उच्च अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

Oct 28, 2025 03:10 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत आइतबार सामान्य अंक बढेको नेप्से, यस दिन भने उच्च अंक बढेको हो।

मंगलबार नेप्से परिसूचक ६२.२९ अंक बढेर २५७१.३४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत आइतबार २ अर्ब ६६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ४७ हजार ९४ पटकको कारोबारमा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको ९२ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य यस दिन सर्वाधिक ६.३६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको हो।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।