जसमध्ये पहिलो चरणमा कम्पनीले २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले २ लाख ४८ हजार ५४६ कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख ४९ हजार १२७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा कात्तिक २३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि मंसिर ३ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता हिमालयन सेक्युरिटिज लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ४ लाख ७ हजार ६१५ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ६ कित्ता शेष रहन्छ जुन सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दर बाँडफाँट गर्नेछ। त्यसैले, लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ११ कित्त प्राप्त गर्न २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ।
इक्रा नेपालले कम्पनीलाई २०८२ भदौ ३१ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ भदौ ३० गतेसम्म रहनेछ।
कस्तो कम्पनी हो?
२०७२ सालको कहालीलाग्दो विनाशकारी भूकम्पपछि नेपालमा भएको लाखौँ भौतिक संरचना ध्वस्त भई तत्काल भूकम्प प्रतिरोधात्मक संरचना बनाउनु पर्ने र भूकम्प पीडितहरुको यस एसवाई प्यानलको प्रविधि प्रभावकारी हुने निष्कर्ष निकाली २०७४ साल असार २० गते कम्पनी दर्ता भई काम सुरु गरेको थियो।
एसवाई प्यानल नेपाल लिमिटेडको कम्पनी रजिष्ट्रार कार्यालयमा २०७४ असार २० मा संस्थापक एसवाई को. लिमिटेड (तत्कालिन एसवाई प्यानल को लिमिटेड) दक्षिण कोरिया, दक्षिण कोरियन नागरिक बाङ योन जाई र लि वा चुनको अगुवाईमा दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको छ।
स्यान्डविच इपिएस प्यानल र यूपिभिसि झ्याल तथा ढोका उत्पादन गर्ने उद्देश्यले क्रमशः २०७४ साउन १२ गते र २०७४ कात्तिक २० गते दुई फरक ईकाइको रुपमा उद्योग दर्ता भई हाल उत्पादन गर्दै आइरहेको छ।
कम्पनीले नेपाली नागरिकहरु संस्थापक शेयरधनीमा भित्राई २०७९ साल असार ८ गते प्रा. लि. बाट पब्लिक कम्पनीको रुपमा दर्ता भएको थियो।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३२, तिनकुने काठमाडौंमा रहेको छ। कम्पनीको उद्योग कार्यालय रत्ननगर नगरपालिका, वडा नं. १४, चितवनमा रहेको छ। हाल देशभर एसवाई प्यानलका करिब ५० भन्दा बढि सक्रिय डिलरहरु छन्। उनीहरूको माध्यमबाट विभिन्न संघ संस्था तथा व्यक्तिहरुको लागि संरचना बनाउने काम भइरहेको छ।
कम्पनीले आफ्नो लगानी विविधिकरण रणनीति अनुरुप थप अन्य क्षेत्रमा लगानी गरेको छ। जस अनुरुप २०८० पुस मसान्त सम्ममा एस.वाई. बजार प्रा. लि. र एस. वाई. यु. पि. भि. सि प्रोफाइल प्रा. लि. मा लगानी गरेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले व्यवसाय विस्तार, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गराउन र वृद्धि दर प्रबद्र्धन गर्न आईपीओ जारी गरेको हो। कम्पनीले यस पूँजीले आफ्नो मुख्य कम्पनीसँगको सहकार्यमा नयाँ युपिभिसि उद्योगको स्थापना गरी युपिभिसि प्रोफाइल उत्पादन गर्न सहयोग गर्नेछ, जसले ठूलो आयातमुखी बजारलाई स्वदेशी विकल्प प्रदान गर्नेछ। सर्वसाधारणको लागि शेयर जारी गरी कम्पनीमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ, जसले समावेशिता र साझेदारीलाई प्रवर्द्धन गर्ने कम्पनीको भनाइ छ। बलियो पूँजी आधारका साथ, कम्पनीले आफ्नो वृद्धि दरलाई तीव्र बनाउन चाहन्छ, उच्च गुणस्तरका प्यानल बजारमा उपलब्ध गराउँदै नेपालको प्यानल उद्योगमा योगदान गर्ने लक्ष्य राखेको छ।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
कम्पनीले सार्वजनिक निष्काशनबाट प्राप्त भएको रकम मध्येको केही रकम चालु पूँजी व्यवस्थापनको लागि उपयोग गर्ने भएकोले उक्त चालु पूँजी व्यवस्थापनमा प्रयोग हुने रकमको सम्बन्धमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा कम्पनीको व्यापार विस्तारका लागि यस आर्थिक वर्ष २०८२÷८३ का लागि प्रक्षेपित चालु पूँजी १३ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ आवश्यकता रहनेछ। उक्त रकम व्यापार प्राप्तिको व्यवस्थापनको र स्टक मौज्दात व्यवस्थापनको लागी प्रयोग गरिने कम्पनीले बताएको छ। कम्पनी सञ्चालनको लागि समय समयमा व्यापारको आकार अनुसार चालु पूँजी व्यवस्थापन बापतको रकम आवश्यकता पर्ने हुन्छ। कम्पनीले बाँकी रहेको ३९ करोड रुपैयाँ एसवाई युपिभिसि प्रोफाइल प्रा.लि. मा शेयर लगानी गर्नेछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा १२ करोड १० लाख ३३ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा रहेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ५ करोड १८ लाख ८८ हजार ९८९ रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ६१ पैसा थियो भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३५ पैसा थियो।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा २२ करोड ८३ लाख ४४ हजार रुपैयाँ रहने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ४६ पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी ९ रुपैयाँ २१ पैसा हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्थाअनुसार एक जना महिला सहित ७ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट मनोनित ४ जना र सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित २ जनाको प्रतिनिधित्व हुनेछ। त्यस्तै, १ जना स्वतन्त्र सञ्चालक रहने पनि व्यवस्था रहेको छ। सञ्चालक पद रिक्त हुन आएमा जुन वर्गबाट प्रतिनिधित्व गरेको सञ्चालकको पद रिक्त हुन आएको हो सोही वर्गबाट सो रिक्त सञ्चालक पदमा पदपूर्ति गरिनेछ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा होङ योङ दोन रहेका छन्। त्यस्तै, कम्पनीको प्रबन्ध सञ्चालकमा छोइ दोङ इल रहेका छ भने अन्य सञ्चालकमा महेश्वर कर्माचार्य र लि वा चुन रहेका छन्। कम्पनीका स्वतन्त्र सञ्चालक डा. नवराज पन्त रहेका छन्।
भावी योजना तथा रणनीति
हाल एसवाई प्यानल नेपाल आफ्नो व्यापार विस्तार गर्नको लागी अभैm थुप्रै नेपाली माझ उत्पादन सम्बन्धी ब्रान्ड जागरुकता बढाउने योजना छ। कम्पनीले भारतको बजारमा पनि आफ्नो उत्पादन पुर्याउने लक्ष्य लिएको छ। आफ्नो उत्पादनको गुणस्तर कायम राख्न नयाँ प्रविधि भित्राइने योजना कम्पनीको रहेको छ। कम्पनीले आफ्नो बजार विस्तार गरी आफ्नो उद्योगको पूर्ण क्षमताका कार्य गरी नेपालमा यस उद्योगको उत्पादनका मुल्य घटाउने योजना बनाएको छ। त्यस्तै, एस.वाई. प्यानल नेपालले आफ्नो व्यवसायको दायरा बढाउन उत्पादन क्षमता विस्तार, डिलर नेटवर्क विस्तार र सञ्चालन दक्षता बढाउने योजना बनाएको छ। बजारमा कम्पनीको उपस्थिति अझ बलियो बनाउन समयबद्ध रूपमा रणनीति लागू गरिने कम्पनीले बताएको छ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ६१ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०६ रुपैयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।