श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Oct 12, 2025 10:26 AM Merolagani



श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज (असोज २६ गते), आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख २३ हजार ९७५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले असोज २६ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता सनलाइफ क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार २ लाख ५१ हजार ४९ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ३ कित्ता शेष रहन्छ जुन सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दर बाँडफाँट गर्नेछ। त्यसैले, लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ११ कित्त प्राप्त गर्न २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

औषत जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ।

इक्रा नेपालले कम्पनीलाई २०८१ माघ ११ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८२ माघ ६ गतेसम्म रहनेछ।

कस्तो कम्पनी हो?

श्रीनगर एग्रीटेक कम्पनी वि.सं. २०६१ कात्तिक १९ गते एक्वाटीक इको सिस्टम्स् एण्ड फिसरिज म्यानेजमेन्ट कन्सल्ट प्रा. लि. को नाममा स्थापना भएको थियो। सोपश्चात वि.सं. २०६८ जेठ ११ गते नाम परिवर्तन गरी हिमालय आक्वा एग्रीटेक इन्डष्ट्रिज प्रा.लि. हुँदै २०७४ जेठ २५ गते श्रीनगर एग्रीटेक इन्डष्ट्रिज प्रा.लि. को रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। कम्पनीले २०८० जेठ २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति पत्र अनुसार प्रा.लि. बाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडमा अभिलेख भई कारोबार सञ्चालन गर्दै आएको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्ला, शुद्धोधन गाउँपालिका, वडा नं.४ मा रहेको छ भने सम्पर्क कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका, टङ्गाल, वडा नं.२ मा रहेको छ। श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेड नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित एकिकृत कुषि व्यवसाय हो ।

कम्पनीले पाल्पा जिल्ला, वडा नं. १० तेल्घा, तानसेन नगरपालिकामा प्यारेन्ट फार्म, रुपन्देही जिल्ला वडा नं. ४ शुद्धोधन गाउँपालिकामा ह्याचरी तथा प्यारेन्ट फार्म र रुपन्देही जिल्ला वडा नं. ४ शुद्धोधन गाउँपालिकामा कर्मसियल फार्म सञ्चालन गरिरहेको छ।

श्रीनगर व्यवसायिक समूह अन्तर्गत २०५९ बैशाख १२ देखि श्रीनगर एग्रो फार्म प्रा. लि. मार्फत प्यारेन्ट तथा ह्याचरी उद्योग स्थापना गरिएको हो। र सो उद्योगलाई आवश्यक पर्ने दाना तथा आहार पनि आफै उत्पादन गर्ने उद्देश्य सहित २०६१ कात्तिक १९ गते श्रीनगर एग्रीटेक इन्डष्ट्रिज प्रा. लि.को स्थापना गरी दुबै उद्योग सफलतापूर्वक सञ्चालन गरिएको थियो। राष्ट्रिय तथा अन्तराष्ट्रिय पद्धतिको आवश्यकता अनुसार एकै किसिमको कृषि जन्य उत्पादन तथा सेवा सम्बन्धि उद्योगलाई एकिकृत रुपमा सञ्चालन गर्दा उद्योगलाई फाइदा हुने तथा बजारलाई आवश्यक पर्ने कृषि जन्य उत्पादन परिपुर्तिमा सहजिकरण गर्ने हेतुले २०८० असोज १९ गते दुबै उद्योग एकिकृत गरी श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लि. अन्तर्गत एकमुष्ठ रुपमा सम्पूर्ण (फार्म तथा ह्याचरी, दाना तथा आहार, मासु प्रशोधन तथा शित भण्डार) उद्योगहरु सञ्चालन गर्दै आएको छ।

कम्पनीले श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै, आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य परामर्र्श र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजीको १ प्रतिशत शेयर अयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा जारी पूँजीको १९ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप उद्योग प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण नेपाली नागरिकहरुलाई बिक्री वितरण गरी कम्पनीको जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ पुर्याउन कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, सर्वसाधारणमा शेयर जारी गरी कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट समेत प्रतिनिधित्व गराउन पनि कम्पनीले आईपीओ जारी गरेको हो।

आईपीओ जारी गर्नुको मुख्य उद्देश्य बैकबाट लिईएको कर्जा भुक्तानीको लागि रकम संकलन गर्नु र नयाँ प्रोजेक्टमा गरेको लगानी रकम भुक्तानी गर्नु रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

प्राथमिक शेयर निष्काशन तथा बिक्रीबाट प्राप्त हुने रकममध्ये १० करोड रुपैयाँ नबिल बैंकबाट लिइएको कर्जा भुक्तानी गर्न र २० करोड ६२ लाख ५० हजार रुपैयाँ ग्लोबल आइएमई बैंकबाट लिइएको कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ। बाँकी रहेको २ करोड रुपैयाँ भने कम्पनीले नयाँ प्रोजेक्टको बाँकी रहेको रकम भुक्तानी गर्न प्रयोग गर्नेछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा २ करोड १९ लाख ४० हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ६८ पैसा रहेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ५८ लाख ८२ हजार ५१८ रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा थियो भने प्रतिशेयर आम्दानी १ रुपैयाँ १७ पैसा थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा ५ करोड ७० लाख ८५ हजार रुपैयाँ रहने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ २१ पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५० पैसा हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम (२७) मा भएको व्यवस्था अनुसार ७ (सात) जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट निर्वाचित हुने ५ जना, सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित हुने १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था रहेको छ।

हाल कम्पनीमा संस्थापक समूहबाट मनोनित ५ जना र स्वतन्त्र सञ्चालक १ जना रहेको छन्। सर्वसाधारणमा शेयर निष्काशन गरे पश्चातको पहिलो साधारणसभामा सर्वसाधारण समूहका शेयरधनीहरूबाट १ जना सञ्चालक नियुक्त गरिनेछ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा राम कृष्ण खतिवडा रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा सतिस चन्द श्रेष्ठ, मौशुमी श्रेष्ठ, पोषक राज पौडल र कमल प्रसाद नेपाल रहेका छन्। कम्पनीका स्वतन्त्र सञ्चालक अमर बहादुर थिङ रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीले भविष्यमा आफैलाई कृषि सम्बन्धी व्यवसायको लागि ‘वान स्टप सोलुसन’ को रुपमा स्थापना गर्ने लक्ष्य लिएको छ। कम्पनीले आफ्नो व्यापार व्यवसायलाई विस्तार तथा विविधिकरण गर्ने उद्देश्यका साथ आफुलाई कृषि उत्पादनमा मात्र सिमित नराखी कृषि उत्पादनलाई प्रशोधन गरी अन्तिम उपभोक्ता समक्ष सहज र सरल रुपमा गुणस्तरीय सामान पुर्याउने भावी योजना रहेको छ।

यी योजनाहरुलाई मूर्तरुप दिन कम्पनीले मासुजन्य प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने, मासुजन्य प्रशोधन केन्द्र, ह्याचरी, फार्महरुबाट निस्किएको फोहोर संकलन गरी रेन्डरिङ्ग प्रविधिबाट सो फोहोरलाई प्रशोधन गरी दाना उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग गर्ने, उत्पादित वस्तुहरु सुलभ तरिकाले बिक्री केन्द्र, कृषि केन्द्र, कृषि मार्ट, फास्टफुड/रेष्टुरेन्ट स्थापना गरी बिक्री वितरण गर्ने लगायतका रणनीतिहरु अपनाउनेछ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।