यो समय सस्तो मूल्यमा सेयर संकलन गर्ने सुनौलो अवसर बन्न सक्छ।

 निष्कर्ष

जेनजी आन्दोलनपछि केही दिन बन्द भएर खुलेको नेपालको शेयर बजारले छोटो समयमा उतारचढाव देखाए पनि, दीर्घकालीन दृष्टिकोणले हेर्दा यसलाई अस्वाभाविक ठान्न सकिँदैन। आन्दोलनले लगानीकर्तामा डर र अनिश्चितता ल्याएको छ, तर साथसाथै पूँजीबजारलाई वैकल्पिक सुरक्षित थलोका रूपमा उभ्याउने अवसर पनि दिएको छ।

नेपालको अर्थतन्त्र राजनीतिक स्थायित्वसँग गहिरो जोडिएको छ। त्यसैले आगामी दिनमा सरकार र नियामकले पारदर्शिता, लगानी सुरक्षण र लगानीमैत्री नीति अवलम्बन गर्न सके भने, हालको संकट दीर्घकालीन रूपमा अवसरमा परिणत हुन सक्छ। शेयर बजार झन् अस्थिर भएको भए पनि यो नेपाली अर्थतन्त्रको मेरुदण्ड बनेर अझ सबल भएर अघि बढ्ने सम्भावना उत्तिकै छ।

 

  • लेखक गुरागाँई पूँजीबजारका जानकार हुन्



दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।